कैलाश–कात्तिक ४ गते । नेपाली काँग्रेसका बागमती प्रदेश सभापति एबम् मकवानपुर क्षेत्र नं २ को प्रदेश सभा ख का उम्मेदवार इन्द्रबहादुर बानियाँले संघीय सरकारको नेतृत्व केपी ओली र बागमती प्रदेश सरकारको नेतृत्व डोरमणि पौडेलले गरिरहँदा तपाईहरुले गाउँमा के कति विकासका योजना ल्याउन सफल हुनुभयो भनेर एमालेका उम्मेदवारहरुलाई प्रश्न गर्नु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकामा आयोजित संयुक्त गठबन्धन भेलालाई सम्बोधन गर्दै उहाँले एमालेको नेतृत्वको सरकार हुँदा राक्सिराङ, कैलाश, मनहरी लगायतका स्थानीय तहमा एमालेकै पहलमा भएका योजनाहरुबारे प्रष्ट्याउन प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बर्ताैला र प्रदेश सभाका उम्मेदवार लालबहादुर थापालाई प्रश्न गर्नु भएको हो ।

‘ओली र डोरमणिका खास मान्छे भनेर सहर बजारतिरै हल्लिरहने र गाउँको समस्यामा साथ नदिनेहरुले अहिले हामीलाई पाहूना भनिरहेको सुनेको छु’, बानियाँले भन्नुभयो–हामी यस क्षेत्रका जनताको सुखदुःखमा थियौँ र हुने छौँ, तर उहाँहरुलाई मैले यो भूगोलको सामाजिक काममा भेटेको छैन ।’

उहाँहरुलाई कोरोनाको संक्रमणकालीन अबस्था, अनिकाल जस्ता समस्याहरुमा जनतामाझ नभएको र सरकारको तर्फबाट कुनै पनि राहत तथा सहुलियतका कामहरु समेत गर्न नसकेको सत्य स्वीकार्न गाह्रो भएको भन्दै बानियाले सरकार चलाउँदा काम गर्न नसकेको र ढंग नपुगेकाले अब जनताले एमालेलाई बिदाई गरेको बताउनुभयो ।

केपी ओेलीको चाकडी गरेकै भरमा बर्तौलाले टिकट पाएको भन्दै बानियाँले आफ्नै भूगोल र परिवेशबारे बर्तौलालाई राम्ररी जानकारीसमेत नभएको दावी गर्नुभयो । । ‘हामीलाई पाहुना उम्मेदवार भन्दै हिँड्छन् रे, हो हामी पाहुना नै भए पनि भूगोलको विकासमा गर्व गर्न लायक काम पनि गरेका छौं, तर महेश भाईहरुले के गरे ?’ बानियाँले भने ।

मुलुकको व्यवस्था परिवर्तनको लागि आन्दोलन हुँदा त्यसलाई रोक्न खोज्ने र देश टुक्र्याउने नारा दिने शक्तिहरुसँग गठबन्धन गरेर एमाले नैतिक रुपमै पतन भएको बानियाँको भनाइ थियो । गठबन्धन दल नेकपा एकीकृत समाजवादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभभा सदस्य पदका उम्मेदवार बिरोध खतिवडाले मुलुकको संविधान र वर्तमान व्यवस्था जोगाउन गठबन्धन एकमत रहेको भन्दै जीत सुनिश्चित भइसकेको बताउनुभयो ।

गठबन्धन दलका तर्फबाट नेकपा माओेवादी केन्द्रबाट मकवानपुर क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यकी उम्मेदवार कुमारी मुक्तानले गठबन्धनभित्रका दलबाट उठेका उम्मेदवारलाई प्रतिवद्ध भएर मतदान गर्न कार्यकर्ताहरुमा आग्रह गर्नुभयो । अहिले गठबन्धनभन्दा बाहिर गएर प्रतिगमनलाई साथ दिएमा देश, जनता, राष्ट्रिय स्वाधीनता र संविधानप्रति ठूलो गद्दारी हुने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका महासमिति सदस्य सन्तबहादुर चेपाङले आफू प्रदेशको राज्यमन्त्री भएपछि कैलाश गाउँपालिकामा मात्र करिब २३ करोड बजेट हालेको भन्दै हिजो एमाले नेतृत्वको सरकारले कति बजेट हाल्यो हिसाब खोज्न गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गठबन्धनमा आवद्ध दलका विभिन्न तहका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमपछि वडा तथा टोल तहका कार्यक्रमहरुको समेत तर्जुमा गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here