३३ बर्ष अघि दैलेखमा ‘कुकुर कामी’ र ‘कुकुरनी कामी’ को नाममा नागरिकता दिलाइएको घटनाले राष्ट्रिय बहस पाएसँगै गृहमन्त्रालयले ती नागरिकता सच्याउन सहजीकरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई सचेत पारेको छ ।

कुरा दैलेखको मात्र होइन, मकवानपुरमा पनि यस्ता घटनाहरु ब्यापक रुपमा भएको पाइएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत रहनु भएको चेपाङ अगुवा सन्तबहादुर चेपाङ (प्रजा) ले चेपाङ समुदायको नागरिकता बितरण गर्दा त्यस्तै अपमानजनक नामहरु राखेर बितरण गरिएको पाइएको बताउनु भएको छ ।

जन आस्थासँग कुरा गर्दै राज्यमन्त्री सन्तबहादुरले नागरिकतामै नाम किदाङ (तामाङ भाषामा गुहुघारी) प्रजा राखिएको समेत आफैले फेला पारेको सुनाउनुभयो । उहाँले बिकेश चेपाङ हुनुपर्नेमा अघिल्लो अक्षर ‘बि’ हटाएर ‘चि’ राखेर नाम उल्लेख गरिएको, पिउराम चेपाङलाई बीउराम बनाइएको जस्ता घटनाहरु मकवानपुरको चेपाङ समुदायमा छ्यापछ्याप्ती रहेको बताउनुभयो ।

चेपाङ समुदायमा पुस्तौंदेखि नागरिकता नभएका बेला नेपाल चेपाङ संघको अगुवाई र पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले टोली खटाएर २०६४ को संविधानसभा चुुनावअघि नागरिकता अभियान चलाएको थियो । सो क्रममा पनि नाममा कयौँ गल्ती कमजोरीहरु भएको अर्का चेपाङ नेता एबम् आदिबासी जनजाति महासंघ मकवानपुरका कोषाध्यक्ष खेमबहादुर चेपाङले बताउनुभयो ।

‘मैले गाउँमा कुई (प्रजा) चेपाङ, सार्की चेपाङ (प्रजा), कामी चेपाङ (प्रजा) जस्ता नामहरुमा नागरिकता लिएको फेला पारेको छु ।’, खेमबहादुरले भने–‘कुई भनेको चेपाङ भाषामा कुकुर हो । दैलेखमा भेटिएको कुकुर कामी नामको नागरिकता र मकवानपुरमा बितरित ‘कुई प्रजा (चेपाङ) को कुरा एउटै होइन र ?’, उहाँले प्रतिप्रश्न गर्नुभयो ।

आफू नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष भएका बेला नागरिकता टोलीमा आफ्नो समुदायको सहजीकरणका लागि सहभागी हुँदा आँखै अगाडि ‘चाकमाया प्रजा’ नामको नागरिकता बितरण भएको पाइएको खेमबहादुरले सुनाउनुभयो । ‘नागरिकता बितरण गर्ने कर्मचारीले ‘चाकमाया प्रजा’ भनेर बोलाउँदा सबै गलल्ल हाँसे’, खेमबहादुरले ती दिन सम्झँदै भन्नुभयोे–‘नागरिकता पाएको खुसीमा हाँस्नुपर्ने ती महिला कालो निलो भएर नागरिकता थाप्न अपमानित भएर कर्मचारी नजिक पुगेकी थिइन् ।’

नेवारी समुदायमा झैँ ‘त’ लाई ‘ट’ भनेर उच्चारण गर्ने चेपाङ समुदायमा बोली, भाषाशैली र जान्नेमान्नेहरुले भनेकै कुरालाई समर्थन गर्ने चलनले गर्दा जान्नेसुन्नेहरुले राखेकै नाम सहनुपरेको राज्यमन्त्री चेपाङको अनुभव छ । ‘धनीमानी र जानेबुझेका त्यतिखेरका कर्मचारीहरुले जे नाम राखिदिए, त्यही नै कायम भयो’, उहाँको भनाई छ ।

