राक्सिराङ–असार २१ गते । ज्यानमारा भीर भनेर चिनिएको राक्सिराङ गाउँपालिका ४ स्थित परेवाीर सडक खण्डको भौतिक संरचनामा मनहरी खोलामा आएको बाढीले क्षति पु¥याएपछि चौतर्फी टिकाटिप्पणी सुरु भएको छ ।

परेवाभीरको बाटोमा हिँड्दै स्थानीयबासिन्दा । बर्षायाममा कैलाश र राक्सिराङका बासिन्दाका लागि यो बाध्यकारी बाटो हो ।

तीन दिनअघि मनहरी खोलामा आएको बाढीले परेवाभीर खण्डमा निर्माणाधीन संरचना भत्काएको हो । यो संरचना भत्काएसँगै परेवाभीरबारे चिन्ता व्यक्त गर्नेहरुको मन चिसिएको छ भने परेवाभीरको बिपक्षमा उभिएर बजेट बिनियोजन गर्न नहुने तर्क राख्नेहरुमा खुसीभाव पनि देखिन्छ । तर, परेवाभीर खण्डमा मनहरी खोलाले पु¥यो यो क्षति पश्चिम मकवानपुरको आर्थिक, सामाजिक, राजनीतिक घटनाक्रममध्येको एउटा दुर्घटना हो, जसले धादिङसहित उत्तर पश्चिम मकवानपुरका जनताको सपनामा ठेस पु¥याएको छ ।

यस्तो थियो बिगत
यो खण्डमा बजेट बिनियोजन गर्नका लागि बागमती प्रदेश सभा सांसद ओमबहादुर ग्लान, सन्तबहादुर चेपाङसहितले पटक पटक आवाज उठाउँदै आउनु भयो । सांसद ग्लानले त भीरबाट लडेर मर्ने वा खोलाले बगाएर मर्ने व्यक्तिको किरिया नै बागमती प्रदेशको संसद सचिवालयमा गरिनेछ भन्ने धम्की समेत संसदमा दिनुभयो । तर, सांसद ग्लानको त्यो चित्कार काम लागेन, गत बर्ष मुख्यमन्त्री डोरमणि पौडेलले सार्बजनिक कार्यक्रममै भनिदिनुभयो–‘परेवाभीरबाट बाटो बन्दैन, अन्तैबाट बन्छ ।’

मुख्यमन्त्री पौडेललाई परेवाभीर खण्डबाट बाटो बनाउन सकिँदैन भनेर कान फुक्नेहरुले परेवाभीरबारे जति नकारात्मक कुरा गरेपनि भौगोलिक अबस्था त्यस्तो छैन, जहाँ परेवाभीरको बिकल्प खोज्न सकियोस् । परेवाभीरको बिकल्प खोज्दै राक्सिराङ गाउँपालिकाले परेवाभीर खण्ड छलाएर वडा नं ५ बमकिम हुँदै कैलाश गाउँपालिकाको ७ नं वडामा पर्ने रतुवासम्म बाटो निकाल्ने योजना नबनाएको होइन ।

तर, त्यसो हुँदा बाटो लामो हुने र कैलाश गाउँपालिकाको १, २, ३, ४, ५, ६ र ८ नं वडाबासीलाई पुनः परेवाभीरकै बाटो भएर जानुपर्ने बाध्यता रहिरहने स्थिति बन्यो । त्यसो त राक्सिराङ गाउँपालिका वडा नं ९ कै खैराङ, वडा नं ४ को चौकीटार, मादलसिंह, कैलाश गाउँपालिका ७ का गाउँहरुबाट पनि रतुवा–बमकिम सडकभन्दा परेवाभीरकै छोटो बाटो ठीक हुने देखिएपछि गाउँपालिकाले रतुवा–बमकिम सडक खण्डलाई प्राथमिकतामा नपारी परेवाभीरकै बाटो सफल पार्ने नीति अख्तियारी ग¥यो ।

