फोहोरी राजनीतिले कहाँमात्र नछोएको छ र ? शिक्षा, स्वास्थ्य, सञ्चार, वन, वातावरण, प्राकृतिक स्रोत कुनै पनि क्षेत्र राजनीतिबाट अछुतो छैन । यसो भनिरहँदा उल्लेखित सबै बिषय र क्षेत्रहरु राजनीतिले नै सुधार गर्ने क्षेत्रहरु हुन् भन्ने कुरा हामीले बिर्सनुहुन्न । अहिले भनिएको र भइरहेको व्यवहार राजनीति होइन, ‘अराजनीति’ हो । नीतिहरुको मूल नीति नै राजनीति भएपछि जुनसुकै क्षेत्र सुधारका लागि राजनीति सफा हुनै पर्छ ।

केही दिन यता चर्चामा रहेको मनहरी गाउँपालिकाको ८ नं वडास्थित ऐतिहाँसिक विद्यालय महेन्द्र किरण माध्यमिक विद्यालयको प्रसंगमा केही कुरा उल्लेख गर्नुपर्ने देखियो, जुन वडा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको निवास रहेको वडा पनि हो । र, यो त्यही विद्यालय हो यहाँ पढेका विद्यार्थीहरु सांसद, पालिका अध्यक्ष, डाक्टरसम्म भइसके । तर, विद्यालयको दुराबस्था चाहिँ कहिल्यै सुध्रिएन । सुधार्न प्रयत्न भएन । सुधार गर्न चाहनेहरुलाई पनि सरोकारवालाले साथ दिएन भन्दा फरक नपर्ला ।

तीन दिनअघि विद्यालयका प्रधानाध्यापक राधालाल मण्डलले राजीनामा दिनु भयो । घर घरायसी कारण राजीनामा दिएको उल्लेख भएपनि मण्डलले चर्काे दबाबमा राजीनामा दिएका हुन् । यसरी दबाब दिनेहरु थिए अभिभावकहरु । र, अभिभावकको दबाबमुलक काममा साथ दिने जनप्रतिनिधिहरु, व्यवस्थापन समिति, विद्यार्थी र अन्य सरोकारवालाहरु थिए ।

अभिभावकले भदौ ५ गते ८ नं वडा कार्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको राजीनामा गराएर शैक्षिक सुधारका लागि बाटो खोल्न लिखित रुपमा ज्ञापन पत्र मात्रै बुझाएका थिएनन्, विद्यालयमा तालाबन्दी नै गरियो । भदौ ५ र ६ गते विद्यालय सुचारु हुन सकेन भने ७ गते नेपाल बन्दका कारण विद्यालय अबरुद्ध नै रह्यो । भदौ ६ गते दिउँसो गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, वडाध्यक्ष नारायण उप्रेती, वडा सदस्य रामचन्द्र सुवेदीसहितको सहभागितामा प्रधानाध्यापक मण्डलले राजीनामा गरे ।

त्यसपछि केही बहसहरु सामाजिक सञ्जाल र चोक चौतारामा भइरहेका छन् । पक्ष, विपक्षमा छेडछाड र बोलीबाण प्रहार भइरहेको पाइन्छ । ती घटनाक्रमले के देखाउँछ भने सामाजिक सञ्जालहरुमा भने पनि विद्यालयप्रतिका माया दर्शाउनेको कमी देखिँदैन, फरक यत्ति हो कि विद्यालय किन बिग्रियो भनेर विद्यालय परिसरमै पुगेर सल्लाह, सुझाव दिने शुभचिन्तक र अभिभावकहरु चाहिँ सकेसम्म सामुदायिक विद्यालयहरुले प्राप्त नगर्ने कुरा सत्य हो ।