त्यसो त चेपाङ भाषामा राखिएका नामहरुलाई गैरचेपाङले उल्टापुल्टा पार्नेगरेको बताइन्छ । राज्यमन्त्री सन्तबहादुरकै वडामा २०४४ सालमा बनाइएको एउटा नागरिकतामा नाम छ–‘पिलो प्रजा (चेपाङ)’ चेपाङ भाषामा पिलोक भनेर सिफारिस भएको नाम रहेछ त्यो । पिलोकको अर्थ डल्ले, पुड्के अथवा कम उचाई भएको मानिस भन्ने बुझिन्छ । तर, ‘पिलोक’ को अन्त्यमा लागेको ‘क’ हटाएर पिलो मात्र राखिएको छ । पिलो मानिसको शरीरमा अक्सर अफ्ठ्यारो ठाउँमा आउने एकप्रकारको दुःख दिने घाउ हो ।

राक्सिराङ गाउँपालिका ८ नं वडामा २०७९ बैशाख ३० गते भएको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित चेपाङ नेताको नाम हो– युसाई प्रजा । चेपाङ भाषामा ‘यु’ को अर्थ मुसा र ‘साई’ को अर्थ गेडा भन्ने हुन्छ ।

चेपाङ समुदायले मुसासँग सम्बन्धित रहेर हेपेर बोलाउने नाम हो त्यो । तर, जान्नेमान्नेहरुले उबेला नागरिकता लिने क्रममा त्यही नाममा दिलाए । ‘अहिले मलाई राजनीति र सामाजिक काममा लाग्दै गर्दा आफ्नै नामले निराश बनाउँछ’, वडाध्यक्ष युसाईले आफ्नो ब्यथा सुनाउनुभयो ।

नामकै कारण आफू समाजमा हेलमेल गर्ने र अगुवाई गर्ने अबस्थामा नरहेको र अहिले मात्रै बाध्यताले चुनाव लड्नुपरेको उहाँले सुनुाउनुभयो । सरकारले नाम फेर्न र सच्याउने व्यवस्था गरेमा आफू नाम सच्याउन तयार रहेको उहाँले बताउनुभयो । ‘यस बिषयमा सिडिओसँग कुराकानी गरेर अघि बढ्नुपर्छ, म जतिसक्दो चाँडो यो नाम सच्याउन चाहन्छु’, वडाध्यक्ष युसाईले भन्नुभयो ।

दैलेखमा कुकुर कामीको नाममा नागरिकता दिएको पुरानो घटनालाई यतिखेर राष्ट्रिय मिडियाहरुले ‘स्कुप’ समाचार बनाएपछि राष्ट्रिय बहसको बिषय बनेको हो । गृहमन्त्रालयका प्रबक्ता फणिन्द्र नेपालले बिज्ञप्ती प्रकाशन गरेर सबै जिल्ला प्रशासन कार्यालयहरुलाई अपमानजनक नाम राखेर नागरिकता जारी नगर्न निर्देशन दिएका छन् ।

सोही बिज्ञप्तीको दोस्रो नं बुँदामा त्यसरी अपमानजनक नाम थर राखेर दिलाइएको नागरिकता सच्याउन नागरिकतावालाले चाहेमा प्रक्रिया अनुसार सहजीकरण गरिदिन पनि अर्काे निर्देशन छ ।

यी र यस्ता घटनाहरुले आगामी दिनमा नागरिकता बितरण गर्दा कर्मचारीहरु बढी सचेत र होसियार हुनुपर्ने देखिन्छ । किनकी दुरदराजका मानिसहरुलाई नाम होइन, नागरिकता चाहिएको छ । नाममा उतिसारो ध्यान नदिने दर्जनौ उदाहरणहरु गाउँसमाजमा छरपस्ट छन् ।

(जन आस्था साप्ताहिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here