महत्वकांक्षी योजना भएकाले गाउँपालिकाले परेवाभीर खण्ड निर्माणको आँट गर्न सकेको थिएन । बजेट बोकेर बसेको बागमती प्रदेश सरकारले परेवाभीरमा सडक बन्दैन भनिदियो । सरकारले परेवाभीरमा बाटो बन्दैन भनिरहँदा कैलाश र राक्सिराङका बासिन्दा, जो बर्षेनी परेवाभीरको बाटो हिँड्नुपथ्र्याे, उनीहरुको झस्किन्थ्ये ।

परेवाभीरबाट लडेर र खोलाले बगाएर बर्षेनी मान्छे मर्नुपर्ने, जनताको काम गर्छु भनेर मत पाएर गएकाहरुले चलाएको सरकारले जनताको पीडा नबुझ्ने । गाउँपालिकाले ठूलो र महत्वकाँक्षी योजनामा लगानी गर्न नसक्ने । यस्तो अबस्थाबाट गुज्रिएको परेवाभीर खण्डमा सडक बनाउने कुरामा बल्ल राक्सिराङ गाउँपालिकाले अगुवाई ग¥यो ।

हजारौँपटक परेवाभीरमा झुन्डिएर यात्रा गरेका राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ले त्यो आँट गर्नुभयो र कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानले पनि हो मा हो मिलाउनुभयो । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने यस क्षेत्रका २ सांसद यसअघि नै संसदमै परेवाभीरबारे बोलिसक्नु भएको थियो । परेवाभीरमा राजनीतिकरण बढ्दै जाँदा एक कदम अघि बढेर बागमती प्रदेशका तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका इन्द्रबहादुर बानियाँले ब्यक्तिगत खर्चमै बाटो बनाउँछु भन्न सम्म भ्याउनुभयो ।

तर, खास कुरा राक्सिराङ गाउँपालिको चालू आर्थिक बर्ष २०७७/०७८ का लागि २ करोड, संघीय सांसद बिरोध खतिवडाको पहलमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको निर्णयमा ससर्त अनुदानमा २ करोड र सांसदले सिफारिस गर्ने बजेटहरु समेत थपेर परेवाभीर खण्डमा बाटो निर्माण थालिएको हो । परेवाभीर खण्डमा पर्खाल निर्माण गरी बाटो निर्माण गर्ने, घुमाउने भीरको ढुंगा कटिङ गरी ट्रयाक बनाउने लगायत ६३० मिटर लामो बाटो बनाउने कामका लागि कूल ६ करोड ६१ लाख ६९ हजार रुपियाँ लाग्ने बिस्तृत परियोजना प्रतिवेदन छ ।

सोही बमोजिम गाउँपालिकाले निकालेको ठेक्कामा ४२० मिटर बलियो पर्खाल तथा ७०० सय घनमिटर बाटोको कटिङ गर्ने उल्लेख छ । यी कार्यका लागि ठेकेदार कम्पनी बानियाँ–लामा जेभीले ४ करोड ११ लाख रुपियाँमा ठेक्का सकार गरी काम गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य बताउनुहुनछ ।

मनहरी खोलाले परेवाभीर खण्डमा पु¥याएको क्षति ।

यसकारण भयो क्षति
परेवाभीर सडक खण्डमा मनहरी खोलाको बहावले यति चाँडै भौतिक क्षति पु¥याउला भन्ने पूर्वानुमान गरिएको थिएन । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जतिसक्दो चाँडो काम सकेर बर्षायाममा एकजना मान्छेपनि भीरबाट लडेर वा खोला बगेर मृत्यु भएको समाचार सुन्न चाहनु भएको थिएन ।