अभिभावकले मनहरी ८ नं वडा कार्यालयमा दिएको ज्ञापन पत्र ।

राजीनामाको चुरो कुरो
अभिभावकहरुले एसइइमा जम्मा एकजना विद्यार्थीले मात्रै सफलता पाएको बिषयलाई उल्लेख गरेर तालाबन्दी गरेका हुन् । त्यसको अर्थ एसइइ मात्रैको कुरा होइन, समग्र शैक्षिक, आर्थिक र भौतिक सुधार उनीहरुको माग हो ।

उनीहरुले गाउँपालिका अध्यक्ष, वडाध्यक्षसामु भनेका छन्–‘१० देखि ४ बजेको बीचमा किन विद्यालयका शिक्षक र विद्यार्थीहरु सडक सडक घुमिरहेको भेटिन्छन् ?’ यही एउटै प्रश्नले अनेकन शैक्षिक समस्याको उजागर गर्दछ । जब शैक्षिक संस्थामा शैक्षिक कर्ममा लाग्नुपर्ने शिक्षक र विद्यार्थी नै विद्यालय समयमा मनलाग्दी गर्छन् भने त्यहाँ कस्तो शैक्षिक गतिविधि होला ? पटक पटकको छलफलमा मूल नेतृत्वको हिसाबले प्रधानाध्यापक मण्डलले यो प्रश्नको जबाफ मात्रै होइन, भइरहेको प्रयास, बर्तमान तथ्याङ्क, शैक्षिक तथ्याङ्क, शैक्षिक सुचाङ्क केही पनि सरोकारवालाहरुलाई बताउन सकेनन् ।

उनी एकोहोरो रुपमा भनिरहेका थिए–‘म राजीनामा दिन्न, मैले सकेको प्रयास गरिरहेको छु ।’ तर उनले सुधारका लागि के कस्तो प्रयास गरे भनेर यसअघि न वडा कार्यालयलाई जानकारी गराएका छन्, न त अभिभावकसँग सुझाव मागेका छन् न त गाउँपालिकाको शिक्षा शाखामा उनले गरिरहेको प्रयास अभिलेख छ । यस्तो अबस्था देखिएपनि गाउँपालिका अध्यक्ष कालाखेती, वडाध्यक्ष नारायण उप्रेतीसहितले उनलाई राजीनामा दिएर आराम गर्न भदौ ५ गते र ६ गते दिउँसोसम्म निरन्तर सहजीकरण गरे ।

तर, अबस्था झन् जटिल बन्दै गयो, मण्डललाई नहटाउनु भन्दै शिक्षक संघ संगठनका नेता र पार्टीका नेताहरुको समेत दबाब आउन थाल्यो । त्यो घटनाले झन् वातावरण बिगा¥यो । त्यसपछि बिषय झन् राजनीकिरण हुने देखिएपछि अभिभावकहरुको एक सुत्रीय माग बन्यो–मण्डलको राजीनामा । र, दबाब झेल्नुभन्दा राजीनामा दिनु उचित ठानेर मण्डलले राजीनामा दिए ।

अभिभावकले विद्यालयमा टाँसेको सूचना ।

व्यवस्थापन समिति अध्यक्षले राजीनामा नदिने ?
अभिभावकहरुको माग विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेमलाल उप्रेतीको पनि राजीनामा हो । यो समिति गतबर्ष मात्रै गठन भएको समिति हो । तर, शैक्षिक सुधारका लागि अभिभावकको माग र दबाबमुलक आन्दोलनमा उप्रेतीको पनि समर्थन रह्यो ।

किनकी व्यवस्थापन समिले अह्राएको, निर्णय गरेको काम प्रधानाध्यापकले नगरेका थुप्रै उदाहरणहरु सार्बजनिक भए । विद्यालय व्यवस्थापन समितिको बैठक पनि बसियो । बैठकमा व्यवस्थापन समितिका सदस्य सचिव समेत रहेका मण्डलले यसअघिका निर्णयहरु, विद्यालय सुधार योजनाहरु केही पनि कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै उहाँको बहिर्गमन नै पहिलो चरणको निकास हो भन्ने निष्कर्ष निकाल्यो । त्यसपछि अध्यक्षको राजीनामाको कुरा ओझेलमा पर्दै गयो ।

