मनहरी–असोज १६ गते । पश्चिम मकवानपुरका अग्रज एबम् शिक्षासेवी गौरीशंकर लामालाई सम्मान गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मनहरी गाउँपालिका समितिले शिक्षा क्षेत्रमा जीवन नै समर्पण गर्नु भएका पश्चिम मकवानपुरको मनहरी ८ स्थित ऐतिहाँसिक महेन्द्रकिरण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा पूर्व अध्यक्ष लामालाई दोसल्ला, ढाकाटोपी र सम्मान पत्र प्रदान गरेर सम्मान गरेको हो ।

प्याव्सन मनहरीको प्रथम अधिबेसनको अबसर पारेर लामालाई सम्मान गरिएको हो । लामा २०२८ सालदेखि निरन्तर महेन्द्रकिरण माध्यमिक विद्यालयमा सेवारत हुनुहुन्थ्यो । महेन्द्रकिरण प्राथमिक विद्यालयदेखि नै प्रधानाध्यापक हुनु भएका लामा निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालय तहको स्तरोन्नतिका अभियन्ता हुनुहुन्छ ।

हाल कक्षा १२ सम्मको अध्ययन हुने महेन्द्रकिरण माध्यमिक विद्यालयमा प्रधानाध्यापकबाट अवकाश भइसकेपछि पनि २ कार्यकाल व्यवस्थापन समितिको अध्यक्ष हुनु भएका लामा यस क्षेत्रका शैक्षिक नक्षत्रका रुपमा रहनु भएको छ । सम्मान कार्यक्रममा बोल्दै प्याब्सन मनहरीका सदस्य एबम् सेवा निवृत्त शिक्षक मातृका ढुंगानाले भन्नुभयो–‘गौरीशंकर सर हामीहरुका पनि गुरु हुनुहुन्छ, हामीलाई त हाम्रा विद्यार्थीले गुरु मान्छन् भने उहाँ गुरुहरुका पनि गुरु महागुरु हुनुहुन्छ ।’

तत्कालीन पन्चायतकालीन ब्यवस्थामा शिक्षाको ज्योति छर्दै पश्चिम मकवानपुरको राक्सिराङ, सरिखेत, कालिकाटार, खैराङ लगायत गाउँ पन्चायत र गाउँ विकास समितिहरुका विद्यार्थीलाई अभिभावकत्व प्रदान गरी लामाले शैक्षिक अभियान सफल पार्नु भएको थियो । उहाँबाट दिक्षित विद्यार्थीहरु समेत सरकारी सेवाबाट अबकाश प्राप्त गरिसकेको अबस्था छ भने कोही संविधानसभा सदस्य, कोही गाउँपालिका अध्यक्ष तथा अन्य जनप्रतिनिधिको रुपमा रहनु भएको छ ।

सम्मान कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व लामाले आफूले त्यति ठूलो कुनै पनि काम नगरेको भन्दै निरन्तर रुपमा काममा लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मलाई सम्मान गरेर यहाँहरुले यति ठूलो भारी बोकाइदिनुभयो, यसको सार्थकता मैले कसरी गर्न सकूँला ?’
कार्यक्रममा प्रमुख अतिथि मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले लामाको व्यक्तित्व, शैक्षिक र राजनीतिक रुपान्तरणमा गरिएको योगदान नयाँ पुस्ताले बिर्सन नहुने बताउनु भएको थियो ।

प्याब्सन अध्यक्ष शिवकुमार रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य मदनकुमार दाहाल, जिल्ला कार्यबाहक अध्यक्ष बिनोद सुवेदी, गाउँ शिक्षा समिति सदस्य महेश रिजाल, नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैला, शिक्षासेवी मातृका ढुंगाना, प्याब्सन मनहरीका ओम आले मगर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

यसैबीच प्याब्सन मनहरीको प्रथम अधिबेसनले पुनः शिवकुमार रिजाललाई नै अध्यक्षमा चुनेको छ । त्यसैगरी सचिवमा सबनम थापा, सदस्यहरुमा श्याम न्यौपाने, ओम आले मगर, काजीराम मुक्तान, यदुनाथ श्रेष्ठ, मातृका ढुंगाना लगायत रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here