मनहरी-भदौ २ गते । गाउँपालिकाले एक व्यक्तिको घरमा ११ क्विन्टल ७० किलोग्राम पौष्टिक पिठो कुहाएर राखेको थाहा पाएपछि मनहरीका जनप्रतिनिधिहरुमा हल्लीखल्ली मच्चिएको छ ।
माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले पिठो कुहिएको कुराको पत्रकार सम्मेलन गरी पर्दाफास भएपछि साउन ३२ गते आयोजित कार्यपालिका बैठकमा बैठकमा समेत यसले प्रवेश पाएको छ । बैठकको सुरुमै पिठोबारे छलफल भएको थियो ।
तर, अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्टसहित सबै कार्यपालिका सदस्यहरुले पौष्टिक पिठोबारे जानकारी नभएको बताएपछि कर्मचारीमाथि आरोप लागेको छ ।
पिठो आएको, बितरण गरेको, कुहिएको वा बाँकी रहेकोबारे अध्यक्षसहित कोही कसैलाई पनि थाहा नभएपछि स्वास्थ्य संयोजक टिकाराम अधिकारीलाई कार्यपालिका बैठकले तीन दिनभित्र सत्य तथ्य विवरण लिखित रुपमा कार्यपालिकामा पेस गर्न निर्देशन दिने निर्णय गरेको छ ।
स्रोतका अनुसार संघीय सरकारबाट सीमान्तकृत चेपाङ समुदायका ६ महिनादेखि २३ महिनाभित्रका बालबालिकालाई बितरण गर्नका लागि प्राप्त उक्त पिठो हरेक वडामा स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीमार्फत पठाइएको थियो । तर, वडाध्यक्ष वा जनप्रतिनिधिहरुलाई थाहै नदिई कुन तथ्यांक वा मागका आधारमा पिठो बाँडियो भन्ने कुराको यकीन छैन ।
यसअघि पनि स्वास्थ्य शाखाले आयोजना गर्ने गोष्ठी र भत्तावाला सचेतनामुलक कार्यक्रमहरु जनप्रतिनिधिहरुलाई नै जानकारी नदिई औपचारिकताका लागि आयोजना गर्ने र फोटो हाजिरी उठाउने काम हुँदै आएको आरोप छ । त्यसो त अधिकाँश स्वास्थ्य कर्मचारीहरु स्वास्थ्य संयोजक अधिकारी र स्वास्थ्य शाखासँग दुई बर्षदेखि चित्त दुखाएर काम गरिरहेको स्रोतले बताएको छ ।