कैलाश–जेठ ३० गते । मकवानपुरको बिकट कैलाश गाउँपालिका २ स्थित पर्यटकीय क्षेत्र बैकुण्ठमा चियाको बगान बिस्तार गर्न थालिएको छ ।
उत्तर पश्चिम क्षेत्रस्थित रमणीय पर्यटकीय स्थल बैकुण्ठको बिष्णुकुण्ड वरिपरि यसै बर्ष ६ हजार ५ सय थान चियाका बिरुवा रोपिँदैछ । डाँडाको उचाईमा रहेको बिष्णुकुण्ड ताल आफैमा एउटा ऐतिहाँसिक पर्यटकीय सम्पदाको रुपमा रहेको छ ।

सोही बिष्णुकुण्डको वरिपरि चियाका बिरुवा रोप्नका लागि अहिले धमाधम खाल्डो खन्ने काम भइरहेको कैलाश गाउँपालका २ नं वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले स्थानीय बैकुण्ठ कृषक समूहमार्फत चिया रोप्नका लागि खाल्डाहरु खन्ने काम अघि बढाएको छ । चियाका बिरुवा रोपिसकेपछि संरक्षणको जिम्मा समेत कृषक समूहले नै लिनेछ । ‘हामीले चियाको व्यवसायिक खेती गर्न खोजेका होइनौँ’, वडाध्यक्ष घिसिङले भन्नुभयो–‘पर्यटन विकासको हिसावले चियाका फाँट बनाउने तयारी गरेका हौँ ।’ यसअघि बैकुण्ठ क्षेत्रमा स्याउको उत्पादन भइरहेको छ भने गतबर्ष रोपिएको ओखरको बिरुवा समेत फस्टाउँदै गएको छ ।

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र थाहानगरबाट उत्तर पश्चिमतर्फ लागेपछि पुगिने बैकुण्ठ गाउँमा ठूला होटल तथा रिसोर्ट एबम् होमस्टे निर्माणका लागि उपयुक्त मानिन्छ । इलामको झैँ चिसो वातावरण भएकाले चियाका बगान निर्माण गर्न लागिएको जनप्रतिनिधिहरुले बताएका छन् ।

मकवानपुरको कैलाश डाँडा, बैकुण्ठ, बिष्णुकुण्ड, सानोडाँडाखर्क समेत समेत समेटेर र धादिङका क्षेत्रहरु समेत जोडी पर्यटन गुरुयोजना निर्माणको चरणमा रहेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here