मनहरी–बैशाख ३० गते । स्थानीय तहको निर्वाचन अन्तर्गत आज बैशाख ३० गते मनहरी गाउँपालिकामा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ ।
मनहरी गाउँपालिकाका ९ वटै वडामा शान्तिपूर्ण वातावरणमा मतदान भएको निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले बताउनुभयो ।
३ नं वडासहित केही वडाहरुमा साँझ ६ बजेसम्म पनि मतदान जारी छ ।
५ बजेभित्र मतदानका लागि लाइनमा बसेका मतदाताहरुलाई ढिलो भए पनि मतदान अधिकार दिइएको हो । अधिकृत दर्जीका अनुसार ७० प्रतिशतभन्दा बढी मत मनहरी गाउँपालिकाका सबै मतदान केन्द्रहरुमा खसेको छ । यद्यपि पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।
उहाँका अनुसार आज शुक्रबार साँझ बस्ने सर्बदलीय बैठकपछि मतगणना कार्य अघि बढ्नेछ । अहिले मतपेटिका मनहरी ३ लामिटारस्थित मनहरी गाउँपालिकाको सभाहलमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पु¥याउने काम भइरहेको छ ।
मतदान कार्यलाई व्यवस्थित बनाउनका लागि बिजुली, इन्टरनेटसहितका अन्य पूर्वाधारहरुको व्यवस्थापन भइसकेको सहायक निर्वाचन अधिकृत एबम् मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।