तर, विद्यालय बिग्रनुमा प्रधानाध्यापक मात्र दोषी होइनन, समिति पनि हो भन्ने हेक्का राख्न अभिभावकले समितिलाई राम्रै सन्देश दिएका छन् । समितिले तत्कालै अभिभावक भेला राख्ने प्रतिबद्धता जनाएको छ । भेलाले समितिबारे पनि छलफल गर्नेछ ।

समिति हेरफेर पनि गर्न सक्नेछ सम्भावना उत्तिकै छ । यद्यपि, समितिको म्याद सकिएको छैन । स्मरणीय कुरा के छ भने विद्यालय व्यवस्थापन समिति निर्माण गर्दा पनि अपारदर्शी व्यवहार भएको छ । अधिकाँश ठूला राजनीतिक दलहरु, सरोकारवालाहरु, पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श बिनै समिति निर्माण भएको र घोषणा भएको कुरा लुकाउनुपर्ने बिषय होइन ।

अब के हुन्छ ?
विद्यालय व्यवस्थापन समितिले तत्कालै शिव रिमाललाई निमित्त प्रधानाध्यापक तोकेर काम अघि बढाएको छ । अब आर्थिकबाहेक अन्य प्रशासनिक काम अघि बढ्नेछ । र, यो बीचमा प्रधानाध्यापक बन्न योग्यता पुगेका शिक्षकहरुबाट विद्यालय विकास योजना माग गरी योजनाको मूल्यांकन गरी सोको आधारमा नयाँ प्रधानाध्यापक तोकिनेछ । र, नयाँ प्रधानाध्यापकमाथि यसअघि लागेका सम्पूर्ण आरोपहरु, कमजोरीहरु सुधारको अबसर जानेछ । र, विद्यालयमा राम्रो र सरोकारवालासँग समन्वय गर्ने क्षमतको प्रधानाध्यापक आएमा विद्यालय सुधारको खुड्किलो यहीँबाट सुरु हुनेछ ।

सुधार्नुपर्ने पाटोहरु के के छन् ?
महेन्द्र किरण माध्यमिक विद्यालय गाउँपालिकाकै सबैभन्दा बढी दरबन्दी रहेको, सबैभन्दा बढी अनुदान र सहयोगहरु पाउने विद्यालय हो । तर, दुर्भाग्य यही विद्यालयका विद्यार्थीहरु कमजोर छन् ।

शिक्षक, कर्मचारी र कार्यालय सहयोगीसम्म अनुशासनमा नरहेको अभिभावकहरुको आरोप छ । शिक्षकहरु नै अनुशान नमान्ने भएपछि विद्यार्थीहरु अनुशासित छन् भन्ने कुरा सत्य होइन । विद्यालयसँग शैक्षिक योजना छैन । विद्यालयको आर्थिक योजना छैन ।

विद्यालयमा भएका आइसिटी ल्याब, कम्प्युटर ल्याब राम्ररी प्रयोगमा आउन सकेको छैन । विद्यालयमा अतिरिक्त क्रियाकलापहरु शून्य छन् । लेखा प्रणाली कम्प्युटर सिस्टममा छैन । बार्षिक हिसाब कितावको फेहरिस्त पनि अभिभावकले पाएका छैनन् ।

अभिभावकहरुलाई बोलाएर सुझाव लिने दिने काम भएको छैन । शिक्षकहरुबीच सूचना र निर्देशनको आदानप्रदान छैन । निर्णायक तहमा बालसहभागिता छैन । विद्यालयका सरोकारवालाहरुसँग समन्वय छैन । स्थानीय तहसँग निकै दुरी बढेको छ ।

अभिभावकहरुले विद्यालय परिसरमा थन्किएको गुट्खाको खोलहरुको सफा कहिले गर्ने भन्दै व्यंग्य गरिरहेका छन् । यसको मतलब विद्यालय परिसरमा सुर्तीजन्य बस्तुको सेवन पर्याप्त छ भन्ने बुझिन्छ ।

