मनहरी–बैशाख ६ गते । निर्वाचन कार्यालयले मनहरीमा स्थानीय निर्वाचन सञ्चालनका लागि सर्बदलीय बैठक राखी आचारसंहिताबारे छलफल गरेको छ ।

मंगलबार आयोजित छलफलमा सहभागी राजनीतिक दलहरुले आचारसंहिता, उम्मेदवारको योग्यता लगायतका बिषयहरुमा छलफल गरेका छन् ।

निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन पाउने योग्यता र अयोग्यताका तथा राजनीतिक पार्टी, संघ संगठन र भ्रातृ संगठनहरुले पालना गर्नुपर्ने आचारसंहिता लगायतका बिषयहरुमा राजनीीतक पार्टी र सञ्चारकर्मीसम्मिलित बैठकमा छलफल गराउनु भएको थियो ।

छलफलमा मनहरीमा क्रियाशील नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्टिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रतिनिधिको सहभागिता थियो । सहभागी सबै नेताहरुले आचारसंहिता उल्लंघन नगर्ने र अक्षरसः पालना गर्नका लागि आफ्ना पार्टीमा पहल गर्ने बताएका थिए ।

मनहरी ३ लामिटारस्थित सभाहलमा निर्वाचन कार्यालय स्थापना गर्ने तयारी थालिएको निर्वाचन अधिकृत दर्जीले बताउनुभयो । आगामी बैशाख ८ गते कार्यालय खोल्ने अन्तिम तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

आगामी बैशाख ३० गते हुने निर्वाचनको तयारी स्वरुप आयोजना भएको सर्बदलीय बैठकमा नेकपा एमालेका तर्फबाट हेमलाल उप्रेती र गौतम लामा, नेपाली काँग्रेसका प्रकाश बर्ताैला, नेकपा माओवादी केन्द्रका सन्जीव पाठक, नेकपा एकीकृत समाजवादीका ओम मगर, जनता समाजवादी पार्टीका कुमार प्रजा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नरहरि सुवेदी तथा सञ्चारकर्मीहरु सहभागी हुनुहुन्थ्यो ।

निर्वाचन कार्यालका तर्फबाट अधिकृत दर्जीसहित सहायक अधिकृत एबम् मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी प्रक्रियाहरुका बारेमा जानकारी दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here