
राक्सिराङ–निजी अस्पतालहरुले ज्वरोका बिरामी समेत नजाँचेको समाचारहरु सार्बजनिक भइरहँदा मकवानपुरको दुर्गम चेपाङ बस्तीमा भने एकसातामा ४३ जनाको ज्वरो जाँच गरिएको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ६ मा सञ्चालित सिलिङ्गे हेल्थ एण्ड बर्थिङ सेन्टरको अस्थायी जाँच केन्द्रमा एकसाताको अबधिमा ९५ जनाको स्वास्थ्य जाँच गरिएकामा ४३ जनाको ज्वरो जाँच गरिएको हो ।
दिगो विकासका लागि एकता नेपाल र लिसा हिमालय इभीले राक्सिराङ गाउँपालिकाको वडा नं ६, ७ र ८ मा सञ्चालन गरेको शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत सञ्चालित केन्द्रमा चैत ११ गतेदेखि १८ गतेसम्म ४३ जनाको ज्वरो जाँच, ३६ जनाको झाडा पखालाको उपचार गरिएको र अन्य १६ जनाको सामान्य स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।
बिगत तीन बर्षदेखि २ जना हेल्थ असिस्टेन्ससहित स्वास्थ्यकर्मीहरु आवासीय रुपमा राखेर संस्थाले २४ सै घण्टा स्वास्थ्य सेवा दिइरहेको लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार राक्सिराङ गाउँपालिकाको दुर्गम धिराङ, दाराङ लगायतका बिकट गाउँहरुबाट दैनिक २० जनाको दरले स्वास्थ्य जाँचका लागि चेपाङ तथा तामाङ समुदायका मानिसहरु आइरहेका छन् ।
‘दैनिक ५ घण्टा हिँडेर स्वास्थ्य जाँचका लागि मानिसहरु आइरहेका छन्’, कार्यक्रम निर्देशक पौडेलले भन्नुभयो–‘थर्मल गन राखेर ज्वरो जाँच गरिरहेका छौँ ।’ अन्यत्र निजी अस्पतालहरुमा सजिलै ज्वरो जाँच नभइरहेको सन्दर्भमा अस्थायी जाँच केन्द्रले सजिलै ज्वरो जाँच गरिरहेको उहाँले बताउनुभयो । कोरोना भाइरस संक्रमणका बेला स्वास्थ्यकर्मीहरुलाई समेत पिपिइ उपलब्ध गराएर उच्च मनोबलका साथ काम गर्न प्रेरित उहाँले जानकारी दिनुभयो ।