मनहरी–जेठ २ गते । एक बर्षदेखि काठ नपाउँदा घर बनाउन नपाएर छट्पटिएका उपभोक्ताहरुले अब काठ पाउने भएका छन् । मन्त्रीपरिषदको निर्णयले काठ बिक्री बितरणका लागि खुला गरेसँगै बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको र राप्ती डिभिजन वन कार्यालयले आइतबार मनहरीस्थित बैज्ञानिक वन व्यवस्थापन लागू भएका सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दीको अनुगमन गरेको हो ।

अनुगमन टोलीले काठ नष्ट भए/नभएको, बितरण गर्न सक्ने अबस्था रहे/नरहेको तथा अनियमितता भए/नभएकोबारे स्थलगत अनुगमन गरेको थियो ।

निर्देशनालयका सहायक वन अधिकृत गोविन्द अर्याल नेतृत्वको टोलीमा डिभिजन वन कार्यालय राप्तीका सहायक वन अधिकृत दिनेश हुमागाई, शम्भु तामाङ, मनहरी सव डिभिजन कार्यालय प्रमुख भरत भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघ मनहरी अध्यक्ष हेमलाल उप्रेती लगायतका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

टोलीले सिमपानी देवकोट सामुदायिक वन उपभोक्ता समूह, ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूह र हरियाली सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दीमा पुगी समूहका अध्यक्ष, सचिव तथा पदाधिकारीहरुसँग सोधपुछ गरेको थियो । बाँकी अन्य सामुदायिक वनहरुको घाटगद्दी अध्ययन र अवलोकन गरिने टोलीले जनाएको छ ।
अनुगमन टोलीले प्रतिवेदन पेस गरेपछि काठ बितरण प्रक्रिया सुरु हुनेछ । प्रतिवेदन पेस भएर बितरण आदेश आउन एक/दुई दिन लाग्ने बताइन्छ ।