मनहरी–मंसीर २७ गते । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एबम् बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले केपी ओलीले राजतन्त्रको झल्को दिनेगरी पार्टी र सरकार सञ्चालन गर्न थालेपछि बिद्रोह गरिएको बताउनु भएको छ ।

उहाँले मनहरी गाउँपालिका ९ ज्यामिरेमा वडा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बाम एकताको नाटक गरेर आर्जित शक्ति प्रयोग गरी राजतन्त्र झै शासन गर्ने र आफूलाई राजाको रुपमा अघि सारिएपछि ओलीको दुर्दिन सुरु भएको बताउनुभयो ।

‘एमालेका कार्यक्रममा ओलीबाहेक अरु अग्रज कम्युनिष्ट नेताको फोटोहरु नराख्ने, ओली जिन्दावाद’ भनेर नारा उराल्ने कामहरुले राजतन्त्र सम्झाएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘म कार्यक्रममा आउँदै गर्दा मलाई माला लगाएर तपाईहरुले पनि राजेन्द्र पाण्डे जिन्दावादको नारा लगाउनु भयो, त्यो गलत भयो ।’ आफूले राम्रो काम गर्न सके सँधै जिन्दावाद नै भइरहने भन्दै उहाँले ओली प्रबृत्ति समाजवादी पार्टीमा देखाउन नहुने बताउनुभयो ।

गिरीबन्धु काण्ड लगायत थुप्रै घटनामा अर्बाै भ्रष्टाचार गरेर ओली नेतृत्वको सरकारले आम बामपन्थी समर्थक र मतदाताहरुलाई धोका दिएको बताउनुभयो । चुनाव चिन्हको प्रसंग कोट्याउँदै उहाँले आफूले पन्चायतकालमा हात्ती चुनाव चिन्हमा चुनाव लडेको र अत्यधिक मत ल्याएको बताउनुभयो । पछि अन्य चिन्हहरुमा पनि चुनावमा सहभागी भई बिजय भएको उदाहरण प्रस्तुत गर्दै उहाँले सूर्य चुनाव चिन्ह देखाएर केही समय मानिसहरुलाई भ्रममा पार्ने काम एमालेले गरिरहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले खानेपानी पहिलो प्राथमिकतामा राखी आफूले काम गरिरहेको र सिंचाइ, बाटोघाटो लगायतका पूर्वाधार विकासका लागि प्रदेश सरकारले तत्कालै लगानी गर्ने भएकाले त्यस्ता योजनाहरु ल्याउनका लागि जनसमुदायमा आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एबम् संविधानसभा सदस्य राजाराम स्याङ्तानले सामाजिक हिसाबले निस्वार्थ भएर काम गर्ने व्यक्तिहरु लोकप्रिय भएर चुनाव जित्ने उदाहरणहरु प्रशस्तै रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा लहर आउने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सचिव बिष्णु प्रसाद दाहाल, जिल्ला सचिवालय सदस्य एबम् मनहरी इन्चार्ज भूमिनन्द अर्याल, जिल्ला सचिवालय सदस्य तथा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, जिल्ला सचिवालय सदस्य कृष्ण चेपाङ, युवा संघ नेपाल मनहरी गाउँ कमिटी अध्यक्ष कृष्णचन्द्र पुरी, जिल्ला सदस्य अप्सरा ढुंगाना लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । जिल्ला सदस्य एबम् ९ नं वडाध्यक्ष साधुराम अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here