मनहरी–बैशाख २७ गते । नेपाली काँग्रेस मनहरीका चुनावी कमाण्डर भरत पराजुलीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने बेला क्षणिक आवेशमा आएको र आवेगलाई नियन्त्रण समेत गरिएको बताउनु भएको छ ।
रेडियो मनहरी एफएमसँग कुराकानी गर्दै उहाँले बिगतमा नेतृत्वले दिएको आश्वासनको कार्यान्वयन नभएको र निरन्तर अन्यायमा पार्ने काम भएपछि नेपाली काँग्रेस (बिपी) बाट शंकर न्यौपानेलाई उम्मेदवार बनाएर अघि बढेको स्वीकार गर्नु भयो ।
उहाँले भन्नुभयो–‘जतिसुकै आबेगमा आएपनि पार्टी छाड्न सकिन्न, पार्टी छाडेर कहाँ जाने ?’ आबेगमा आएर नेपाली काँग्रेस (बिपी) बाट न्यौपानेलाई उम्मेदवार बनाउन आफू समर्थक रहेपनि काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहितका नेताहरुसँग बसेर गरिएको छलफलपछि उम्मेदवारी फिर्ता लिई गठबन्धनलाई सघाउने निधोमा पुगिएको उहाँले बताउनुभयो ।
पार्टीभित्र अन्याय भएको बिषयमा पार्टीभित्रै छलफल भएपछि मनहरी काँग्रेसमा अब कुनै समस्या नरहेको उहाँको भनाई थियो ।
बिगतमा पनि आफू चुनावी कमाण्डर नै भएर काम गरेको र अहिले पनि गठबन्धनलाई जिताउन सम्पूर्ण शक्ति लागिपरेको उहाँको भनाई थियो । ‘माओवादीसँग मिलेर चुनावी कार्यक्रमहरुलाई नियमित रुपमा लगिरहेका छौँ, मतदातालाई बुझाउने काम गर्दैछौँ ।’, उहाँले भन्नुभयो ।