आज १ बैशाख २०७९ । नयाँ बर्षमा रमाइलो गर्दै मनाउन हिँजै अर्थात २०७८ सालको चैत मसान्तकै दिन मनहरी गाउँपालिकाका मानिसहरु परिवारसहित उचित गन्तब्यको खोजीमा पुगिसके । परिवार र साथीभाईका साथ घुम्ने, रमाउने र मानसिक तनावलाई कम गर्ने ध्येयका साथ मानिसहरु पर्यटकीय क्षेत्रहरुमा पुग्ने गर्छन् । अँग्रेजी नयाँ बर्ष र नेपाली नयाँ बर्षमा त्यस्ता ठाउँहरु आन्तरिक र बाह्य पर्यटकहरुले भरिन्छन् जहाँ खाना, आवास र घुम्न र हेर्न लायक राम्रा दृष्यहरुले सबैको मन तानोस् ।

आजकै दिनबाट हिसाव गर्ने हो भने स्थानीय तहको निर्वाचन भएर गाउँलेले जनप्रतिनिधि पाएको ४ बर्ष ११ महिना पुग्यो । अबको १ महिनापछि ती जनप्रतिनिधिहरुको कार्यकाल सकिँदैछ । संघीय संरचना निर्माण भएर गाउँमै कार्यकारी अधिकारसहितका जनप्रतिनिधि पाएको यो पहिलो अबसरलाई पर्यटन विकासका दृष्टिले पर्याप्त रुपमा उपयोग गर्नुपर्ने भूगोलको रुपमा मनहरी गाउँपालिका छ । तर, जुन प्राथमिकताका साथ स्थानीय सरकारले पर्यटन विकासको काम गर्नुपथ्र्याे, गरेन । एक हिसाबले भन्नुपर्दा पर्यटन विकासको क्षेत्रमा ‘काम कम, गफ बढी’ नै भयो । किनकी हामीहरुले पर्यटन विकासको क्षेत्रमा स्थानीय तहले राम्रै काम गर्ने अपेक्षा गरेका थियौँ ।

मनहरी गाउँपालिकाका धेरै मान्छेहरुमा नदीजन्य बस्तुको व्यापारबाट मात्रै राजश्व संकलन हुने र स्वरोजगारी सिर्जना हुने एकखाले भ्रम छ । तर, हामीले ग्रामीण कृषिसँगै पर्यटन जोडेर विकास गर्ने हो भने सयौँ रोजगारी सिर्जना गर्ने क्षेत्र पर्यटन नै हो । साबिक हाँडीखोला र मनहरी गाउँ विकास समितिका परापूर्वकालदेखि नै रहेका केही प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहाँसिक क्षेत्रहरु त्यस्ता छन्, जसले चितवनको सौराहसम्म आउने पर्यटकलाई सजिलै मनहरी तान्न सक्छन् । मनहरीको राप्ती किनारको नदी उकास क्षेत्रका सयौँ बिगाह जग्गाहरु पर्यटनका लागि प्रयो गर्न सकिने अबस्था छ । यद्यपि पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा रहेका ती जग्गाहरु उपयोगका लागि संघीय सरकारसँग समन्वय जरुरी छ । ‘वनबाट समृद्धि’ अर्थात वन पैदावार वन क्षेत्रको उपयोगमार्फत समृद्धि ल्याउने संघीय र प्रदेश सरकारको उद्देश्यलाई आत्मसात गरी ती जग्गा जमीनलाई सजिलै उपयोग गर्न सकिने अबस्था छ ।

मनहरी गाउँपालिका ७ मनहरी बजार क्षेत्र (डिभिजन वन कार्यालय राप्ती अगाडि) रहेको एउटा ऐतिहाँसिक मन्दिर क्षेत्रलाई सुन्दर पार्कसहित आराम स्थल बनाउन प्रयत्न भयो । मुकुन्द सेन राजाको पालामा निर्माण भएको मनकामना मन्दिरको ३ बिगाहक्षेत्र जग्गा संरक्षणको काम गाउँपालिकासँगको समन्वयमा सम्पन्न भएको छ । यो मन्दिर परिसरलाई धार्मिक र ऐतिहाँसिक हिसाबले विकास गर्न सकिन्छ । यहाँ रहेको ठूलो पोखरीमा पानी भरेर ढुंगा चलाउन सकिने पर्याप्त सम्भावना छन् । सुन्दर पार्क निर्माण गरी महत्वपूर्ण धार्मिक क्रियाकलाप गरी धार्मिक पर्यटक (भारत लक्षित) लाई आराम गर्ने स्थानको रुपमा विकास मात्रै गर्न सके पनि राम्रो हुनेछ । तर, दुर्भाग्य प्राविधिक लगाएर निर्माण गरिएको यो मन्दिर र पार्कको गुरुयोजनाको नामोनक्सा स्थानीय समितिलाई मनहरी गाउँपालिकाले दिन सकेको छैन ।

