मनहरी–कात्तिक २ गते । नेकपा एमालेमा चरम व्यक्तिवादी र अबसरवादी चरित्र हाबी भएपछि बाध्य भएर पार्टीलाई पुनर्गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजाराम स्याङ्तानले बताउनुभएको छ ।

संविधान सभाका सदस्य समेत रहनु भएका स्याङ्तानले विधि, पद्धतिका कुरा बिर्सेर व्यक्तिको पछि लाग्ने र व्यक्तिकै पछि लागेकै कारण अबसर पाउने स्थिति बन्न थालेपछि कम्युनिष्ट आन्दोलनलनलाई पुनर्गठन गर्नु जरुरी भएकाले नेकपा एकीकृत समाजवादी नाम दिएर अभियान थालिएको बताउनुभयो ।

उहाँले विचार, कार्यक्रम र भावना मिल्ने सबै कम्युनिष्ट पार्टीहरु मिलेर गठबन्धन निर्माण हुने र उक्त गठबन्धनले अवसरवादी चरित्रलाई परास्त गर्दै नयाँ कम्युनिष्ट शक्ति स्थापना हुने पनि बताउनुभयो । ‘बिगतमा हामी एमाले थियौँ, सूर्य चुनाव चिन्हलाई मत पनि हाल्यौँ’, उहाँले भन्नुभयो–‘विचार, विधि र पद्धतिलाई मानेर हिँड्नेहरुले नाम र चुनाव चिन्हमा अल्झिनु हुँदैन ।’


राक्सिराङ गाउँपालिकाका नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुसँग मनहरीमा मंगलबार भेटघाट गर्दै उहाँले अब निरन्तर रुपमा पार्टी संगठन निर्माणको काममा अघि बढ्नुपर्ने बताउनुभयो । यसैबीच राक्सिराङ गाउँपालिकामा तिहारअघि नै साबिक राक्सिराङ र काँकडा गाविसतर्फ वडा कमिटीहरु निर्माण गर्नेगरी तयारी थालिएको नेकपा एकीकृत समाजवादीका राक्सिराङ इन्चार्ज कृष्णबहादुर चेपाङले बताउनुभयो ।

भेटघाट कार्यक्रममा राक्सिराङका कार्यकर्ताले केन्द्रीय सदस्य स्याङ्तानलाई खादा लाएर सम्मान तथा बधाई दिएका थिए । कार्यक्रममा संविधानसभाका सदस्य एबम् जिल्ला सचिवालय सदस्य गोविन्दराम चेपाङसहितका नेताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here