मनहरी–कात्तिक ३० गते । कम्युनिष्ट पार्टीहरुमा झैँ गुट र उपगुटका बनाएर नेपाली काँग्रेसका विभिन्न तहका अधिबेसनहरु सम्पन्न हुँदैछन् । यस क्रममा मंसीर ३ गते प्रदेश निर्बाचन क्षेत्र स्तरीय समितिको अधिबेसन हुँदैछ ।

मकवानपुर क्षेत्र नं २ को ‘ख’ निर्बाचन क्षेत्रीय समितिको नेतृत्वका लागि शेरबहादुर देउबा पक्षधरको टिम र देउबा इतरको टिमबीच प्रतिस्पर्धा हुँदैछ । देउबा पक्षका उम्मेदवार जिताउनका लागि मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले जिल्लाभर नेतृत्व गर्नु भएको छ । देउबा इतरमा पूर्व सभापति माइकल रामचन्द्र अर्याल (माइकल), रघुरमण न्यौपाने, नेताहरु जयराम लामिछाने, प्रभात दाहाल लगायतका रहनु भएको छ ।

मकवानपुर निर्वाचन क्षेत्र २ को ‘ख’ स्तरीय क्षेत्रीय समितिको सभापति पदका लागि देउबा पक्षबाट मनहरीका रन्जन कालाखेती र गैर देउबा पक्षत्रबाट राक्सिराङ गाउँपालिका ८ का वडाध्यक्ष (जनप्रतिनिधि) समेत रहनु भएका रामकृष्ण प्रजाबीच प्रतिस्पर्धा हुँदैछ । कालाखेती महासमिति सदस्य हुनुहुन्छ भने प्रजा जिल्ला सदस्य हुनुहुन्छ । यसअघि गैर देउबा पक्षबाट मनहरीका युवा नेता नुरोजकुमार पौडेल पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

तर टिम बलियो बनाएर देउबापक्षलाई कमजोर बनाउने रणनीतिका साथ राक्सिराङ प्रजालाई देउबा इतर पक्षले आधिकारिक उम्मेदवार बनाएको काँग्रेस स्रोतले बताएको छ । कालाखेती जिल्ला सभापति तथा बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँका खास मान्छे मानिएका छन् भने प्रजा शसस्त्र द्वन्द्वकालीन अबस्थादेखि नै भूगोलमा काँग्रेसको राजनीति जोगाएर बस्ने नेताका रुपमा परिचित हुनुहुन्छ ।

कूल ५४४ जना प्रतिनिधिले मतदान गरी प्रदेश निर्वाचन क्षेत्रीय समितिमा सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सहसचिव २ जना गरी ७ जना पदाधिकारीको चयन गरिने नेपाली काँग्रेसले जनाएको छ ।

त्यसैगरी १७ जना क्षेत्रीय सदस्यहरु पनि चुनिनेछन् । १७ जनाले बागमती प्रदेश समितिको निर्वाचनमा समेत मतदान अधिकार प्राप्त गर्ने विधानमा व्यवस्था छ । काँग्रेस क्षेत्रीय कमिटीका अनुसार कैलाश गाउँपालिकाबाट १८७ जना, राक्सिराङबाट १५४ जना, मनहरीबाट १६५ जना, हेटौँडा १९ नं वडा समितिबाट १९ जना र ३ नं वडा समितिबाट १९ जनाले क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरुको छनौटका लागि मतदान गर्नेछन् ।

अहिले जिल्लाभर देउवा पक्ष र गैरदेउबा पक्षबीच मतदाता भेटघाट र सामूहिक छलफल तथा घरदैलो धमाधम भइरहेको छ । मकवानपुरका ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा दुबै पक्षको सक्रियता बढेको छ ।

यसैबीच नेपाली काँग्रेस निकट स्रोतका अनुसार मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा सभापतिका दाबेदार सुशान्त श्रेष्ठ देखिएका छन् । नेपाली चलचित्रका खलपात्र उनलाई सर्वसम्मत सभापति बनाउने गृहकार्य जारी छ । यसअघि देउवा इतर मानिएका उनी देउवा र देउवाइतरको साझा सभापति हुने अवस्था रहेको बताइन्छ ।

मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ देउवा पक्षधरका राजेश बानियाँले सभापतिमा दाबी गरेका छन् । उनी हेटौँडा उपमहानगरपालिका ५ का वडाध्यक्ष छन् । उनीसँग देउवाइतर पक्षबाट उम्मेदवार बन्नेहरुको टुङ्गो लाग्न सकेको छैन ।

त्यसैगरी क्षेत्र नम्बर २ को ‘क’ मा थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले सभापति पदमा दाबी गरेका छन् । उनी देउवा पक्षधरबाट सभापति पदमा निर्वाचनमा होमिएका हुन् । उनीसँग देउवाइतरका सुमन श्रेष्ठ, ओम बस्नेत, सुजन गोपालीलगायतले प्रतिस्पर्धा गर्दैछन् । यद्यपि, देउवाइतर पक्षबाट श्रेष्ठ, बस्नेत र गोपालीमध्येबाट एक जना मात्रै उम्मेदवार हुने गरी गृहकार्य भइरहेको स्रोतको दाबी छ ।

काँग्रेसको मंसीर ६ गते प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रीय समितिको पनि अधिबेसन हुँदैछ । एकाएक शक्तिशाली बनेर पछिल्ला एकदशक यता उदाउनु भएका मकवानपुरका नेता इन्द्रबहादुर बानियाँविरुद्ध जिल्लामा चर्काे घेराबन्दी छ । यद्यपि, बानियाँ पक्षले जिल्लामा छानिएका १ हजार ९ सय ५० भन्दा बढी बुथ प्रतिनिधिमध्ये आफ्नो पक्षमा ७० प्रतिशत रहेको दाबी गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here