मनहरी–बैशाख ७ गते । सरकारले निःशुल्क दिने भनिएको जीवन जल र सिटामोल समेत मनहरीका स्वास्थ्य संस्थाहरुमा उपलब्ध छैन भन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर, पालिकाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था मनहरी अस्पताल जानुस्, तपाईले निःशुल्क पाउनुपर्ने जीवन जल, सिटामोल (सिरप) पाउनुहुन्न ।

त्यसो त मनहरी अस्पतालमा तीन सातादेखि डाक्टर समेत उपस्थित छैनन् । अस्पतालमा सेवारत डाक्टर अन्जन जंग थापा २०७८ सालको चैत १६ गतेदेखि अस्पतालमा उपस्थित हुनुहुन्न । उहाँ सरुवा भएर काठमाडौँ जानु भएको बताइएको छ ।

सरकारले स्वास्थ्य केन्द्रहरुमा निःशुल्क उपलब्ध गराउने ७० थरीका औषधीहरुमा जीवन र सिटामोल पनि पर्छ । तर, सामान्य बिरामीले मनहरी अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरुबाट निःशुल्क जीवनजल नपाएको धेरै समय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मनहरी अस्पतालमा भने स्वास्थ्य बीमा गरेका बिरामीहरुले बीमामार्फत औषधीहरु पाइरहेका छन् ।

संघीय सरकारले स्वास्थ्य संस्थालाई उपलब्ध गराउने औषधीबापतको रकम स्थानीय सरकारको खातामा पठाउने गर्छ । संघीय सरकारले पठाएको रकम अपुग भए स्थानीय सरकारले आफैले थपेर पनि औषधी खरिद गरी आफू मातहतका स्वास्थ्य संस्थालाई उपलब्ध गराउनुपर्नेमा आएको रकम समेत कार्यान्वयन नभएको पाइएको छ । आर्थिक बर्षको सुरुवातमै ठेक्का प्रक्रियामार्फत औषधी खरिद गरी सम्बन्धित सबै स्वास्थ्य संस्थाहरुमा पठाउनुपर्नेमा मनहरी गाउँपालिकाले अहिलेसम्म औषधी खरिद गरी व्यवस्थापन गर्न सकेको छैन ।

आन्तरिक समस्याका कारण औषधी खरिदका लागि ठेक्का प्रक्रिया ढिलाई भएको स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताउनुभयो । ‘असोजमै ठेक्काको सूचना तयारी गरेको थिएँ’, अधिकारीले भन्नुभयो–‘त्यतिखेर हामीहरुकै आन्तरिक समस्याका कारण प्रक्रिया अघि बढ्न सकेन ।’

तुरुन्तै ठेक्का प्रक्रिया अघि बढ्ने पनि अधिकारीले जानकारी दिनुभयो । औषधी खरिद नहुँदा मनहरीका ९ वटै वडामा स्थापना भएका स्वास्थ्य इकाईहरुमा औषधी अभाव छ । औषधी नै नभएपछि स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवामा नकारात्मक असर पर्ने र बिरामीहरुले विश्वास गरेर स्वास्थ्य संस्थामा जाने वातावरण नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

मनहरी अस्पतालमा भने गत आर्थिक बर्ष खरिद गरिएको केही औषधीहरु स्टक रहेको सिनियर अहेव शिवराम बानियाँले बताउनुभयो । ‘अत्यावश्यक ठानिएको सिटामोल झोल र जीवन जल लगायतका निःशुल्क औषधीहरु नभए पनि ३० प्रतिशतजति निःशुल्क औषधीहरु अस्पतालमा छन्’, बानियाँले भन्नुभयो–‘स्वास्थ्य बीमा गरेका बिरामीहरु धेरै आउने भएकाले हामीले बीमामार्फत जीवन जल, सिटामोल र अन्य औषधीहरु व्यवस्थापन गरेका छौँ ।’

मनहरीमा ७ नं वडामा मनहरी अस्पताल छ भने ३ नं वडामा हाँडीखोला स्वास्थ्य चौकी रहेको छ । बाँकी सबै वडामा आधारभूत स्वास्थ्य इकाईहरु गाउँपालिकाले स्थापना गरी हरेक इकाइहरुमा ३ जना जनशक्ति व्यवस्थापन गरेको छ । तर, औषधी पर्याप्त उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुको काम प्रभावकारी बन्न नसकेको गुनासो आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here