मनहरी–बैशाख २२ गते । २०५४ सालमा कम उमेरमै खैराङ गाविसको अध्यक्ष बनिसकेका राजकुमार मल्ल खैराङसहित ४ वटा गाविस जोडिएर बनेको राक्सिराङ गाउँपालिकामा पाँच बर्षअघि अध्यक्ष बनेपछि एकाएक चर्चामा आउनुभयो । कार्यपालिकामा बहुमतमा रहेका मल्लको पाँचबर्षे कार्यकालमा कर्मचारी व्यवस्थापन, योजना तर्जुमा तरिका, कार्यकर्ताको संरक्षण, बिपक्षीसँगको मित्रवत् व्यवहार र कुटनीतिक व्यवहार प्रशंसनीय मानिन्छ । यसो हुँदा मल्लबारे कसैले पनि प्रश्न उठाउँदैनथे । बाह्य रुपमा आलोचना भएपनि मल्लसँग आँखा जुधाएर सीधा कुरा गर्ने र आलोचना गर्ने एकाध मानिसहरु मात्रै थिए, ती मध्ये प्रमुख हुन्–नेकपा माओवादी केन्द्रका नेता बनस्तम थिङ

यतिसम्म भयो कि, सामाजिक सञ्जालहरुमा अध्यक्ष मल्ल र थिङको बाझाबाझ नै हुने गथ्र्याे । कतिपय बैठक र सार्बजनिक सभाहरुमा समेत थिङले मल्लको आलोचना गर्दा माहोल नै अर्कै बन्ने गथ्र्याे । यद्यपि, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने कुरालाई यी दुई पात्रले चरितार्थ गर्दैछन् राक्सिराङ गाउँपालिकामा । कारण हो–माओवादी र काँग्रेस गठबन्धन । गठबन्धनबाट पुनः अध्यक्षकै अबसर काँग्रेसले मल्ललाई दिलाएको छ भने उपाध्यक्षमा माओवादीबाट थिङ अघि बढ्नु भएको छ । प्रस्तुत छ थिङसँग मनहरी लाइभ डटकमले गरेको रोचक कुराकानी ।

–राजकुमार मल्ल र तपाईको जोडी बनेको देखेर मान्छेहरु अचम्ममा छन् नि ?
केही अचम्म मान्नुपर्दैन । राजनीतिमा यस्तो हुन्छ । हामीहरुको व्यक्तिगत कुरा के नै छ र ? समाज विकासका लागि आफ्नो क्षमता, स्रोत साधनका आधारमा राम्रो गरौँ भन्ने भावना भएका मान्छे हौँ दुबैजना ।

–अनि बिगतमा मल्लको निकै आलोचक हुनुहुन्थ्यो त ?
म मल्ल ज्यूको आलोचक होइन, कामको आलोचक हुँ । कतिपय कामहरु सही भएनन् भनेर मैले उहाँलाई सचेत गराएको हुँ । भेटेर, बोलेर, लेखेर सँधैभरि मैले उहाँलाई गलत बाटोमा जानबाट खबरदारी गरेको हुँ । यसलाई व्यक्तिगत रुपमा बुझ्नु हुँदैन ।

–उसो भए तपाईहरुबीच एकापसमा विश्वास र हार्दिकता छ ?
सँधैभरि हार्दिकता छ । हामीलाई नकारात्मक रुपमा नहेरिदिनुस् । काममा सिर्जनशिलता, एकापसमा सहयोग, सद्भावनाका साथ हामी अघि बढ्दैछौँ ।

–अब गठबन्धनबाट तपाईहरु दुबै जनाले चुनाव जितेर एकसाथ सहज रुपमा काम गर्न सक्ने अबस्था हुन्छ ?
शतप्रतिशत सही ढंगले टिममा रहेर काम गर्छाैं । किनभने अध्यक्ष मल्ल पनि केही न केही काम गरौँ भनेर उत्साहित हुने नेता हुनुहुन्छ । उहाँको बिगत हेर्ने हो पनि त्यो देखिन्छ । उहाँमा विकासप्रतिको भोक देखेको छु मैले । उहाँलाई गतिलो दरिलो सहयात्रीको रुपमा म आउनेछु । राक्सिराङबासीले समृद्ध राक्सिराङ निर्माणका लागि मेरो र उहाँको एकता होस् भन्ने चाहेका थिए, अहिले त्यो पूरा भएको छ । अध्यक्ष मल्ल म मिल्दा आम मतदाता खुसी पनि छन् । त्यसैले अब राक्सिराङको विकास, समृद्धि र समुन्नतिमा हामीहरुको साझेरिता सदैब रहन्छ ।

–गठबन्धनले चुनाव जित्छ राक्सिराङमा ?
नजित्ने कुरै छैन । हामी २ वटै पार्टीका कार्यकर्ता र मतदाताहरुलाई प्रशिक्षित गराइरहेका छौँ । के कति कारणले आज बनस्तम थिङ र राजकुमार मल्ल मात्र होइन नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस एक ठाउँमा उभिनुपर्ने अबस्था आयो भन्ने कुरा बुझाउँदैछौँ ।

–तर मान्छेले त सिद्धान्तै नमिल्ने पार्टीसँग गठबन्धन भयो भनेर आलोचना गरिरहेका छन् त ?
हो । आलोचना छ । तर, तपाई के बुझ्नुस् भने जब देशलाई अफ्ठ्यारो पर्छ त्यतिखेर माओवादी र काँग्रेस मिलेको उदाहरण छ । शान्ति प्रक्रियादेखि नयाँ संविधान निर्माण गर्न, नयाँ संविधान भत्काउन चाहनेहरुका सपना पूरा हुन नदिन हामी एकै ठाउँमा उभिएका छौँ । त्यसैले अहिले गठबन्धन हामी कसैको पनि रहर होइन । हामी एउटा अराजनीतिक कोर्षलाई अन्त्य गर्नका लागि काँग्रेससँग उभिएका छौँ ।

–अनि नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलहरुको पनि त राक्सिराङको विकास, समृद्धि र समुन्नतिका लागि साथ र सहयोग चाहिएला नि ?
हो चाहिन्छ । हामी उहाँहरुलाई पनि साथै लिएर अघि बढ्छौँ । कतिपय दलहरुलाई त अहिले नै गठबन्धनलाई साथ दिएर जाऔँ भनेका छौँ । उम्मेदवारी फिर्ता लिएको घोषणा गरेर गठबन्धनलाई साथ दिएर जाँदा राम्रो सन्देश जान्छ भनेका छौँ । उहाँहरुको उम्मेदवारी कायमै रहेपनि हामी निर्वाचनमा जीत हासिल गर्छाैं । सरकार संचालनका क्रममा सबैको अस्तित्वलाई स्वीकार गरेरै अघि बढ्छौँ । राक्सिराङको विकास, समृद्धि र समुन्नति हामी सबैको साझा काम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here