मनहरी–भदौ ३ गते । मनहरी गाउँपालिकाले संघीय सरकारबाट प्राप्त पौष्टिक पिठोको म्याद गुज्रेर खानै नमिल्ने हुँदा समेत बितरण नगरेपछि सरकारी टोलीले भण्डारण गरिएको कोठा सिल गरेको छ ।

सीमान्तकृत चेपाङ समुदायका ६ महिनादेखि २३ महिनाभित्रका बालबालिकाको पोषण अबस्था सुधारका लागि संघीय सरकारले पौष्टिक पिठो २०७७ असोज ६ गते गाउँपालिकामा पठाएको थियो । अँग्रेजी जुन महिनाको अन्तिम अर्थात असाढ १६ गतेसम्म खान मिल्ने म्याद भएको उक्त पिठो जेठ २८ गतेसम्म केही बालबालिकालाई बितरण समेत गरिएको पाइएको छ ।

तर, ११ क्विन्टल ७० किलोग्राम पिठो स्थानीय एक ब्यक्तिका घरमा कुहिएको पाइएपछि वाइसीएलले उक्त घटनाको भण्डाफोर गर्दै दोषीमाथि कारबाहीको माग गरेपछि अबस्था जटिल बनेको हो ।

भदौ ३ गते बिहिबार जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हीत संरचक्षण मञ्च र पत्रकारले गरेको संयुक्त अनुगमनका क्रममा मनहरी गाउँपालिकाको स्वास्थ्य शाखाले उचित जबाफ दिन नसकेपछि भण्डारण गरिएको कोठामा सिल गरिएको मञ्चका बागमती प्रदेश अध्यक्ष बासुप्रसाद खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय कृष्णप्रसाद भट्टको घरमा भाडामा लुकाउने हिसाबले पिठो राखिएको पाइएको हो । चैत महिनासम्मको घरभाडा पाएको भट्टले जानकारी दिए पनि स्वास्थ्य संयोजक टिकाराम अधिकारीले असारसम्मकै भुक्तानी भएको बताएका थिए । घरभाडामा लिने र दिनेबीचकै कुरा एकापसमा बाझिएको थियो । साउनदेखिको भाडा कसले तिर्ने भन्नेबारेमा स्वास्थ्य शाखाले घरभाडा सम्झौता समेत देखाउन नसकेको बताइएको छ ।

अनुगमनमा टोलीमा जिल्ला प्रशासन कार्यालयका सहदेव आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सोमकान्त रिजाल, उपभोक्ता हीत संरक्षण मञ्चका बागमती प्रदेश अध्यक्ष बासुप्रसाद खतिवडा, मनहरी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र सापकोटा, पत्रकार देवराज पन्त, वाइसीएल, तरुण दल तथा युवा संघका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

सिल गरिएको पिठो कुहिनुमा कसको के कमजोरी भयो भन्नेबारे छानबीन गरिने सरकारी टोलीले जनाएको छ । स्वास्थ्य शाखाले गाउँपालिकाका सबै बालबालिकालाई पर्याप्त रुपमा पिठो पुगेकाले बढी भएकाले स्टक राखिएको दाबी गर्दै आएको छ । तर, ९ नं वडामा वाइसीएल, युवा संघ र तरुण दलले बुधबार दिउँसो थप १ बोरा बेबारिस पिठो बरामद गरी सार्बजनिक गरेको छ ।

जनताका छोराछोरीका लागि कोरोना कालमा आएको पिठो कुहाएर फाल्ने र जनताले अनिकालमा भोकै बस्नुपर्ने अबस्था आउने गरी काम गर्ने कर्मचारी वा जनप्रतिनिधलाई कारबाही हुनुपर्ने माग वाइसीएल, युवा संघ र तरुण दलले राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here