मनहरी–असार २६ गते । नेपाली काँग्रेसमा आसन्न वडा, गाउँ, जिल्लापछि राष्ट्रिय महाधिवेसनको सन्दर्भले माहोल तात्तिन थालेको छ ।
आफ्नो योग्यता, क्षमता र पहुँच अनुसार काँग्रेसभित्र नेतृत्व दाबी हुन थालेको छ । त्यसो त केन्द्रदेखि वडातहसम्मै नेपाली काँग्रेसभित्र २ गुट भएर आन्तरिक चुनाव हुने अबस्था देखिन्छ । संस्थापन (शेरबहादुर देउबा) र गैरसंस्थापन (रामचन्द्र पौडेल) पक्ष भएर काँग्रेसमा दुई धार भएर नेतृत्वको लडाई चलिरहेको छ ।

काँग्रेसले संघीय संरचना बमोजिमकै समितिहरुमा नयाँ नेतृत्व चयन गर्दैछ । जस अनुसार मकवानपुरमा पनि जिल्ला समिति, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति, प्रदेश सभा निर्वाचन समिति, नगर समिति, गाउँपालिका समिति र वडा समितिहरु बन्नेछन् ।

नेपाली काँग्रेसमा क्रियाशील सदस्यहरुले प्रत्यक्ष मतदानबाट वडा समिति र गाउँ÷नगर समितिमा नेतृत्व चयन गर्नेछन् भने हरेक वडाबाट बुथ प्रतिनिधिहरुको छनौट पनि गरिनेछ । छानिएका बुथ प्रतिनिधिहरुले प्रदेश समिति, प्रतिनिधि सभा समिति र जिल्ला समितिमा नेता चयनका लागि मतदान गर्न पाउनेछन् । महाधिवेसन प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदानको अधिकार प्राप्त गर्नेछन् ।

यसरी नेपाली काँग्रेसले आगामी साउन १२ गते वडा समितिको नेतृत्व चयन गरेर अधिबेसनको सुरुवात गर्दैछ । साउन १२ गते वडा समितिको नेतृत्व चयन हुनेछ भने साउन १६ गते गाउँ/नगर समिति र साउन २६ गते प्रदेश÷प्रतिनिधिसभा समितिमा नेतृत्व चयन गरिनेछ ।
यसैबीच शनिबार मकवानपुरका अधिकाँश स्थानीय तहमा काँग्रेसको बैठक बसेको छ । बैठकले वडा, गाउँ अधिवेसनहरुलाई व्यवस्थित गर्नेबारेमा छलफल गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here