मनहरी–बैशाख ९ गते । जीवन जल र सिटामोलसहितका औषधीहरु समेत मनहरी अस्पतालमा नभएको समाचार प्रकाशन भएपछि मनहरी गाउँपालिका औषधी किन्न हतारिएको छ ।

औषधी खरिदका लागि बिहिबार ठेक्का आह्वान गरिएको स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताउनुभयो । ‘बिगतदेखि नै हामी तयारी अबस्थामा नै थियौँ’, अधिकारीले भन्नुभयो–‘२७ लाख रुपियाँको निःशुल्क औषधी किन्नेगरी ठेक्का आह्वान गरिएको छ ।

उहाँका अनुसार संघीय सरकारले पठाएको ससर्तको रकम र गाउँपालिकाद्वारा बिनियोजित रकम समेत जोडेर औषधी खरिद प्रक्रिया अघि बढेको हो । जीवन जल र सिटामोलको अत्यधिक माग हुने भएकाले पु¥याउन नसकिएको उहाँको भनाई छ । आर्थिक बर्ष सकिन ३ महिना बाँकी हुँदा समेत गाउँपालिकाले औषधी खरिद गरी जनतालाई निःशुल्क दिनुपर्ने औषधी दिन नसकेपछि चौतर्फी आलोचना भएको छ ।

कोरोना भत्ता अझै बेपत्ता !
मनहरी गाउँपालिकाका स्वास्थ्यकर्मी र सफाईकर्मीहरूले २०७७ सालदेखिको कोरोना जोखिम भत्ता अझै पाउन सकेका छैनन् ।

जोखिम भत्ता प्रदान गर्ने ब्यवस्था गाउँपालिकाले गरेपनि आफूहरुले नपाएपछि मनहरी अस्पतालसहित १० वटा स्वास्थ्य संस्थामा कार्यरत ५९ स्वास्थ्यकर्मीले गाउँपालिकामा आन्दोलन गरेका थिए । आन्दोलनपछि दबाब सिर्जना भई कार्यविधि निर्माण गरी भत्ता उपलब्ध गराउनका लागि कार्यपालिका बैठकले पारित गरेपनि हालसम्म भत्ता नपाएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

भत्ताका लागि स्वास्थ्य संस्थाबाट खटिएका कर्मचारीहरुको विवरण, हाजिरी लगायत कागजपत्रहरु गाउँपालिकाको स्वास्थ्य शाखामा बुझाउने काम भइसकेको बताइएको छ ।

तर पनि अझैसम्म भत्ता नपाउँदा कतिपय सरुवा भएर गएका कर्मचारीहरु समेत निराश भएर जानुपरेको बताइएको छ । मनहरी अस्पतालमा कोरोनाकालमा खटिएका दुईजना डाक्टरहरु भत्ता नलिइकनै सरुवा भइसक्नु भएको छ ।

जोखिम भत्ताका लागि सबै कागजपत्रहरु पेस भइसकेको र लेखाबाट भत्ता निकासा हुने क्रममा रहेको स्वास्थ्य संयोजक टिकाराम अधिकारीको भनाई छ । ‘सबै प्रक्रिया पूरा गरी फाइल लेखामा पुगेको छ, आजभोलिमा उहाँहरुको खातामा भत्ता पुग्छ ।’, अधिकारीले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here