पर्यटन विकासको क्षेत्रमा योगदान दिन सक्ने वडा नं ७ कै बुद्धशान्ति हरित पार्क, मनकामना सामुदायिक वन क्षेत्रमा रहेको गाँजा गुफा, वडा नं ६ सुनाचुरीमा रहेको मोरंगे ताल, वडा नं ८ मा रहेको पिसपार्क, टासी छोयलिङ गुम्बा र ऋषेश्वर मन्दिरसमेत जोडिएको कोरिडोर, देवकोटमा निर्माणाधीन भ्यू टावर, देवकोट पाखामा रहेको रानी पोखरी, गणेशधारा जस्ता संरचनाहरुलाई पुनर्जीवित गरी पर्यटन विकासलाई अघि बढाउन सकिन्छ ।

वडा नं ८ मा निर्माणाधीन मोतिदेवी पार्क, कालिका झरना, वडा नं ३ मा रहेको ऐतिहाँसिक मन्दिर, वडा नं ४ मा रहेको वनकरिया बस्ती, वडा नं १ मा निर्माण थालिएको भ्यूटावर र वडा नं २ मा निर्मा सहिद पार्क लगायतका स्थानहरु पर्यटकीय हिसाबले नयाँ जीवन र पुनर्जीवन पर्खिरहेका सम्पदाहरु हुन् ।

मूल कुरो त मनहरी गाउँपालिका वडा नं ६ र ७ मा रहेका सार्बजनिक पर्ती जग्गाहरुको संरक्षण गरी मिनी सौराहा निर्माण कार्यको न गुरुयोजना बन्यो, न त यसबारे कुनै पहलकदमी नै भयो । निजी कम्पनी आएर मनहरी ७ स्थित कबुलियती वन क्षेत्रमा निर्माण गर्न थालेको पाँचतारे होटल पनि निर्माण पनि अबरुद्ध छ । पर्सा राष्ट्रिय निकुन्जको अबरोध र कोरोनाकालले उसलाई रोकेको धेरै भयो ।

मनहरी गाउँपालिका ७ स्थित रमौली क्षेत्रबाट अहिले पनि पर्सा राष्ट्रिय निकुन्जले हात्ती सबारीलाई सशुल्क व्यवस्थापन गर्दै आइरहेको छ । हात्तीमा सबार गर्नेहरुले निकुन्जको संरक्षित क्षेत्रमै पुगेर सजिलै गैँडा फेला पार्छन् र रोमान्चित हुन्छन् । त्यसो पर्सा राष्ट्रिय निकुन्जको लगानीमा रमौलीमै सामुदायिक लज सञ्चालनमा छ । तर, प्रभावकारी व्यवस्थापन नहुँदा समस्याग्रस्त छ ।

सामुदायिक लज निर्माण भएका क्षेत्रहरुका केही घरलाई छनौट गरी होमस्टे निर्माण गर्न सकिने प्रशस्त आधारहरु छन् । सामुदायिक लजलाई समेत व्यवस्थित ढंगले पर्यटन तान्ने हिसाबमा लैजान सकिने प्रशस्तै आधारहरु छन् । ती क्षेत्रहरुमा निजी क्षेत्रको तर्फबाट समेत होटल, रेस्टुरेन्ट र लजहरु निर्माण गर्न सहजीकरण गर्न सक्ने सम्भावनाहरु टन्नै छन् । राप्तीखोलाको किनारमै रहेको, राजमार्गबाट केही मिनेटमै पुग्न सकिने, हात्ती चढेर वन्यजन्तुहरु प्रशस्तै अवलोकन गर्न सकिने यस्तो क्षेत्रलाई विकास गर्नका लागि यहाँको मध्यवर्ती उपभोक्ता समिति, पर्सा राष्ट्रिय निकुन्ज, स्थानीय सरकार अग्रसर हुनै पर्ने हो । तर, निजी क्षेत्रको होटल निर्माणको खबर आउँदा निकै खुसी भएको गाउँपालिका आफैसँग भने त्यस्तो अवधारणा छैन । अबधारणा नै नभएपछि कार्यान्वयन हुने कुरो पनि आएन ।

