नेकपा एमालेले योगदान गरेका व्यक्तिलाई अबसर नदिएको भन्दै गाउँ कार्यपालिका सदस्य पम्फा बस्नेत (रोक्का) ले स्वतन्त्र रुपमा मनहरी गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उम्मेदवारीका लागि उहाँले कार्यपालिका सदस्य पदबाट राजीनामा दिनु भएको छ भने नेकपा एमाले परित्यागको घोषणा समेत गर्नु भएको छ ।

मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै नेकपा एमाले मनहरी गाउँ कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघ मनहरी गाउँ कमिटी अध्यक्ष समेत रहनु भएकी रोक्काले एमालेमा चरम अबसरवादी हाबी भएको प्रतिक्रिया दिनुभयो । जातीयताको आधारमा राजनीति सुरु गरिएको र पैसाको चलखेल भएको भन्दै उहाँले मनहरी गाउँपालिकामा एमालेको उँधोमति सुरु भइसकेको समेत ठोकुवा गर्नुभयो । प्रस्तुत छ उहाँसँग गरिएकाु कुराकानीका आधारमा तयार पारिएको सामग्री ।

म पम्फा रोक्का, उमेर ३६ । जन्मजात नेकपा एमाले हुँ । माइतीपक्ष नै सबै एमाले पक्षधर हुन् । मैले जानेदेखि नै एमालेमै छु, एमालेमै रहेँ । १६ बर्षको उमेरदेखि नै संगठनमा आबद्ध रही यहाँसम्मको मेरो राजनीतिक यात्रा भयो । म हाँडीखोला गाउँ विकास समिति हुँदा एमालेको सहसचिव थिएँ भने गाउँपालिका निर्माण भइसकेपछि सचिवालय सदस्य हुँदै माओवादी र एमाले मिलेर बनेको नेकपामा समेत गाउँ कमिटी सचिवालय सदस्य थिएँ । २०७४ सालको निर्वाचनमा मैले ५ नं वडामा ५७७ मत पाएर महिला वडा सदस्यमा बिजय हासिल गरेको हुँ । पछि कार्यपालिका सदस्यमा भएको निर्वाचनमा पनि मैले २७ मत प्राप्त गरी जितेको थिएँ ।

५ बर्षको कार्यकाल निकै सकसपूर्ण रह्यो । खासगरी उपाध्यक्ष मनिला बिष्ट र अध्यक्ष एकराज उप्रेतीको टकराब सँधैभरि रहिरह्यो । त्यसरी टकराब बढ्दै जाँदा एउटा सिद्धान्तलाई मान्ने अभिभावकको रुपमा मैले अध्यक्ष उप्रेतीलाई सँधै साथ थिएँ । उप्रेतीमाथि आइपरेका हरेक संकटहरुमा म उभिएँ । उहाँमाथि बर्सिएका सयौँ प्रहारहरु मैले अघि सरेर छेकेँ । उपाध्यक्षले किन अध्यक्षलाई असजिलो बनाएको होला भनेर मैले सँधै डिफेन्स गरेँ । त्यसो गर्दा मैले के के गुमाएँ, गुमाएँ त्यो मलाई नै थाहा छ ।

तर, आज आएर थाहा भयो कि, ती सबै भ्रम रहेछन् । पार्टीले संकटमा उभिएको मान्छेलाई बोक्ला र पक्कै पनि अबसर देला भन्ने ठूलो आशा ममा थियो । तर, अबस्था त्यस्तो रहेन । बैशाख १० गते बिहानसम्म मैले उप्रतीलाई फोन गर्दा ‘तिम्रो र मेरोसँगै टिकट आउँछ, आत्तिनु हुँदैन’, भन्नुभयो । उल्टै ‘उहाँले तिम्रो नाउँमा टिकट आएन भने म पनि टिकट अस्वीकार गर्छु’ समेत भन्नुभयो । त्यसपछि एउटा अभिभावकले मलाई यत्तिको ढुक्क दिलाएपछि म पनि अन्यत्र लागिन । सोर्स, फोर्स, पैसाको चलखेल केही गर्न चाहिन र सक्दिन पनि । पछि पैसाको चलखेल राम्रै भयो भन्ने सुनियो । ‘पम्फा रोक्काले पैसा खर्च गर्न सक्दिनन् चुनावमा’ भन्नेहरु पनि रहेछन् ।

जातको कुरा पनि आयो । यही कुरा पाँच बर्षअघि त आएको थिएन । उप्रेती अध्यक्ष थिए, बिष्ट उपाध्यक्ष थिए । जनजाति चाहिएको थिएन । तर, मेरै हकमा यस्तो कुरा आयो । मैले उसो भए कार्यपालिका सदस्य गीता प्रजा हुनुहुन्थ्यो पनि भनेँ । त्यति मात्र नभएर साबिक मनहरीतर्फकै बिमला कार्की जस्ता सिनियर मान्छेलाई टिकट दिँदा पनि मन शान्त पार्ने ठाउँ हुन्थ्यो । अहिले म भन्दा जुनियर अनि एकापरिवार नै फरक फरक पार्टीमा रहेका ब्यक्तिले टिकट पाउनुभयो ।

र, यसरी निर्णय गरिरहँदा मलाई कसैले सम्पर्क गर्न चाहेनन् । अध्यक्षका उम्मेदवार उप्रेतीले समेत सम्झेनन् । अरु नेताहरु पनि तर्किएर हिँडे । केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना र जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई फोन गरेको थिएँ । श्रेष्ठले पनि भूगोल जनजाति मिलाउँदा यस्तो भने ।

मैले मौखिक रुपमा एमाले छाडेको घोषणा गरेँ । लिखित रुपमा पनि छाड्छु । मैले ५ बर्ष काम गर्दा धेरै अनुभव संगालेको छु । गर्न बाँकी कामहरु छन् । मलाई पार्टीगत मात्र नभई ब्यक्तिगत रुपमा पनि धेरैले साथ र सहयोग दिनेछन् । म स्वतन्त्र उम्मेदवार हुँदा पनि जितिन्छ भन्ने आँट छ । त्यसैले मैले स्वतन्त्र रुपमा उपाध्यक्षमा उम्मेदवारी दिँदैछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here