मनहरी–बैशाख २२ गते । पश्चिम मकवानपुरका तीनवटा गाउँपालिका कैलाश, राक्सिराङ र मनहरीको नेतृत्व लिनका लागि तीनैवटा पालिकाका निबर्तमान अध्यक्षहरु अघि सरेका छन् । राजनीतिमा पुस्ता हस्तान्तरणको जति नै बहस हुने गरेपनि अनेक बहानामा पुरानै अनुहार दोहोरिन चाहेको देखिन्छ ।

कैलाश गाउँपालिका निबर्तमान अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङका निवर्तमान अध्यक्ष राजकुमार मल्ल र मनहरीका निवर्तमान अध्यक्ष एकराज उप्रेती पुनः चुनावी मैदानमा उत्रिनु भएको हो । तर, उहाँहरुको उम्मेदवारी ५ बर्षअघिको जस्तो परिस्थितिमा छैन । तत्कालीन नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित टंकबहादुर मुक्तान यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्नु भएको छ । कैलाशमा एमालेबाट यसपटक नरेन्द्रलाल रिजाल अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

५ बर्षअघि मुक्तान एमालेबाट र रिजाल माओवादीबाट प्रतिस्पर्धी हुनुहुन्थ्यो । अदालतको आदेशपछि नेपाल कम्युनिष्ट पार्टी फुटेर पुनः एमाले, माओवादी र समाजवादी गठन भएसँगै मुक्तान समाजवादीतिर लागे भने जीवनभर जनमुखी कार्यकर्ता र जनमोर्चा हुँदै माओवादी बन्नु भएका रिजालले माओवादी केन्द्र परित्याग गरी ३ महिनाअघि एमाले बन्न पुगे । अर्काे रोचक प्रसंग के हो भने ५ बर्षअघि स्थानीय तहको चुनावका प्रतिस्पर्धीहरु नै यसपटक पुनः प्रतिस्पर्धामा आए । काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका लोकबहादुर मुक्तान अध्यक्षका उम्मेदवार हुँदा फेरि पुरानै प्रतिस्पर्धी टंकबहादुर मुक्तान, नरेन्द्रलाल रिजाल र लोकबहादुर मुक्तानबीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनको प्रभावकारी कार्यान्वयन हुँदा काँग्रेस–माओवादी गठबन्धनले सफलता पाउने निश्चित छ । तर, गठबन्धनको कत्तिको मजबुती छ भन्ने कुराले परिणामा अर्थ राख्ने नेताहरु बताउँछन् ।

यता राक्सिराङमा निबर्तमान अध्यक्ष राजकुमार मल्लले आफूसँगै कार्यपालिकामा काम गरेका युवासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । पुनः अध्यक्ष हुने तयारीका साथ दौडधूपमा लाग्नु भएका नेपाली काँग्रेसका मल्ल माओवादीसहितको गठबन्धनका बलिया उम्मेदवार हुनुहुन्छ । उहाँलाई टक्कर दिने उनकै निबर्तमान कार्यपालिका सहयात्री एबम् ३ नं वडाध्यक्ष बाबुलाल स्याङ्तान हुनुहुन्छ । एकल उम्मेदवारी दिएको एमालेले गठबन्धनलाई टक्कर दिन खोजेको छ । यद्यपि, काँग्रेस–माओवादीको गठबन्धन बलियो र प्रभावकारी कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अन्यौलता राक्सिराङमा छ । उहाँहरुसँगै नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पनि कृष्णबहादुर चेपाङ उम्मेदवार हुनुहुन्छ । उहाँ २०५४ मा एमालेका तर्फबाट राक्सिराङ गाविस अध्यक्षमा निर्वाचित नेता हुनुहुन्छ ।

मनहरी गाउँपालिकामा पनि पुरानै अनुहार अर्थात २०७४ सालमा अध्यक्षमा निर्वाचित एकराज उप्रेतीले दोहोरिने दाउ गर्नु भएको छ । रुपचन्द्र बिष्टका आदर्शवाणी जनतालाई रोचक ढंगले सुनाउने गरेका उप्रेती एमालेकै तर्फबाट पुनः उम्मेदवार बन्नु भएको छ । त्यसो त २०७४ भन्दा यसपटक उाँलाई प्रतिकूल मानिएको छ ।

नेकपा एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) गठन भई छुट्टै उम्मेदवार खडा हुनु र त्यतिखेर दोस्रो र तेस्रो स्थान हासिल गरेका काँग्रेस र माओवादीको गठबन्धन हुनुले एमालेलाई मनहरीमा सकस देखिन्छ । तर, अधिकाँशको आशंका गठबन्धनको विश्वसनियतामाथि छ । त्यसो त नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा नारायण श्रेष्ठ अघि बढ्नु भएको छ ।

पार्टी फुटदेखि नै मनहरीमा श्रेष्ठ नेतृत्वका समाजवादी पार्टीको गतिविधि र संगठन बलियो मानिएको छ । मनहरीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here