मनहरी–भदौ २१ गते शनिबारको दिन । मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको नेतृत्वमा एउटा टोली मनहरी गाउँपालिका वडा नं ६ लोथर पुग्छ । अघिअघि सेतो नम्बर प्लेटको सरकारी टाटासुमो र पछिपछि निलो रंगको इलाका प्रहरी कार्यालय मनहरीको भ्यान लोथरस्थित त्रिपालै त्रिपाल टाँगिएको बस्तीमा छिर्छ ।

प्रहरीसहित सरकारी गाडीमा शनिबारको दिन नौला मानिसहरु आएपछि बस्तीमा खैलाबैला हुन्छ । केही तास खेल्दै गरेका मानिसहरु तास लुकाउँछन् । बाहिर नाङ्गै बसिरहेकाहरु हतार हतार कपडा लगाउँछन् । खाना खाइरहेका मानिसहरु नौला मानिसहरु देखे/नदेखे झैँ गर्छन् ।
त्यो बस्ती थियो–फिरन्तेहरुको । जो, तीन÷तीन महिनामा आफ्नो बस्ती सारिरहन्छन् । बस्तीमा अधिकाँश बालबालिकाहरु नाङ्गै र फोहोरी देखिए एउटै त्रिपालमुनि श्रीमानश्रीमती र छोराछोरीहरुसहित ६ जनासम्म सुत्दा रहेछन् । दिनभर बालबालिकाहरुसहित कोही पत्थरकट्टा (सिलौटो बनाउने), आयुर्वेदिक औषधी, औँठी, मुगा र फूलहरु बेच्ने । साँझपख त्रिपालमा आउने खुलम्खुल्ला खाना पकाउने, खुल्ला दिशापिसाव गर्ने उनीहरुको दिनचर्या हो । केही बालबालिकाहरु स्थानीय लोथर, मनहरीबजारसम्म माग्न पनि आउँछन् ।

मनहरी गाउँपालिका उपाध्यक्षले उनीहरुको दैनिकी चासोपूर्वक सुनिन् । उनीहरुको घर पत्ता लगाउन चाहिन् । केहीको घरै रहेनछ, केही चाहिँ बारा जिल्लाको जीतपुर सिमरा नगरपालिका १८ नं वडा र कलैया नगरपालिकाभित्र घर भएकै मानिसहरु रहेछन् । ‘किन यसरी फिरन्ते बनेर तपाईहरु हिँड्नुहुन्छ ? तपाईहरुमाथि सामाजिक/भौतिक/आर्थिक बढ्दो छ’, उपाध्यक्ष बिष्टले भनिन् । उनीहरुले जबाफ फर्काए–‘हामी दशहरामा घरमै पुग्छौँ, खेतीबाली सकाएर यता आएका हौँ ।’
उनीहरुको फिरन्ते जीवन बुझ्नुसँगै मनहरी गाउँपालिकालाई बालमैत्री शासन अवलम्बन भएको गाउँपालिकाको रुपमा विकास गर्नका लागि बाधकको रुपमा यस्ता अब्यवस्थित बस्तीहरु रहेकाले यसको निराकरण गर्नका लागि उपाध्यक्ष फिरन्ते बस्तीमा पुगेकी हुन् ।


त्यहाँ रहेको अब्यवस्थित बस्तीका बालबालिकाहरु बालश्रम गर्ने, माग्ने लगायत कार्यहरुमा संलग्न थिए । त्यही बस्तीका १४ बर्षीय राहूल शर्मालाई मनहरी ९ रजैयामा एक होटलमा भाँडा माज्दै गरेको अबस्थामा गाउँ बाल सञ्जालले उद्धार गरी शुक्रबार साँझ फिरन्ते बस्तीमा पु¥याएको थियो ।

