
मनहरी–भदौ ११ गते । पर्सा राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र अन्तर्गत राप्ती खोला किनारमा दिनरात ढुंगा र बालुवाको चोरी निकासी भइरहेको छ । राप्ती किनारबाट नियमित ढुंगा, बालुवा, ग्रेवल चोरी गरेर उत्खनन् भइरहँदा समेत नियन्त्रण गर्न खटिएका निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीहरुको सक्रियता देखिँदैन ।
अधिकाँश समय रातमा बालुवा र ढुंगाको चोरी निकासी गर्नका लागि ट्रयाक्टरहरु मध्यवर्ती क्षेत्रको राप्तीखोला किनारमा प्रवेश गर्ने गरेका छन् । कतिपय अबस्थामा त राप्ती खोला तरेर निकुन्जको संवेदनशील क्षेत्रमै पुगेर पनि ट्रयाक्टरले ढुंगा र बालुवा ल्याउने गरेको पाइएको छ ।
ट्रयाक्टरको बत्ती अफ गरेर गरिने चोरी निकासी कार्यमा निकुन्जकै कर्मचारीको मिलेमतो हुने गरेको स्थानीयले आरोप लगाएका छन् ।
पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्जका कर्मचारीहरुसँगको ‘सेटिङ’ मा दैनिक सयौँ ट्रिप ढुंगा, ग्रेवल र बालुवा उत्खनन् भइरहेको स्रोतले बताएको छ । ट्रयाक्टरवालासँग मासिक रुपियाँ असुली गर्ने र कर्मचारीलाई ‘सेटिङ’ हान्ने नाउँमा दलालीहरुले समेत कमाउ धन्दा गरिरहेको बताइएको छ ।
उत्खनन् र संकलन गरेर ल्याइएका बालुवा तथा ढुंगाहरु व्यवसायीले आफू पायक हुने स्थानमा डम्पिङ गर्ने र बिक्री गरेर रातारात चितवन पठाउने गरेको पाइएको छ । त्यसरी डम्पिङ, संकलन र बिक्रीका लागि अधिकाँश व्यवसायीले व्यवसाय इजाजत लिएको पाइँदैन भने कर कार्यालयबाट प्रमाण पत्र समेत लिएको पाइँदैन ।
सकेको गरिरहेका छौँः कर्मचारीबाट आजित छुः वार्डेन
भदौ ९ गते दिउँसो मनहरी ९ स्थित राप्ती बगर किनारमा ट्रयाक्टरको जात्रा थियो । खोला पारि नै पुगेर बालुवा र ढुंगा ल्याउने ट्रयाक्टरको भीड देखिएपछि पर्सा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहलाई मनहरी लाइभ डटकमले फोनमा सोध्यो–‘उत्खनन्का लागि ट्रयाक्टरहरु खुला गरिएका रहेछन्, कहिलेदेखि हो ?’ तत्कालै साहले जबाफ दिनुभयो–‘खुला भएको छैन, चोरीचकारी भएको होला ।’
मनहरी लाइभ–‘यत्रो ट्रयाक्टरको जात्रा लाग्दा पनि निकुन्जले किन देखेन ?’
साह–‘हामीहरुसँग जनशक्ति कम छन्, भएका जनशक्तिले सकेको गरिरहेको छ ।’
मनहरी लाइभ–‘यही फोन नै उजुरी भयो, अब कति समयमा यी ट्रयाक्टरहरु पक्रेर कारबाही गर्नुहुन्छ ?’
साह–‘तपाईको फोन राख्ने बित्तिकै समात्न कर्मचारी पठाउँछु ।’
मनहरी लाइभ–‘तपाईको कर्मचारीले नै मिलेका छन्, ट्रयाक्टरहरु भगाउँछन् ।’
साह–‘त्यस्तो आरोप नलगाउनुस्, हाम्रो पोष्ट छेउमा ट्रयाक्टरवालाका सुराकीहरु छन्, उनीहरुले नै हामी गस्तीमा निस्कने बित्तिकै भगाउँछन् ।’
मनहरी लाइभ–‘सुरक्षाकर्मीको समेत सुराकी गर्नेलाई कारबाही गर्न सक्नुहुन्न ?’
साह–‘कति जनालाई कारबाही गर्ने ? कसले फोन निक गरिरहेको छ हामीलाई थाहा हुन्न नि ?’
मनहरी लाइभ–‘फोन ट्रयाकिङ गर्न मिल्छ नि, तपाईको कर्मचारीहरुको मात्रै फोन ट्रयाकिङ गर्नु भए पनि हुन्छ ।’
साह–‘ठीक छ यो मेरो मात्रै सबाल होइन, तपाई हामी समुदाय पनि तात्नुपर्छ ।’
मनहरी लाइभ–‘समुदाय तात्नका लागि तपाईले कानूनी लगायत कुराहरुबारे ब्याख्या र सहजीकरण गर्न सक्नुप¥यो नि ।’
साह–‘गरिरहेकै छौँ । तपाईले बढी नेगेटिभ कुरा गर्नुभयो ।’
मनहरी लाइभ–‘के गर्नु भयो ? कतिवटा ट्रयाक्टर समात्नुभयो, अतिक्रमण कति रोक्नु भयो ?’
साह–‘९ वटा ट्रयाक्टरलाई कारबाही ग¥यौँ, अतिक्रमण रोक्न राजनीतिक सहमति चाहिन्छ ।’
मनहरी लाइभ–‘आज ट्रयाक्टर पक्रनु हुन्छ उसो भए ?’
साह–‘भागिहाल्छन्, सकेसम्म पक्राउ गर्छु ।’
मनहरी लाइभ–‘प्रगतिबारे जानकारी दिनुहोला धन्यवाद ।’
साँझपख वार्डेन साहको म्यासेज आयो–‘बडो मुश्किलले एउटा ट्रयाक्टर पक्राउ प¥यो ।’ बिहिबार बिहान फेरि म्यासेज आयो–‘बँदेलधापबाट राति ३ बजे ४ वटा ट्रयाक्टर समातियो ।’ उहाँले यो परिस्थितिलाई निकुन्ज एक्लैले सामना गर्न नसकिरहेको र कर्मचारीहरुबाट समेत सोचेजसरी सहयोग नभइरहेको भन्दै सामूहिक प्रयास हुनुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो–‘यो स्थिति कसरी बदल्ने हो ? प्रश्न गम्भीर हो यो ।’