मनहरी–कोरोना संक्रमण रोक्न देश लक डाउन भएका बेला मनहरी बजारमा तरकारीको मूल्य अनावश्यक रुपमा बढाइएको गुनासो उपभोक्ताले गरेका छन् ।
यहाँ तीनवटा ठूला तरकारी बिक्रेताले आलु, कागती र गोलभेँडाको मूल्य बढी लिएको पाइएको गुनासो स्थानीय तहमा पुगेको ७ नं वडाध्यक्ष ठाकुरराम तितुङले बताउनुभयो ।
गुनासो बढेपछि वडाध्यक्ष तितुङसहित मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका सभापति नारायण सुवेदी, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्रीशंकर श्रेष्ठ लगायतले चैत १४ गते शुक्रबार बिहान तरकारी पसलहरुको अनुगमन गर्नु भएको छ ।
अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गरेको भेटिएमा कारबाही हुने चेतावनी टोलीले दिएको छ । त्यसैगरी टोलीले मूल्य सूचि टाँस्न पनि व्यवसायीलाई सुझाव दिएको छ ।
यसैबीच टोलीले तरकारी बिक्री गर्दा लाइन बस्नका लागि सामाजिक दुरी कायम हुने गरी रेखा निर्माण गरिदिएको छ । व्यवसायीलाई इनामेल लगाएरै रेखांकन निर्माण गर्ने र उपभोक्तालाई तरकारी बिक्री गर्न सुझाव दिइएको टोलीले जनाएको छ ।