बस्तीको अनुगमन र बस्तुस्थिति बुझिसकेपछि उपाध्यक्ष बिष्टले जीतपुरसिमरा नगरपालिका, माननीय सांसदहरु र गाउँपालिका अध्यक्ष लगायतलाई घटनाबारे सुनाइन् । जुन स्थानीय तहका मानिसहरु हुन्, त्यहीँ फर्काउनका लागि पहल गरिएको उपाध्यक्ष बिष्टले बताइन् । ‘यही पारामा बालमैत्री शासन कार्यान्वयन गर्न सकिन्न’, उनले भनिन् –‘मनहरीका बालकालिकाहरुमा भन्दा पनि बाहिरकाबाट आएका बालबालिकाहरु हाम्रा लागि समस्या भए ।’
तीनजनाको उद्धार
बस्तीमा पत्थरकट्टाको रुपमा काम गरिरहेका दुईजना अधबैसे पुरुष र एक बालक बिरामी अबस्थामा पाइएको थियो । ५० बर्षका सन्जय शर्मा, उनका भाई र छोरा बिरामी थिए । सञ्जय र उनका भाईलाई सिलौटा खसेर खुट्टामा बजारिएपछि ठूलो चोट थियो भने छोरा छिन्तु कुपोषणबाट पीडित थिए । चिन्तुको उमेर अढाई बर्ष हुँदा पनि जम्मा ४ केजी मात्रै थिए भने उचाई ६० सेन्टिमिटर थियो । अब्यवस्थित घर, खानपान र असरल्ल अबस्था अनि बालक र सुत्केरी महिलाहरुको अबस्थाले जोकोहीलाई स्तब्ध बनाउँथ्यो ।

उपाध्यक्ष बिष्टकै निर्देशन बमोजिम बिरामी तीनैजनालाई इलाका प्रहरी कार्यालय मनहरीको भ्यानमा राखेर मनहरी प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको छ । उनीहरुको निःशुल्क उपचार गर्न उपाध्यक्ष बिष्टले निर्देशन दिएकी छन् । सिलौटा खसेर बुवा घाइते भएको, भाईहरु साना साना र एउटा भाई कुपोषणका कारण अपाङ्ग भएपछि १४ बर्षीय राहुल शर्मा ७ जनाको परिवार पाल्नका लागि रजैयामा दैनिक २ सय रुपियाँ पाउने गरी भाँडा माझ्न बसेका थिए ।

बाल सञ्जालको सक्रियता
बाल सञ्जालमा आबद्ध रहेका पदाधिकारीहरुको सक्रियता बढाइएको छ । आगामी मंसीरभित्रमा गाउँपालिकामा बालमैत्री शासन कार्यान्वयन भएको स्थानीय तहको रुपमा घोषणा गर्ने तयारी छ । शनिबार खटिएका टोलीमा शिक्षक कृष्णप्रसाद पौडेल, बालबालिकातर्फबाट अस्मिता कार्की, सनिस मुक्तान लगायत थिए । त्यसैगरी स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारी, सञ्जारकर्मी शिवकुमार काशी, इलाका प्रहरी कार्यालयका प्रमुख एबम् प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठसहित प्रहरी टोली पनि सहभागी थियो । टोलीले तीनजनालाई मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्थापन गराएर केहीबेर स्वास्थ्य केन्द्रको फोहरमैला संकलन पनि गरेको थियो । सन्जय शर्मालाई स्वास्थ्य केन्द्रमा भर्ना गरी उपचार थालिएको छ भने चिन्तु र उनका काका उपचारपछि घर गएका छन् ।

बालबालिकाको अबस्था बिजोग
अधिकाँश बालबालिका कपडाबिहिन नै देखिन्छन् । उनीहरु आफ्ना बाबुआमा जता पुग्छन्, त्यतै जाने हो भन्छन् । जीतपुर सिमरा १८ का एकजना बालक मनहर्वास्थित विद्यालयमा कक्षा ४ मा पढ्दा रहेछन् । उनी पनि स्कुल छाडेर आएको १० दिन भएछ ।

गाउँपालिकासहितको टोलीको सल्लाहपछि उनी विद्यालय फर्कने क्रममा छन् । बस्तीमा साना शिशु र सुत्केरीहरु पनि छन् । जथाभावी फोहरमैला, उचित खानपानको अभावजस्ता कुराहरुले बालबालिका र महिलाको स्वास्थ्य अबस्था कमजोर देखिन्छ ।