मनहरी-भदौ २ गते । चालू आर्थिक बर्षमा नयाँ पहिचान भएका क्षयरोगीलाई पोषिलो खानेकुराको व्यवस्थापन गरिने भएको छ ।
मकवानपुरको बागमती र मनहरी गाउँपालिकाका गरिब समुदायका ५० जना क्षयरोगीले यो सुविधा ६ महिनासम्म पाउनेछन् । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्था बिराट मेडिकल ट्रष्टले मनहरी र बागमती गाउँपालिकासँग समन्वय गरी क्षयरोगीका लागि सहयोग गर्न लागेको हो ।

पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको कार्यक्रम अन्तर्गत दुई वटा गाउँपालिकाका २५/२५ जना क्षयरोगीले २० किलोग्राम चामल, २ केजी दाल, १ लिटर तेल, १.५ किलोग्राम बदाम, १ किलोग्राम मस्यौरा र १ क्रेट अण्डा दिन थालिएको परियोजना व्यवस्थापक भोला राईले बताउनुभयो ।


क्षयरोग भएका बिरामीको घरमा ५ बर्ष मुनिका बालबालिका भएमा उनीहरुका लागि सर्बोत्तम पिठोको समेत व्यवस्था गरिने ट्रष्टले जनाएको छ । क्षयरोग भएका गरिब तथा विपन्न वर्गका बिरामीहरुका लागि पौष्टिक आहारको व्यवस्थापनका लागि सहयोग गरिएको राईले बताउनुभयो ।

मनहरी गाउँपालिकास्थित मनहरी अस्पतालमा आयोजित पौष्टिक खानेकुरा बितरण कार्यक्रममा ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, गाँउपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारी, मनहरी अस्पतालका डाक्टर अञ्जन थापा लगायत सहभागी थिए । सो अबसरमा बिराट मेडिकल ट्रष्टले मनहरी अस्पतालका लागि ४० थान पिपिई सेट, ९ प्याकेट सर्जिकल मास्क, १२ पाकेट सर्जिकल पन्जा, के ९५ मास्क ८० थान, फेस सिल्ड ४५ थान र ७१ बोत्तल स्यानिटाइजर हस्तान्तरण गरेको छ ।

मनहरी अस्पतालका अनुसार मनहरी गाउँपालिकामा गत आर्थिक बर्ष २०७७/०७८ मा ८५ जनामा क्षयरोग देखिएको थियो । त्यसअघि आर्थिक बर्ष २०७६/०७७ मा ११५ जनामा क्षयरोग देखिएको क्षयरोग फोकल पर्सन रमिता राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here