मनहरी–बैशाख ७ गते । लामो समयदेखि नेपाली काँग्रेसका विभिन्न जिम्मेवारीमा रहनु भएका मनहरी ७ निबासी चन्द्रबहादुर पौडेलले नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएसँगै मनहरी गाउँपालिकाको उम्मेदवार बन्ने हुनु भएको छ ।

नेपाली काँग्रेसको केहीमहिना अघि भएको अधिबेसनमा जिल्ला उपसभापति पदमा उहाँ पराजित हुनु भएको थियो । २०७९ बैशाख ४ गते नेपाली काँग्रेस परित्याग गरी राप्रपा प्रबेश गर्नु भएका पौडेल आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत हुने तयारी भएको बताइएको छ । ‘अहिले नै निश्चित त भइसकेको छैन, तर अध्यक्षको उम्मेदवार बन्नेगरी आन्तरिक तयार थालेको छु’, पौडेलले भन्नुभयो ।

२०४८ सालमा नेपाली काँँग्रेसको क्रियाशिल सदस्य पाउनु भएका पौडेल अहिले मनकामना सामुदायिक वन उपभोक्ता समूह मनहरीको अध्यक्ष हुनुहुन्छ । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा मनहरी गाविस वडा नं ३ को वडाध्यक्षको उम्मेदवार रहनु भएको उहाँ २०४८ सालदेखि निरन्तर २०६४ सालसम्म पार्टीको वडा सभापतिको रुपमा क्रियाशील रहनु भएको थियो । २०७८ मा भएको काँग्रेस अधिबेसनमा बुथ प्रतिनिधि भई जिल्ला उपसभापतिमा प्यानल बिहिन भएर उहाँ निर्वाचनमा जाँदा ८२ मत हासिल गर्नु भएको थियो ।

गाउँ इकाई समितिको सभापति बन्न चाहनु भएका पौडेललाई पार्टीभित्र देउबा पक्ष र गैरदेउबापक्षबीचको लडाइँ हुँदा उम्मेदवार बन्नै बन्चित गरिएपछि उहाँ काँग्रेसबाट निराश बन्दै आइरहनु भएको बताइन्छ । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजेन्द्र लिङ्देन नेतृत्वमा नयाँ एजेण्डा र उर्जाका साथ आइरहेको र जनताको मन पनि जित्ने काम भइरहेकाले आफू राप्रपा प्रवेश गरेको पौडेलले बताउनुभयो । बैशाख ४ गते उहाँसँगै एमालेका बौतम लामासहितका मानिसहरु राप्रपा प्रबेश गर्नु भएको थियो ।

उहाँले मनहरी गाउँपालिकाको आगामी निर्बाचनमा अध्यक्षको उम्मेदवारको रुपमा अघि बढ्ने र गठबन्धनबाट असन्तुष्ट हुने काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको समेत मत पाउने गरी रणनीति तयार पारेर अघि बढिरहेको स्रोत बताउँछ । स्थानीय तहको निर्वाचनपछि मनहरी गाउँपालिकाको राप्रपाकै नेतृत्व गर्ने समेत तयारी उहाँको रहेको बताइएको छ ।

गत स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकामा राप्रपाले अध्यक्ष पदमा गाई चुनाव चिन्हमा ८१५ मत प्राप्त गरेको थियो । त्यतिखेर अध्यक्षका उम्मेदवार गोविन्द रिजाल हुनुहुन्थ्यो । हाल उहाँ दिवंगत हुनुहुन्छ । राप्रपालाई उक्त मत जोगाउने र बढाउने दुबै चुनौति रहेको र चुनौतिको सामना गर्न आफूहरु तयार रहेको राप्रपा मकवानपुर २ (ख) का सभापति नरहरि सुवेदीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here