राक्सिराङ–मंसीर १६ गते ।राक्सिराङ गाउँपालिका ४ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योग खानी सञ्चालन गर्ने नाउँमा राक्सिराङ गाउँपालिकालाई अशान्त बनाएर रणभूमिमा परिणत गर्ने काम भइरहेको नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँ कमिटीले आरोप लगाएको छ ।

माओवादीका गाउँपालिका अध्यक्ष हस्तबहादुर मुक्तानले विज्ञप्ती प्रकाशन गरी भन्नु भएको छ–‘नियोजित रुपमा तोडफोड, उत्खनन् क्षेत्रमा एक्साभेटर जलाउने, वाद विवाद दिन प्रतिदिन हुँदै गइरहने, प्रभावितको मुद्दालाई प्रभावित पार्ने खेलले शान्त राक्सिराङ रणभूमि बन्ने खतरा बढ्दै गएको छ ।’ बिज्ञप्तीमा पीडितहरुको माग, आवश्यकतालाई ध्यानमा नदिइएको, यसअघि भएको १३ बुँदे बिस्तृति सम्झौताको कार्यान्वयन नभएको उल्लेख छ ।

खानी क्षेत्रका जनजाति, चेपाङ, दलित लगायतको मागको निरन्तर बेवास्ता उद्योग पक्षले गरिरहेको आरोप माओवादी केन्द्रले लगाएको छ । पीडितहरुको तर्फबाट सरोकार समिति निर्माण गरी यसअघि पटक पटक जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय राप्ती, राक्सिराङ गाउँपालिका लगायतमा ध्यानाकर्षण गरिए पनि पीडित र प्रभावितहरुको मागको सम्बोधन हुन नसकेको माओवादी केन्द्रको आरोप छ ।

त्यसैगरी २०७८ साल असार ९ गते उच्च अदालत हेटौँडाका न्यायाधीश शेषराज शिवाकोटी र मेरिना श्रेष्ठको इजलाशबाट प्राप्त आदेशको समेत कार्यान्वयन नगरी सिमेन्ट उद्योग अघि बढ्दा विवाद, झगडा बढेको माओवादीको निष्कर्ष रहेको विज्ञप्तीमा उल्लेख छ ।

विवादपछि उत्पन्न भएको अशान्त वातावरणमा बिभिन्न नाकाहरु भएर ठूलो संख्यामा दिनरात प्रहरी प्रहरी परिचालन गरी युद्धकालीन झल्को दिइएको र त्यसले स्थानीयबासिन्दामा युद्धकालीन त्रासदी सिर्जना भएको माओवादी केन्द्रले प्रकाशन गरेको बिज्ञप्तीमा उल्लेख छ ।

उल्लेखित खानी पीडितका मुद्दाहरुलाई ओझेलमा पारेर व्यक्तिगत स्वार्थका लागि चलेको दादागिरीको शिकार नबन्न माओवादी केन्द्रले रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई सचेत पारेको छ । गरिब, निमुखा र दुखीहरुको सहनशीलतालाई कमजोरी ठानेर एकापक्षीय पेलानमा पारी खानी सञ्चालन गर्न खोजे त्यसको प्रतिवाद हुने माओवादी अध्यक्ष मुक्तानले बताउनु भएको छ ।

सम्बन्धित सरोकारवाला पक्षबीचको वार्ता र सम्वाद एबम् यसअघि भएका सहमति र सम्झौताहरु तथा अदालतको आदेशको कार्यान्वयन गरेर मात्रै सहज वातावरण निर्माण गर्न माओवादीले सम्बद्ध सबै पक्षसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here