मनहरी–भदौ १४ गते । मनहरी गाउँपालिका वडा नं ४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि साइकलको सुविधा हुने भएको छ ।

चालू आर्थिक बर्ष २०७९/०८० को बजेट कार्यान्वयनका क्रममा साइकलको व्यवस्थापन हुने ग्यारेन्टी भएको ४ नं वडाध्यक्ष प्रकाश थापाले बताउनुभयो ।

‘चालू आर्थिक बर्षमा कार्यान्वयन हुने गरी वडा कार्यालयको सिफारिसमा गाउँसभाबाट साइकल खरिदका लागि बजेटको व्यवस्थापन गरिएको छ’, वडाध्यक्ष थापाले भन्नुभयो ।

उहाँले हाल ८ किलोमिटरभन्दा बढी टाढाबाट विद्यालय आइरहेका बालबालिकाको शारीरिक मानसिक थकानलाई मेटाउन साइकलको व्यवस्था गर्नका लागि १० लाख रुपियाँ बजेट बिनियोजन भई कार्यान्वयनका क्रममा रहेको बताउनुभयो । यसअघि स्कुल बस व्यवस्थापनका बारेमा छलफल भएपनि जनशक्ति, इन्धन लगायत व्यवस्थापनका कारण साइकल खरिदलाई नै प्राथमिकतामा राखिएको उहाँको भनाई थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमका अनुसार बिनियोजित बजेटबाट ११० भन्दा बढी साइकल खरिद गर्ने लक्ष्य छ । खरिद गरिएका साइकलहरु कक्षा देखि १० सम्म अध्ययन गर्ने र सबैभन्दा टाढादेखि हिँडेर आउने बालबालिकाहरुलाई बितरण गरिनेछ ।

त्यसरी बितरण गरिएको साइकलमा नं राखिनेछ र विद्यालय छोडेको दिन विद्यार्थीले साइकल विद्यालयलाई नै फिर्ता गर्नुपर्नेछ । साइकलको मर्मत सम्भारको जिम्मेवारी विद्यार्थीकै हुने गरी कार्यविधि निर्माण गरी साइकल हस्तान्तरण गर्नेगरी तयारी भएको उहाँको भनाई छ ।

विद्यार्थीलाई साइकल दिँदा उनीहरुमा उत्साह बढ्ने र समयमै विद्यालय तथा घर पुग्न सक्ने अबस्था आउने भएकाले कार्यक्रम सञ्चालन गर्न लागिएको प्रधानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो । ‘यो पाइलट प्रोजेक्टको रुपमा ल्याइएको कार्यक्रम हो’, आचार्यले भन्नुभयो–‘हाम्रो कार्यक्रम सफल भएमा गाउँपालिकाले अन्य विद्यालयहरुमा यस्तो कार्यक्रम बिस्तार गर्दै जानुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here