मनहरी–मंसीर ९ गते । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अपाङ्गता भएका व्यक्तिहरुले समेत अनुभूत हुनेगरी प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ ।

मनहरीमा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरको आयोजनामा भएको ‘अपाङ्गता भएका व्यक्तिहरु र सरोकारवाला निकायसँगको एक दिवसीय अन्तरक्रियामा बोल्दै उहाँले अपाङ्गता भएकाहरुै सुझावका आधारमा कार्यक्रम निर्माण र बजेट तर्जुमा गरिने बताउनु भएको हो ।
अहिलो पनि समाजमा अशक्तता भएका व्यक्तिहरुप्रति हेरिने नजर परिवर्तन हुन नसकेको भन्दै उहाँले आम समाजको सोचाइमा परिबर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले अपांगमैत्री भवनहरु निर्माण गर्नुपर्नेमा त्यसो हुन नसकेको पाइएकाले दुःख लागेको बताउनुभयो । उहाँले गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुको सहयोगका लागि सहयोगीको व्यवस्थापनका लागि बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले सार्बजनिक सबारी साधनहरुमा ह्वील चियरसहितका ब्यक्तिहरुलाई आवत जावतमा समस्या पर्ने गरेको, भौतिक पूर्वाधारहरु अपांगमैत्री नहुँदा पहुँच बृद्धि हुन नसकेको तथा अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अनुसार स्थानीय स्तरमै काम पाउनुपर्ने लगायतका बिषयहरु उठान गरिएको थियो । कार्यक्रममा फेज नेपालले मनहरी गाउँपालिका वडा नं ३ मा गत बर्ष गरेको सर्बेक्षणको नतिजा सार्बजनिक गरिएको थियो ।

३ नं वडामा १३९ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको आर्थिक, सामाजिक अबस्थाबारेको विवरण फेज नेपालका कार्यक्रम संयोजक प्रविना मकइले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी मनहरी गाउँपालिकाभरिका अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता लगायत अबस्था झल्कने भिडियो समेत प्रदर्शन गरिएको थियो ।

अपाङ्ग स्वावलम्वन जीवन पद्धति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बोको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका महासचिव तथा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सचिवालय सदस्य कृष्ण गौतम, परियोजना व्यवस्थापक सन्देश भट्टराई, फेज नेपाल परियोजना व्यवस्थापक सुनिता भट्टराई, युएसआइडीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here