मनहरी–असार १ गते । यसअघि निष्क्रियजस्तै बनेको बिपद् व्यवस्थापन समितिको वडा तहको संरचनालाई सक्रिय बनाइने भएको छ । मनहरी गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ९ वटै वडामा वडाध्यक्षको नेतृत्वमा सरोकारवाला निकायहरु सदस्य रहने समितिलाई पुनर्गठन गरी सक्रिय बनाउने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष एबम् विपद् व्यवस्थापन समितिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा बसेको बैठकले बिपद्का बेला आश्रय लिन मिल्ने सुरक्षित स्थानहरुको पहिचान गरी गाउँपालिकास्तरीय समितिमा पठाउन पनि सबै वडास्तरीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ । त्यसैगरी वडास्तरमा आवश्यक पर्ने बिपद् न्यूनिकरणका लागि सुरक्षा सामग्री र उपकरणहरुको माग गर्न समेत वडास्तरीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले मनहरी गाउँपालिका ९ स्थित जंगलेश्वर महादेव मन्दिर छेउबाट राप्ती नदिले कटान गरी मनहरी ९ को ज्यामिरे र ८ को सिमपानीका बस्तीहरुमा नदीको पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा थुप्रिएको ग्रेवल निकालेर स्टोर गर्नका लागि जिल्लास्तरीय बिपद् व्यवस्थापन समितिलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी मनहरीको स्वास्थ्य सेवाको सुधारका बारेमा समेत छलफल भएको थियो । बिपद्का बेला महामारी आउन सक्ने भएकाले त्यसबेला स्वास्थ्य संस्थाको सुदृढ अबस्था निर्माणका लागि छलफल भएको थियो ।

बैठकमा उपाध्यक्ष सीता पुलामी मगर, वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल, २ का वडाध्यक्ष राजकुमार पाख्रीन, ४ का वडाध्यक्ष प्रकाश थापा, ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारी, ७ का वडाध्यक्ष ठाकुरराम तितुङ, ८ का वडाध्यक्ष नारायण उप्रेती र ९ वडाध्यक्ष् राजकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यपालिका सदस्यहरु तथा इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रकाश थापा, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति नारायण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखा सभापति नुरोजकुमार पौडेल, सञ्चारकर्मी शिवकुमार काशी लगायतको सहभागिता रहेको थियो । समितिका सदस्य सचिव टिकाराम अधिकारीले बैठकको सहजीकरण गर्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार पौडेलले बिषयस्तुहरुबारे जानकारी गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here