मनहरी–असोज १८ गते । पूर्वपश्चिम राजमार्गमा ठूला ठूला खाल्डा भएर दुर्घटनाको जोखिम भइरहँदा समेत डिभिजन सडक कार्यालयले मर्मतसम्भारमा ध्यान नदिएपछि इलाका प्रहरी कार्यालय मनहरीले ग्राभेल हालेर सडकका खाल्डा टालेको छ ।

इलाका प्रहरी कार्यालय अगाडिको राजमार्ग मर्मत नहुँदा ठूला ठूला खाडल भएर सबारी चल्न बाध्य थिए । इलाका प्रहरी कार्यालयमा जफत गरिएका ग्राभेल हालेर राजमार्गका खाल्डाखुल्डी टालिएको प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय व्यवसायीका जेसीबी र लोडर प्रयोग गरी खाल्डाखुल्डी पुरिएको हो । प्रहरी कार्यालय नजिकै दुर्घटनाको जोखिम हुनेगरी भएका खाल्डाखुल्डी केही हदसम्म भएपनि ग्राभेल हालेर जोखिम कम गर्ने प्रयत्न गरिएको उहाँले बताउनुभयो । सडक मर्मत कार्यमा समाजसेवी नारायण उप्रेती, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण सुवेदी, सञ्चारकर्मी शिवकुमार काशी लगायत सहभागी हुनुहुन्थ्यो ।

पूर्वपश्चिम राजमार्गको मनहरीदेखि नेवारपानी खण्डमा ठूला ठूला खाल्डाहरु बनेर राजमार्ग क्षतबिक्षत छ । तर, सडक कार्यालयले मर्मतसम्भारको गति बढाएको छैन । हरेक बर्षायाममा सडकमा खाल्डाखुल्डीहरु हुनेगरेको छ ।

बागमती प्रदेशको राजधानी रहेको मकवानपुरको सडक खण्डको अबस्था देखेर सवारी चालकहरु ब्यंग्य गर्दै हिँड्ने गर्छन् । यही बाटो भएर बागमती प्रदेशका तत्कालीन मन्त्री दाबा दोर्जे लामा र हालका मन्त्री बिजय सुवेदी चितवनस्थित निवास आउने जाने गर्नुहुन्छ । तर, मर्मत सम्भारका लागि उहाँहरुको पहल नदेखिएको सर्बसाधारणहरु गुनासो गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here