मनहरी– कात्तिक १५ गते । मकवानपुर प्रदेश सभा २ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनियाले आगामी मंसिर ४ गते हुने निर्वाचनबाट मकवानपुर जिल्लामा एमाले शुन्य हुने बताउनुभएको छ ।

मंगलबार मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडिखोलामा भएको बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मकावनपुर जिल्लामा नेकपा एमालेको बिउ नै मासिने बताउनुभएको हो ।

एमालेलाई मनहरी गाउँपालिकाले दोस्रो स्थानीय तहको निर्वाचनमा अस्वीकार गरिसकेकोले अब प्रदेश र संघमा पनि अस्वीकार गर्ने बताउनुभयो ।

गत स्थानीय निर्वाचनमा एमालेले मनहरीमा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटा पनि वडा अध्यक्ष जित्न नसकेको प्रसंग निकाल्दै उहाँले अबको निर्वाचनबाट मकवानपुर एमालेविहीन हुने बताउनु भएको हो ।

एमालेले जनताको सुख र मुलुकको विकास नचाहने आरोप लगाउदैँ मुलुकमा सधैं झुटा आश्वासन र नारा बाहेक केही दिन नसकेको जिकिर समेत गर्नुभयो ।

एमालेको नेता, नीति र नियती ठीक नभएको भन्दै भोगाई पनि ठीक नहुने हुँदा आगामी निर्वाचनमा एमालेको बिउ मासिने बताउनुभयो । जसरी मनहरी गाउँपालिकामा वडा नम्बर ९ मा वडा सदस्य मात्र जितेर ढुकढुकी बचाएको थियो तर आगामी निर्वाचनमा त्यसो नहुने हुँदा एमाले भन्ने पार्टी नै नरहने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here