मनहरी–मंसीर २५ गते । नेकपा एकीकृत समाजवादी निकट युवाहरुको संगठन युवा संघ नेपाल मनहरी गाउँपालिका कमिटी गठन भएको छ । ८३ सदस्यीय कमिटीको नेतृत्व कृष्णचन्द्र पुरीले गर्नु भएको छ ।

कमिटीको उपाध्यक्षमा नवराज थिङ, आशिष बुढाथोकी, मनोज खत्री रहनु भएको छ भने सचिवमा उमेश अधिकारी चयन हुनु भएको छ । संघको कोषाध्यक्षमा पूर्णबहादुर घलानलाई निर्विरोध चयन गरिएको युवा संघ नेपाल मनहरी गाउँपालिका कमिटीका सचिव अधिकारीले जानकारी दिनुभयो ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एबम् बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक मुनु सिग्देलको प्रमुख आतिथ्यतामा मनहरी ९ ज्यामिरेस्थ्ति मोतीदेवी पार्कमा प्रथम सम्मेलन भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै सिग्देलले केपी ओलीको अराजकता, अहमता र घमण्डका कारण नेकपा एमाले बिलिन हुन लागेपछि कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा लैजान र गति प्रदान गर्नका लागि नेकपा एकीकृत समाजवादी गठन गरिएको बताउनुभयो ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनलाई गति दिइरहनु भएका माधवकुमार नेपालको नेतृत्वमा पुनः देशका कम्युनिष्ट धारलाई एकत्रित गराएर नयाँ बामशक्ति निर्माणमा आफूहरु लागेको उहाँको भनाई थियो । ‘कम्युनिष्ट पार्टीभित्र ज्यू हजुरी प्रथाको सुरुवात गरी केपी ओलीले बुर्जुश शैली अपनाउन थालेपछि इमान्दार एमालेजनले बिद्रोह गरेर नयाँ आन्दोलनमा समाहित भएका हौँ’, केन्द्रीय सदस्य सिग्देलले भन्नुभयो–‘एमालेमा भ्रम फिँजाएर अझै केही कमरेडहरुलाई अल्झाइरहेको पाइएको छ, भ्रम सकिनासाथ उहाँहरु समाजवादीमा आउनुहुन्छ ।’

उहाँले लोभीपापीहरु ओलीको भक्तिगान गाउँदै रमाउने सामान्य मतदाताहरुलाई सूर्य चिन्ह देखाएर एमालेले प्रभावित बनाइरहेको भन्दै एजेण्डा, व्यवहार, सिद्धान्त सबै हिसाबले एमाले सकिएकाले नयाँ कम्युनिष्ट आन्दोलनमा समाहित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य राजाराम स्याङ्तानले ओलीसामु लम्पसार पर्नुभन्दा बिद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्नुपरेको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य गोविन्दराम चेपाङ, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिव बिष्णु दाहाल, युवा संघ स्थायी कमिटी सदस्य कविन पन्त, सचिवालय सदस्य भूमिनन्द अर्याल, जिल्ला सदस्यहरु मनिला बिष्ट, बीरेन्द्र डिसी, साधुराम अधिकारी, नेकपा एकीकृत समाजवादी मनहरी गाउँपालिका अध्यक्ष नारायण श्रेष्ठ, अनेरास्ववियुका नेता गोविन्द बर्ताैला लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here