सोही बमोजिम ठेकेदार कम्पनीलाई जतिसक्दो चाँडो काम फत्ते गरेर भीरको बाटोको काम सकाउनु भनेर निर्देशन दिनु भएको थियो । ठेकेदार कम्पनीले तीब्रगतिमा काम गरेर झण्डै ८० प्रतिशत काम सकाएको थियो । यद्यपि, ठेक्का सम्झौताको अबधि २४ महिना छ । ५ महिनामै ठेकेदार कम्पनीले ८० प्रतिशत काम सकेको थियो । तर, बाढीले एकाएक भौतिक संरचना बगाएपछि ठेकेदार कम्पनी, गाउँपालिका र उत्तर पश्चिम भेगका बासिन्दा स्तब्ध छन् ।

‘बाढीले भौतिक संरचना बगाउनुमा प्राविधिक वा सम्झौताकर्ता दुबै पक्ष दोषी छैनन् । देशभर प्राकृतिक बिपत्तिले दर्जनौ पक्की पुल बगेका छन् भने सयौँ मिटर कालोपत्रे सडकै बगाएको छ’, गाउँपालिका अध्यक्ष मल्ल भन्नुहुन्छ–‘यो घटनाले झन् बलियो र फराकिलो बाटो बनाउनका लागि सुझाव दिएको छ ।’ परेवाभीर खण्डभन्दा तल्लो भाग घुमाउने भीरमा रहेको ढिस्को कटान गर्ने र त्यसभन्दा माथिको ग्राभेल उत्खनन् गरेर बगरको सतह गहिरो बनाएर खोलाको बहाव फर्काउनका लागि गाउँ बिपद् व्यवस्थापन समितिले गरेको निर्णय र जिल्ला विपद् व्यवस्थापन समितिमा गरिएको आग्रह कार्यान्वयन नहुँदा परेवाभीर खण्डमा क्षति भएको मल्लको भनाई छ ।

‘सिडिओ र जिसस प्रमुख नै आएर अनुगमन गर्नु भएको थियो, तर खन्न अनुमति दिनु भएन’, मल्लले दुखेसो पोख्नु भयो । यदि ढिस्को र ग्राभेल खनेर खोलाको बहावलाई दाँयातर्फ मोड्न सकिएको भए घुमाउने भीरमा बाटोको कटान हुँदैनथ्यो भने परेवाभीर खण्डको निर्माणाधीन संरचना पनि बगाउने थिएन भन्नुहुन्छ अध्यक्ष मल्ल ।

गाउँ विपद् व्यवस्थापन समितिले जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष फुटाउन र पानीको बहाव परिबर्तन गर्नका लागि माग गरेको घुमाउनेभीर नजिकैको ढिस्को ।

ठेकेदारकै लगानीमा फेरि बन्छ
परेवाभीरमा खोलाले क्षति पु¥याएपछि उत्तरपश्चिम भेगका स्थानीय बासिन्दा पिरलोमा छन् । यता कैलाश, राक्सिराङ र मनहरी गाउँपालिका अनि धादिङबीच आर्थिक, सामाजिक, राजनीतिक सम्बन्ध स्थापित गर्ने उद्देश्य बोकेर हिँडेका यस क्षेत्रका राजनीतिक नेतृत्व ओमबहादुर ग्लान, सन्तबहादुर चेपाङ, राजकुमार मल्ल, टंकबहादुर मुक्तान लगायत व्यक्तिहरु तनावमा छन् ।

तर, उनीहरुको आशा हराएको छैन । बागमती प्रदेश सभा सांसद ओमबहादुर ग्लानले परेवाभीर खण्ड पुनः निर्माण हुने भन्दै चिन्तित नहुन फेसबुकमार्फत आग्रह गर्नु भएको छ । परेवाभीरमा पैदल यात्रुले कसरी पीडा भोग्नुपर्छ भनेर कैलाश गाउँपालिका अध्यक्ष आफै पैदल यात्रुको रुपमा यात्रा गरेको भिडियो फेसबुकमा सार्बजनिक गर्नु भएको छ ।

