मनहरी–भदौ २१ गते । पछिल्लो समय धर्म परिवर्तनका कारणले चेपाङ समुदायको महान सास्कृतिक पर्व न्वागी (छोनाम) ओझेलमा पर्दै गएको छ ।
धर्म परिवर्तन गरी अन्य धर्म मान्न थालेपछि चेपाङ समुदायको मौलिक न्वागी पर्व ओझेलमा परेको मकवानपुर जिल्ला चेपाङ संघका जिल्ला सचिव प्रताप चेपाङ बताउनुहुन्छ । धर्म परिवर्तनसंगै जीवनशैली फेरिए पनि आफ्नो संस्कार र संस्कृति भने चेपाङ समुदायले भुल्दै गएको उहाँले बताउनुभयो ।

चेपाङ समुदाय आफँै पनि धर्म, संस्कृति, रितिरिवाज छोड्दै गइरहेको बेला स्थानिय सरकारले पनि परम्परा र रीतिरिवाजको जगेर्नामा खासै मिहेनत नगरेको आरोप चेपाङ अगुवाहरुको छ ।

देशमा संघीयता कार्यान्वयनमा आएसँगै संघीयताको मर्म विपरित स्थातिय स्तरमा जाति, समुदाय अनुसार सार्वजनिक विदा दिई चाडबाड मनाउन प्राथमिकता दिने गरिन्छ । सोही क्रममा राक्सिराङ र कैलाश गाउँपालिकाले सार्बजनिक विदा दिएर चेपाङ समुदायप्रति शुभकामना व्यक्त गरेको छ ।

तर, पश्चिम मकवानपुरको प्रमुख व्यवसायिक र अन्तर जिल्ला सीमा जोड्ने मनहरी गाउँपालिकाले भने न्वागी पर्वमा बिदा दिएन । बिदाका सम्बन्धमा मनहरी लाइभ डटकमसँग प्रतिक्रिया दिँदै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले प्रमुख प्रशासकिय अधिकृत कार्य व्यस्तताका कारण कार्यालय बाहिर रहेको र कार्यपालिका बैठक समेत बस्न नसकेकाले बिदा घोषणा गर्न नसकिएको बताउनुभयो ।

न्वागी पर्व हरेक वर्षको भदौ २२ गते मनाउने गरिन्छ । मकवानपुर, गोर्खा, धादिङ, चितवन, तनहुँ र लमजुङ जिल्लामा मुख्यतया चेपाङ जातिको बसोबास छ । न्वागीका दिन घिरौँला, गाभा, घैया, धान लगायतका खानेकुराहरु राखेर विधिपूर्वक पुजा गरी पितृलाई चढाएपछि मात्रै खाने गर्दछन् ।

भदौ २१ गते बेलुका न्वागी फलाक्न सुरु गरी २२ गते बिहान पितृलाई चढाएपछि हरेक खानेकुराहरु खान मिल्न चेपाङ समुदायको अगुवा पान्दे (झाँक्री) मानबहादुर चेपाङले बताउनुभयो । यो दिन आफ्ना, आफन्त, छरछिमेकी भेटघाट गरी मौलिक लयका गीत संगीत सुन्ने, गाउने र नाच्ने गरिन्छ भने मौलिक परिकारहरु समेत पकाएर खाने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here