यस्तो अबस्थामा चरणबद्ध बैठक, भेला, अन्तरक्रिया राखेर विद्यालय सुधारको योजना बनाउने, विज्ञहरु ल्याएर नयाँ कार्ययोजना बनाउने, भूतपूर्व विद्यार्थीहरुलाई समेटेर आर्थिक व्यवस्थापन र भौतिक पूर्वाधार व्यवस्थित गर्ने कार्यमा सघाउन आग्रह गर्ने जस्ता क्रियाकलापहरु गर्नुपर्छ ।

यो काम गर्न प्रधानाध्यापक क्षमतावान्, सञ्चार सम्पर्क राख्न सक्ने, सम्झाउन र फकाउन सक्ने, आवश्यक पर्दा निरंकुश हुन पनि तयार व्यक्तित्व भएको चाहिन्छ । त्यसो हुँदा विद्यालय सुधारमा आशा गरे झैँ उपलब्धी हासिल हुन्छ ।

आन्दोलनपछि ८ नं वडा कार्यालयमा आयोजित छलफल ।

गाउँपालिका अध्यक्षको बोल्ड एक्सन !
एक महिनाअघि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती उपाध्यक्ष सीता पुलामी, शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटा, वडाध्यक्षसहित लिएर आकस्मिक अनुगमनमा पुगेका थिए ।

अनुगमनका क्रममा महेन्द्र किरण माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीहरुलाई आकस्मिक बोलाइएको थियो । अनुगमनका क्रममा थुप्रै कमजोरीहरु केलाइएको थियो । मुलतः राजनीतिक नेतृत्वले शिक्षाको सुधारमा ध्यान दिनुपर्ने आवश्यकता मात्र नभई स्थानीय तहको निर्वाचनको बेला अध्यक्ष कालाखेतीसहितको गठबन्धनले शिक्षा, कृषि, स्वास्थ्यको सुधारका लागि ध्यान दिने प्रतिबद्धता जनाएको थियो ।

आफ्नै वडामा, आफै अध्ययन गरेको विद्यालय अध्यक्ष कालाखेतीको तारो बन्यो । आफ्नै वडामा आफै पढेको र आफ्नै समर्थक मानिएका प्रधानाध्यापकलाई नै राजीनामा गराएर कालाखेतीले शैक्षिक सुधारको बाटो खोलेको बुझ्न सकिन्छ । आफ्नै मान्छेलाई हटाएर भए पनि विद्यालय सुधारका लागि भएको यो सह्रानीय कामको प्रशंसा गर्न पनि हतार हुनेछ, कि नयाँ आउनेले के कसरी काम अघि बढाउँछ भन्ने हेर्न बाँकी नै छ । किनकी, यसअघिका प्रधानाध्यापक मण्डलले जति पनि कार्यसम्पादन गर्न सक्ने हैसियतका मान्छे प्रधानाध्यापक बने भने कालाखेती नेतृत्वको कार्यपालिका र सिंगो टिमको बेइज्जत बाहेक केही हुने छैन ।

त्यसैले महेन्द्र किरण माविको यो घटना र एक्सनबाट अब अरु सामुदायिक विद्यालयले पनि सिकून कि, शैक्षिक प्रतिफल आएन भने गाउँपालिका अध्यक्षले जुनसुकै बेला जोकोहीलाई जिम्मेवारीमुक्त गर्नेछन् । यो बोल्ड एक्सनमा मूलतः अभिभावकहरुको आन्दोलनको मुख्य भूमिका रहेको छ । महेन्द्रकिरणमा जागेको अभिभावकहरु झैँ अब मनहरी गाउँपालिकाका ३२ वटै सामुदायिक विद्यालयहरुमा अभिभावकहरु जाग्न जरुरी छ, र उनीहरु सेलाउनु कदापि हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here