मनहरी–बैशाख २७ गते । मनहरी गाउँपालिकाले गत बर्ष कोभिड १९ नियन्त्रणका लागि आफ्ना स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त समयमा खटाएबापतको भत्ता अझै दिन सकेको छैन ।

भत्ता उपलब्ध नगराउने नियत देखिएपछि मनहरी अस्पतालसहित ९ वटै वडाका स्वास्थ्यकर्मीहरु आक्रोशित भई गाउँपालिकामा आन्दोलनमा होमिएका थिए ।

आन्दोलनले दबाब सिर्जना गरेपछि बसेको कार्यपालिका बैठकले कार्यविधि निर्माण गरेर कोभिड भत्ता दिलाउने तयारी गरेको थियो । तर, पनि जनप्रतिनिधिहरु राजीनामा दिएर निर्वाचनमा सहभागी भई नयाँ जनप्रतिनिधिहरु आउने बेला भइसक्दा समेत भत्ता नपाइएको गुनासो स्वास्थ्यकर्मीहरुले गरेका छन् । मनहरीमा स्वास्थ्य संस्थाहरुमा काम गर्ने करारका डाक्टरसहित कर्मचारीहरु पनि भत्ता नपाईकनै सरुवा भएर गइसकेको अबस्था छ ।

भत्ता दिलाउनका लागि स्वास्थ्य शाखाले गर्नुपर्ने कामहरु समयमै नगरिदिएको, कार्यविधि निर्माणमा स्वास्थ्य शाखाले समयमै ध्यान नदिएको कारण ढिलाई भत्ता बितरणमा ढिलाई हुँदै गर्दा अहिलेसम्म स्वास्थ्यकर्मीहरु भत्ता पाउनबाट बन्चित हुनु परेको बताइएको छ । यद्यपि, पछिल्लो ७ महिनायता स्वास्थ्य शाखामा टिकाराम अधिकारीसहित ३ जना स्वास्थ्य प्राविधिकहरु प्रशासनिक कामका लागि काम गरिरहेका छन् ।

भत्ता बितरण गर्ने अन्तिम तयारी भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट केही उजुरीहरुबारे पत्रहरु आएकाले कोभिडबारे पनि छ कि भन्ने हिसाबले रोकिएको प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताउनुभयो । ‘निर्वाचनमा खटिनुपर्ने भएकाले पनि केही ढिलाई भइरहेको छ, हामी बितरणको अन्तिम तयारीमा छौँ’, प्रमुख श्रेष्ठले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here