राक्सिराङ–जेठ २९ गते । राक्सिराङ गाउँपालिकाले जेठ २९ गते दिनभर कार्यपालिका कार्यालयसँगैको गर्मागर्मी सभा हलमा एउटा गज्जवको अन्तरक्रिया कार्यक्रम ग¥यो ।

तत्कालीन खैराङ गाविसको अध्यक्ष समेत गन्ती गर्दा तेस्रो पटक स्थानीय सरकारको कार्यकारी नेतृत्व गरिरहनु भएका राजकुमार मल्लसँग लहरै बसिरहेका व्यक्तित्वहरु देखेर राक्सिराङलाई नजिकबाट हेरिरहेका स्थानीयबासिन्दा सशंकति मात्र थिएनन्, खुसी पनि देखिन्थे ।

छन त मञ्चमा नेपाली काँग्रेस राक्सिराङका सभापति बीरेन्द्र जिम्बा, नेकपा माओवादी केन्द्रका अध्यक्ष हस्तबहादुर मुक्तान र नेकपा एकीकृत समाजवादीका ज्ञानेन्द्र तामाङदेखि भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा (चेपाङ) सहितका सरोकारवालाहरु देखिन्थे ।

तीमध्ये अध्यक्षको हैसियतमा रहनु भएका मल्ल र उपाध्यक्ष बनस्तम थिङ अनि २०७४ सालको निर्वाचनमा मल्लद्वारा अध्यक्षमा पराजित उम्मेदवार एबम् हालका नेकपा एमाले जिल्ला उपाध्यक्ष लालबहादुर थापा र भर्खरैको निर्वाचनमा अध्यक्षमै पराजित हुनु भएका अर्का नेता बाबुबाल स्याङ्तान एकै मञ्चमा देखिनु निकै दुर्लभ दृष्य थियो । र, यो राक्सिराङबासीका निम्ति गौरवको पनि कुरा थियो ।

सुझाव दिने क्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति समेत रहनु भएका थापाले भन्नुभयो–‘यसअघिको कार्यकालमा अध्यक्ष ज्यूसँग खै किन हो कुन्नि भेटै भएन ।’ थापाले यसो भनिरहँदा सहभागीहरु मुसुमुसु हाँसिरहेका पनि देखिन्थे । थापाले शिक्षा, स्वास्थ्य, सहकारी लगायतका बिषयहरुमा आफ्ना सुझावहरु राख्नुभयो । राक्सिराङका मान्छे भनेर मनहरी र हेटौँडाले हेप्ने गरेको सम्झँदै थापाले अब समुन्नत र समृद्ध राक्सिराङ निर्माण गरी कसैले हेप्न नसक्ने गाउँपालिका बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो–‘हामी सबैको जोडबलले राक्सिराङको समृद्धि सम्भव छ र सहकारीको माध्यमबाट साबिक सरिखेतमा मात्रै होइन, साबिक खैराङ, काँकडा र राक्सिराङमा पनि रोजगारी सिर्जना गर्ने र गरिवी भगाउने काम अघि बढाउनुपर्छ ।’

त्यसो त स्वागत मन्तब्य राख्दै उपाध्यक्ष थिङले बिगतमा जस्तो जबरजस्ती आलोचना गर्नुपर्ने बाध्यात्मक परिस्थिति बर्तमान राक्सिराङ सरकारले सिर्जना नगर्ने बताउनुभयो । यसअघि मल्लका कडा आलोचक मानिनु भएका थिङ बागमती प्रदेशस्तरीय राजनीतिक निर्णयबाट बनेको माओवादी र काँग्रेसको गठबन्धन हुँदा मल्ललाई अध्यक्ष मान्न तयार भएर उपाध्यक्षमा अघि सरेका युवा नेता हुनुहुन्छ ।

अघिल्लो कार्यकालमा मल्लका पाइला पाइलामा खबरदारी गर्नु भएका थिङले स्वागत मन्तब्य राख्दै भन्नुभयो–‘हामी अब साझा छौँ, मैले दलको चश्मा खोलेर राक्सिराङका गरिव जनता सम्झेर सेवा गर्ने कम्मर कसेर आएको छु, मलाई लाग्छ अध्यक्ष र वडाध्यक्षहरुले पनि दलीय चश्मा खोलेरै आउनु भएको होला ।’ उहाँले दलको चश्मा खोल्न बाँकी रहेको भए खोल्न पनि आग्रह गर्नुभयो ।

राक्सिराङको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि अघिल्लो ५ बर्ष योगदान गर्नु भएका र भर्खरैको चुनावमा मल्लसँग एमालेका तर्फबाट प्रत्यासी बन्नु भएका बाबुलाल स्याङ्तानले पनि आगामी दिनमा राक्सिराङको विकासका लागि सबैको योगदान र सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बिषयगत र शाखागत सुझावहरु समेत दिनुभयो ।

