मनहरी–पुस ३ गते । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एबम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेकपा एमालेले दलाली र पुजीवादी चरित्रलाई प्रश्रय दिएको भन्दै कम्युनिष्ट आन्दोलनको पुनर्गठन नेकपा एकीकृत समाजवादीमार्फत गरिएको बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका ६ नं वडा अधिबेसनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘लाखौँ कार्यकर्ता र शुचचिन्तकहरुले हुर्काएको पार्टीमा ओलीले छानी छानी मुक्तानहरुलाई छाडेर खेतानहरु बोक्न थालेपछि हामीले बिद्रोह गर्नुप¥यो ।’

एमालेमा अबसरवाद हाबी हुँदै जाँदा दुई तिहाई नजिकको सरकार ढलेकोभन्दै उहाँले सगरमाथाको उचाईमा रहेको पार्टी एकैपटक नारायणीको तिरमा आइपुगेको उल्लेख गर्नुभयो । भन्नुभयो–‘सिंहदरबारबाट बार्दली पुगेका ओली अन्ततः बार्दली हुँदै नारायणीको बगर आइपुगेका छन्, अझै हेर्न बाँकी छ उनी कहाँ पुग्छन् ।’

मन्त्री खतिवडाले आफूले २०३९ सालमा माछा चुनाव चिन्ह लिएर चुनाव लडेको स्मरण गर्दै मन्त्री खतिवडाले चुनाव चिन्हले खास असर नपर्ने उल्लेख गर्नुभयो । आफ्नो पार्टीको चुनाव चिन्ह अब कलम रहेको भन्दै उहाँले सूर्य र रुखको महिमा गाएर मात्रै राजनीतिक सफलता प्राप्त नहुने बताउनुभयो । ‘पार्टी नीति, विचार, सिद्धान्तबाट चल्नुपर्छ, चुनाव चिन्हले होइन’, उहाँले भन्नुभयो ।

व्यक्तिवादी चिन्तन र स्वार्थसिद्धका अनेकौं तानावानाका कारण एमालेलाई खरानी बनाउँदै ओलीले समग्र कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस बनाएपछि बाध्य भएर कम्युनिष्टहरुको पुनर्जागरण गर्नुपरेको उहाँको प्रष्टोक्ति थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य राजाराम स्याङ्तानले एमालेले आफ्नो विचार, नीति सबै सकाएकाले असल मानिसहरु नेकपा एकीकृत समाजवादीमा लाग्नुपरेको बताउनुभयो ।

गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य मनिला विष्ट, चन्द्रकुमारी भुसाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष अरुण बर्तौलालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले गोपी लामाको अध्यक्षतामा वडा कमिटी समेत गठन गरेको छ भने युवा संघको वडा कमिटी पनि घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here