राक्सिराङ–असार १३ गते । राक्सिराङ गाउँपालिका ३ झिल्केनी (साबिक सरिखेत गाविस) निबासी सामाजिक अभियन्ता एबम् जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानुकान्छी स्याङ्तान अब हामीबीच रहनु भएन । कोभिड–१९ ले हामीमाझबाट एकजना इमान्दार, लगनशील, धैर्यवान् महिला सामाजिक अभियन्तालाई खोसेको छ ।

५८ बर्षीया स्याङ्तानको आइतबार बिहान ४ बजे राक्सिराङ गाउँपालिका ३ झिल्केनीस्थित आफ्नै निबासमा ज्यान गएको हो । सामान्य ज्वरो आएपछि स्थानीय स्वास्थ्यचौकीमा जाँच गर्दा उहाँमा कोरोना देखिएको थियो । त्यसपछि राक्सिराङमै ५ दिन उपचार गरिएको थियो । राक्सिराङमा गरिएको उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई हेटौँडा अस्पताल लगिएको थियो । तर, त्यहाँ पनि पाँचदिनसम्ममा सुधार हुने अबस्था नदेखिएपछि चितवनस्थित मेडिकल कलेजमा लगिएको थियो ।

कोभिड १९ को लक्षण देखिएको २० औँ दिनमा स्याङ्तानको ज्यान गएको हो । शनिबार आफन्तलाई मेडिकल कलेजले बचाउन नसकिने जबाफ दिएपछि डिस्चार्ज गरी घरमा ल्याइएको स्थानीय समाजसेवी एबम् राक्सिराङ गाउँपालिका ३ स्थित सूर्याेदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक काजीराम मुक्तानले बताउनुभयो ।

२०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा स्याङ्तान महिला वडा सदस्यमा निर्बाचित हुनु भएपछि नेकपा एमालेले जिल्ला समन्वय समितिको सदस्य पदमा उम्मेदवार बनाएर निर्बाचित गराएको थियो । उहाँको भूमिका राजनीतिक भन्दा बढी सामाजिक रुपान्तरणमा केन्द्रित थियो ।

एक साहसी नेतृत्व गुम्यो
सानुकान्छी स्याङ्तान सामान्य गृहिणीबाट समाज रुपान्तरण अभियानमा लाग्नु भएकी एक साससी महिला हुनुहुन्थ्यो । प्रौढ कक्षा पढेर अक्षर चिनेसँगै महिला अधिकारको क्षेत्रमा उहाँले आफ्नो जीवन समर्पण गर्नुभयो ।

‘महिला अधिकारको क्षेत्रका कार्यक्रम र बिषय भनेपछि राति नै घाँसदाउराको काम भ्याएर बिहानै कार्यक्रमहरुमा निस्कनुहुन्थ्यो’, सूर्याेदय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक काजीराम मुक्तान सम्झनुहुन्छ–‘सरल जीवनशैली अपनाउने सानुकान्छी दिदी साबिक सरिखेत गाविसतर्फका एक आशाको दियो हुनुहुन्थ्यो ।’

सरिखेत गाविसमै पहिलोपटक ठूलो संख्याका महिलाहरुको सहभागितामा महिला मुक्ति बचत तथा ऋण सहकारी संस्था खोलेर संस्थापक अध्यक्ष बन्नु भएकी स्याङ्तान महिला हिंसा, घरेलु हिंसाको डटेर सामना गर्नुहुन्थ्यो । महिला भएकै कारण हुने थिचोमिचोको बिपक्षमा जुझारु ढंगले लाग्नुहुने उहाँकै नेतृत्वमा दर्जनौँ महिलाहरुले न्याय पाएका छन् ।

‘एक असल, इमान्दार नेतालाई गुमायौँ’, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भन्नुभयो–‘सानुकान्छी दिदीजत्तिकै सामाजिक र राजनीतिक मान्छे उत्पादन गर्न राक्सिराङले सितिमिति सक्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here