हेटौँडा–बैशाख २२ गते । आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि शिक्षकहरुले पनि मतदान गर्ने पाउने भएका छन् ।

मकवानपुर जिल्लामा स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापनका लागि निजामति कर्मचारीले नै पुग्ने भएपछि शिक्षकलाई नखटाइने भएको छ ।

पहिलेको निर्वाचनमा मकवानपुरमा पर्याप्त निजामति कर्मचारीको संख्या नहुँदा शिक्षकलाई खटाइएको तर अहिले भने चाहिए भन्दा पनि धेरै सरकारी कर्मचारी भएका कारण निर्वाचनमा खटिनका लागि हानाथाप भएकोले शिक्षकलाई खटाउन नपर्ने भएको सहायक निर्वाचन अधिकृत सागर शर्माले बताउनुभयो ।

हेटौंडामा बागमती प्रदेशको बिभिन्न मन्त्रालय, निर्देशनालय र मातहतका कार्यालयहरु थपिएपछि त्यहाँ कार्यरत कर्मचारीहरु समेत गर्दा धेरै भएकाले सबै कर्मचारीहरु समेत खटाउन नपर्ने भएको उहाँले बताउनुभयो ।

मकवानपुर जिल्लामा एक सय ६५ वटा मतदान स्थलमा एक हजार ८ सय कर्मचारी पर्याप्त रहेको उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा ३ हजार ४ सय जना सरकारी कर्मचारी कार्यरत रहेको र अझै एक हजार ६ सय कर्मचारी मौजदात रहेको पनि उहाँले बताउनुभयो ।

कर्मचारी पर्याप्त भएका कारण पनि यस पटकको स्थानीय तहको चुनावमा शिक्षकहरुलाई नखटाइने भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्मचारी अपुग भएपछी शिक्षकलाई पनि खटाउनेगरी तयारी भएको तर, भएका सबै कर्मचारीलाई पनि नखटाउने भएपछी शिक्षकहरुलाई यस पटक नखटाउने भएको सहायक निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here