मानेडाँडा–रमौली सडक निर्माण उपभोक्ता समिति अध्यक्ष इन्द्रकुमार भोलन ।

मनहरी–साउन १२ गते । तत्कालीन सरकारले मकवानपुरको मनहरी गाउँपालिका ७ मा स्थानान्तरण गरी बसाएको रमौली बस्तीबाट पूर्वपश्चिम राजमार्ग जोड्ने पक्की सडक निर्माण सम्पन्न भएको छ ।

मनहरी गाउँपालिकाको वडा नं ७ मानेडाँडाबाट रमौली गाउँ जोड्ने खण्डमा पक्की सडक निर्माण सम्पन्न भएपछि किसान, विद्यार्थीसहित स्थानीय स्थानीयबासिन्दा लाभान्वित भएका हुन् । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत तत्कालीन सभासद राजाराम स्याङ्तानको सिफारिसमा निर्माण सुरु भएको मानेडाँडा–रमौली सडक खण्ड यतिखेर पूर्ण रुपमा स्ल्याब ढलान भइसकेको छ भने छोटो दूरीको पुल समेत निर्माण भइसकेको छ ।

मानेडाँडा–रमौली सडक ।

गत आर्थिक बर्ष २०७७/०७८ मा मनहरी गाउँपालिकाले बिनियोजन गरेको १ करोड ९९ लाख रुपियाँ लगानी गरी ठेकेदारले २७५ मिटर र ठेक्कापछि बाँकी रहेको रकम प्रयोग गरी गाउँपालिकाको ७२ लाख र जनश्रमदान समेत गरी कूल ८४ लाख रुपियाँ खर्चेर अन्तिमपटक मानेडाँडा–रमौली सडकमा स्ल्याब ढलानसहितको काम सकिएको हो । सोही आर्थिक बर्षमा बागमती प्रदेश सरकारले पनि मानेडाँडा–रमौली सडक खण्डमा २० लाख रुपियाँ बिनियोजन गरी कार्यान्वयन गरेको थियो ।

मानेडाँडा–रमौली सडक ।

५ बर्ष लगाएर उक्त खण्डको १ किलोमिटर बाटो पूर्ण रुपमा ढलान गरिएको रमौली–मानेडाँडा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रकुमार भोलनले बताउनुभयो । मानेडाँडा–रमौली सडक खण्डको बाटो नहुँदा बिजौना, मानेडाँडा, रमन्टार क्षेत्रका हजारौँ घरपरिवारलाई घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । “खेतको आली आली लाश बोकेर घाटमा लैजानुपर्ने बाध्यता थियो, अहिले त्यो सबै समस्या हल भएको छ ।”, अध्यक्ष भोलनले भन्नुभयो ।

तत्कालीन सरकारले १२ बर्षअघि बस्ती स्थानान्तरण समिति निर्माण निर्माण गरी राप्तीखोला पारिपटि रहेको रमौली र प्रतापपुर बस्तीलाई राप्तीवारिपटि सारेको हो । बस्ती राप्तीवारि सारेर साबिककै रमौली र प्रतापपुर नामाकरण गरिएको थियो । तर ती बस्तीबाट राजमार्ग छोड्ने सीधा बाटो नबन्दा मनहरी बजार पुग्नुपर्ने र घुमाउरो बाटो जानुपर्ने अबस्था रहेको थियो ।

बाटो निर्माण सम्पन्न भएपछि छोटो दूरीमै राजमार्गबाट रमौली प्रतापपुर बस्तीका बासिन्दाका घरघरै तरकारी, खाद्यान्न सेवा तथा निजी विद्यालयका बसहरु समेत घरघरै पुग्नेगरी सेवा पाएको मनहरी गाउँपालिका ७ का वडाध्यक्ष ठाकुरराम तितुङले बताउनुभयो । बाटो निर्माण सम्पन्न हुने अबधिमा मनहरी गाउँपालिका, बागमती प्रदेश सरकार र स्थानीयबासिन्दाको जनश्रमदान समेत परेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here