बाढीले क्षति पु¥याएको खण्डमा ठेकेदार कम्पनीले पुन निर्माण नगरी सुखै छैन । किनकी ठेकेदार कम्पनीले ठूला भौतिक संरचना निर्माण गर्दा निर्माण सम्पन्न गरेर हस्तान्तरण भएको एक बर्षसम्मको क्षति ठेकेदार कम्पनीकै हुन्छ । यो कानूनी व्यवस्था हो । परेवाभीर खण्ड त जम्मा जम्मी ५ महिना मात्रै भएको छ ठेक्का सम्झौता भएको । २४ महिनाभित्र परेवाभीर खण्ड ठेकेदारले गाउँपालिकालाई बुझाउनुपर्छ । बुझाएको १ बर्षसम्म भएको क्षति पनि ठेकेदारले नै व्यहोर्नुपर्छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य भन्नुहुन्छ–‘यो भौतिक क्षति सरकारतर्फको क्षति होइन, ठेकेदारतर्फको हो ।’ ठेकेदारले पनि हरेक काम बीमा गरेर मात्रै सुचारु गरेको हुन्छ । त्यसैले ठेकेदार कम्पनीले आफ्नो लगानीमा पुनः परेवाभीर खण्डमा लागत इस्टिमेट अनुसार नै सडक निर्माण गर्छ र बीमा दाबी गरेर क्षतिपूर्ति लिन्छ । ‘कसैले आर्थिक चिन्ता लिनुपर्दैन, ठेकेदार कम्पनीले पानीको सतह घट्ने बित्तिकै परेवाभीर खण्डमा पुनः काम थाल्छ, परेवाभीर खण्ड बन्छ’, प्रमुख प्रशासकीय अधिकृत आचार्य भन्नुहुन्छ ।

मनहरी खोलाले परेवाभीर खण्डमा पु¥याएको क्षति ।

परेवाभीर खण्डमा बर्षायाममा हिँड्न सकिन्छ ?
भौतिक क्षति पु¥याएको परेवाभीर खण्डमा अहिले चाहिँ यात्रुहरु हिँड्न मुश्किल छ । तर, गाउँपालिकाले परेवाभीरदेखि चैनपुरसम्म पैदल यात्रु हिँड्न र अटोहरु समेत चल्ने गरी बाटो सफाई गर्दैछ । ‘परेवाभीरको किनारमा पनि हिँड्न मिल्ने गरी बाटो बनाउँछौ, यात्रुलाई अफ्ठ्यारो पार्दैनौ’, अध्यक्ष मल्लले भन्नुभयो ।

खोलाले क्षति हुनुमा प्राविधिक पक्ष दोषी हो ?
कतिपयले प्राविधिक अध्ययन र परेवाभीर खण्डमा प्रयोग भएको रड सिमेन्ट लगायत काममा भएको लापारबाहीले परेवाभीर खण्ड कमजोर बनेको टिप्पणी सामाजिक सञ्जालहरुमा गरेका छन् । तर, गाउँपालिका त्यो स्वीकार गर्न तयार छैन ।

गाउँपालिकाका इन्जिनियर शर्मिला पौडेल भन्नुहुन्छ–‘हामीले अध्ययन गरेरै यो सब कामहरु आफ्नै निगरानीमा गराइरहेका थियौँ, कोही न कोही प्रतिनिधि पुगिरहन्थ्यौँ, जनप्रतिनिहरुको पनि नियमित अनुगमन छ ।’

हिउँदमा पुगेका परेवाभीरको बाटो हुँदै यात्रा गरेका बागमती प्रदेश सरकारका मन्त्री र जनप्रतिनिधिहरुको गाडीको लस्कर ।

बिज्ञको टोलीले अध्ययन गरी डिपिआर तयार पारेको र सोही मोजिम प्रत्यक्ष निगरानीमा काम भइरहेकाले प्राविधिक पक्ष दोषी नरहेको सव इन्जिनियर उत्तम उप्रेती बताउनुहुन्छ । ‘गाउँपालिकाले ठेकेदारलाई, ठेकेदारले अरुलाई, अरुले प्राविधिकलाई दोष लगाएर हुन्न, यो बिपत्तिले ल्याएको नियति हो’, उप्रेती भन्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here