मनहरी–कात्तिक १९ गते । नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया भएको छ । शल्यक्रिया गरी फोक्सोमा कृत्रिम पाइप राखिएको र फियो निकालिएको सञ्चारकर्मी तथा मोडल समेत रहनु भएका उहाँका छोरा पवनकुमार चेपाङले जानकारी दिनुभयो ।

गएराति १२ः३० बजे बकैया ३ स्थित अजिंगरे भन्ने ठाउँबाट गायक रविनकुमार चेपाङसहित चढेको सांस्कृतिक टोली चढेको बस तीन बल्ड्याङ पल्टिएर खेतमा पुगेको थियो । सो क्रममा गायक चेपाङसहित कलाकारहरु घाइते हुनु भएको थियो । घाइते भएका मध्ये चेपाङको अबस्था जटिल बनेको हो ।

अस्पतालमा रहनु भएका उहाँका छोरा पवनकुमारका अनुसार फियो फुटेर पेटमा रगत जमेपछि हतार हतार चिकित्सकहरुले शल्यक्रिया गरी जमेको रगत निकालेका थिए । क्षत बिक्षत भएको फियो समेत निकालिएको छ । तर, शल्यक्रिया सफल भएको ६ घण्टा बढी भइसक्दा समेत गायक चेपाङको होस खुलेको छैन । चिकित्सकले उहाँको रक्तचाप कमजोर देखिएको, निमोनिया देखिएको र सुगरको मात्रा समेत बढी देखिएको जानकारी दिएको छ ।

बकैया गाउँपालिका ३ हात्तीसुँढेमा देउसी भैलोसहितको कार्यक्रम सकेर बागमती प्रदेश ०३–००१ ख १३०९ नं को बस हेटौँडातर्फ फर्कने क्रममा पल्टिएर खेतमा पुगेको हो । हेटौँडाकी साइँली हासिदेऊ मुसुक्क, लेचुरिबन साइँली हो मनहरी बजाराङ, मारु सरर, जिल्ला मकवानपुर लगायत जनबोलीका भाकाका गीत गाएका चेपाङ रेडियो नेपालबाट स्वर परिक्षा पास गर्ने पहिलो चेपाङ गायक हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here