अध्यक्ष मल्लले सबै पक्षका सरोकारवालाहरुबाट प्राप्त भएका सुझावहरुलाई कार्यपालिका बैठकमा प्रस्तुत गर्ने र नीति तथा कार्यक्रममा राखिने बताउनुभयो । ‘हामी सबैको साझा उद्देश्य भनेको राक्सिराङलाई विकास गर्नु नै हो’, अध्यक्ष मल्लले भन्नुभयो–‘सबै राजनीतिक दल र सहयात्रीहरुको सल्लाह र सुझावलाई मनन् गर्दै विवाद नगरीकन अबको पाँच बर्ष पनि राजनीतिक समझदारीका साथ हामी अघि बढ्छौँ ।’

कार्यक्रममा काँग्रेसका जिम्बा, माओवादीका मुक्तान, समाजवादीका तामाङ लगायतले पनि आफ्ना सुझावसहित हातेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिनु भएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनले बाध्यकारी व्यवस्था नगरे पनि सरोकारवालासँग छलफल गरी सुझाव मागेर जाँदा राम्रो नीति तथा कार्यक्रम र बजेट निर्माण हुने र सबै पक्षले अपनत्व समेत लिने भएकाले बृह्त रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौलाले बताउनुभयो ।

आपसी खिचातानी, अस्वस्थ आलोचना र द्वन्द्वमा अल्झनुभन्दा राक्सिराङका अगुवा नेता तथा सामाजिक रुपान्तरणमा योगदान गरेका सरोकारवालाबीच संयुक्त छलफल र अन्तरक्रिया गरी समाधान निकाल्ने सामूहिक प्रतिबद्धता जनाउने बिषयले पक्कै पनि समृद्ध राक्सिराङको यात्रा अघि सर्ने विश्वास गरिन्छ । तर, पुनः दलीय स्वार्थभन्दा माथि उठ्न सकिएन भने समृद्धिको यात्रामा अबरुद्ध हुने कुरालाई नकार्न सकिन्न ।

कस्ता कस्ता उठे सबाल ?
अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रबाट अनेक अनेक सुझावहरु आएका छन् । सहकारीमा लगानी, मर्जर प्रक्रिया र सहकारीको कार्य क्षेत्र बिस्तार गरी गरिवी निवारण र रोजगारीको सिर्जना गर्नुपर्ने सुझाव सहकारीकर्मी दिनेश चेपाङ, इशा दोङ, लालबहादुर थापा लगायतबाट आएको थियो ।

त्यसैगरी बिपद् व्यवस्थापनका लागि दरिलो स्वयम् सेवक टिम बन्नुपर्ने र विपद व्यवस्थापनका सामग्रीहरुको जोहो हुनुपर्ने कुरा नेपाल रेडक्रस सोसाइटी सरिखेत शाखाका सभापति चित्रबहादुर थिङले उठाउनुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ केन्द्रीय सदस्य बद्री देवकोटाले राक्सिराङबासीले स्वस्छ खानेपानी र सुलभ शौचालयको सुविधा पाउने गरी रणनीतिक योजना बनाउनुपर्ने बताउनुभयो ।

चेपाङ अधिकारकर्मी बिशुमान चेपाङले राक्सिराङका चेपाङ अगुवा बासुकी चेपाङ भविष्यबेत्ता भएको र उहाँले गरेको भविष्यबाणी पूरा भइरहेको स्मरण गर्दै उहाँको शालिक निर्माण गर्नुपर्ने र चेपाङका खाद्य परिकारको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । देवकुमार प्रजाले स्थानीय पाठ्यक्रमको काम राम्रो भएकाले यसलाई अझ राम्रो बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

सूर्याेदय माविका प्रधानाध्यापक सीताराम सुवेदीले नियमित प्रधानाध्यापक बैठक र अतिरिक्त क्रियाकलापहरुमा जोड दिनुपर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघका केशव भारतीले सामुदायिक वन उपभोक्ता समूहलाई बलियो बनाएर चिउरी मिलको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

राडो नेपालका दीपेन्द्र पाठक (पुष्प पराग) ले बालमैत्री गाउँपालिका घोषणा गर्ने कार्यक्रमलाई अघि बढाउन सुझाव दिनुभयो । खेलकुद विकास समिति अध्यक्ष सन्तोष थापाले खेलकुद गतिविधिलाई अझ राम्रो बनाएर अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सरिखेत उपशाखा सभापति चित्रबहादुर थिङ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य बद्री देवकोटा, चेपाङ अधिकारकर्मी बिशुमान चेपाङ, समुन्नत नेपालका फिल्ड संयोजक देवकुमार प्रजा, सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ अध्यक्ष केशव भारती, राडो नेपालका दीपेन्द्र पाठक, खेलकुद विकास समितिका सदस्य सन्तोष थापा, स्थानीय व्यवसायी रुद्र मुक्तान, निरमाया मुक्तान, राधाकृष्ण बर्ताैला, इशा दोङ, देव लामा, दीपक घलान, राधाकृष्ण बर्तौला, पूर्णबहादुर प्रजा, रामप्रसाद साह, दिनेश चेपाङ, काजीराम मुक्तान लगायतले रोजगारी, सहकारी, वन, वातावरण, सामाजिक विकास, सडक, स्वास्थ्य, शिक्षा लगायतका बिषयहरुमा सुझाव दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here