मनहरी–असोज १६ गते । नेपालीहरुको महान पर्व बडा दशैँको आइतबार ७ औँ दिन । सबै सरकारी तथा गैह्र सरकारी कार्यालयहरु बन्द भएर कर्मचारीहरु दशैँ मनाउन घरघरमा परिवारसंग व्यस्त छन् ।

तर स्वास्थ्यकर्मीको व्यथा भने फरक छ । पूर्णरुपमा स्वास्थ्य कार्यालय बन्द गर्दा अकस्मात बिरामी परेकाहरुलाई असहज हुने हुँदा स्वास्थ्यकर्मीहरु पालो मिलाएर आकस्मिक सेवा भने प्रदान गरिरहेका छन् ।

विशेषगरी देशभर ड्ेंगीको संक्रमण बढिरहेको यो समयमा मनहरी अस्पतालले डेंगीको परीक्षणको लागि आइतबार पनि परीक्षणलाई प्राथमिकतामा राखी सेवा प्रदान गरिएको मनहरी अस्पतालका इन्चार्ज शिबराम बानियाँले बताउनुभयो ।

“अन्य कर्मचारी जस्तै परिवारसंग बसेर चाडबाड मनाउने इच्छा कसको हुदैन र? तर के गर्ने आम मानिसको स्वास्थ्यको जिम्मा हामीले लिएका छौँ । त्यसको जिम्मेवारी पुरा गर्न पनि पारिवारिक मिलन र रमाइलो त्याग्दै आइरहेका छौँ ।” बानिँयाले भन्नुभयो ।

अस्पतालमा विदाको समयमा पनि १० बजे देखि ४ बजे सम्म फार्मेसी र डेंगी परीक्षणका लागि ल्याव सञ्चालनमा रहने उहाँले बताउनुभयो । मकवानपुर जिल्लामै मनहरी गाउँपालिका डेंगी संक्रमण हुनेमा हेटौडा उपमहानगर पछि अग्र स्थानमा रहेको छ ।

आइतबार मनहरी अस्पतालमा १३ जनामा गरिएको परीक्षणमा ७ जनामा डेंगी संक्रमण पुष्टि भएको मनहरी अस्पतालका ल्याब टेक्निसियन शुरेश रायले बताउनुभयो । आइतबार संक्रमण हुनेहरुमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here