पर्यटन विकासका लागि गाउँपालिकाले लगानी नै नगरेको भन्न चाहिँ मिल्दैन । गरिएको लगानीले तत्काल प्रभावकारिता हासिल गरेको पाइँदैन । जस्तो कि, मनहरी ९ देवकोटमा निर्माणाधीन भ्यूटावर लगभग बेवारिसे नै हुने अबस्था छ । किनकी भ्यूटावरसहितको पार्क निर्माण गर्ने, त्यसलाई व्यवस्थित संचालन गर्ने कुनै कार्यविधि वा सांगठनिक संरचनाको विकास गरिएको छैन भने स्थानीय बासिन्दाहरुलाई जागरुक बनाउने खालको सहजीकरण पनि छैन । केबल भौतिक विकास देखिएको छ, सामाजिक सहजीकरण र पर्यटकीय दृष्टिकोण त्यहाँ छैन । र, प्रश्न उठेको भ्यूटावरबाट के हेर्ने ? त्यहाँ भ्यूटावर नै नहुँदा पनि चितवन र मनहरी बजार देखिएकै छ । चुरे जंगलहरु देखिएकै छन् । कि, चुरे क्षेत्रका जनावर दुरबिनले हेर्न सकिने भनेर पर्यटक बोलाउन सक्नुपर्छ ।

अर्काे प्रयास गरेको छ गाउँपालिकाले मनहरी ४ मुसेधापमा होमस्टे सञ्चालन गर्ने । तर, करिब ३ बर्षको बीचमा त्यहाँ एउटा भवन बने पनि होमस्टे सञ्चालनमा ठोस कुनै पनि काम भएको छैन । बनकरिया समुदाय र चुरे जंगलका जीवजन्तु र पर्यावरणको अनुसन्धानमा आउने मानिसहरुलाई लक्षित गरी बनाउन थालिएको होमस्टेले गति लिन सकेन । त्यहाँ पनि जनप्रतिनिधिहरुले बजेटको व्यवस्थापन मात्रै गरे । हामी सबैलाई थाहा भएको कुरा हो–बजेट मात्रै सबै कुरा होइनन् । पैसाले मात्रै पर्यटन विकास गर्न सकिँदैन । जब लगाव, दृष्टिकोण र पर्यटन क्षेत्रप्रतिको बुझाइ नै गलत छ भने पैसा खन्याएर मात्रै पर्यटन विकास गर्न सकिँदैन ।

मनहरी ८ सिमपानीमा रहेको पिस पार्क अर्काे आकर्षण हो यहाँको । तर, यो पार्कमा स्थानीय सरकारको भन्दा बढी मिहेनत ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको रहेको छ । यहाँ निर्माण भएका संरचनाहरुमा प्रदेश सरकार, गाउँपालिका र विभिन्न व्यक्तिहरुको लगानी छ । अहिले पिस पार्क नै मनहरी गाउँपालिकाको सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तब्य बनेको छ । घुम्न आउने, फोटो खिच्ने, ध्यान गर्ने, अध्ययन गर्ने स्थानको रुपमा यो परिचित हुँदैछ । यसलाई टासी छोयफेल गुम्बा र ऋषेश्वर मन्दिरसँग सन्जाल निर्माण गरी अझ बृह्त र व्यवस्थित बनाउनु जरुरी छ । त्यसो हुँदा वनभोज र सार्बजनिक कार्यक्रमहरु पनि यही क्षेत्रमा हुनेमा दुईमत छैन । तर, यी तीन संरचना जोडाएर अघि बढाउने इच्छाशक्ति मानिसहरुमा देखिँदैन ।

मनहरीका बासिन्दा भएर यसो परिकल्पना गरौँ न, रमौली र प्रतापपुर क्षेत्रमा सौराहामा झैँ टन्नै होटल र रेस्टुरेन्टहरु खुलेका । स्वदेशी र विदेशी पर्यटकहरु आउने जानेगरेका दृष्यहरु । जंगल सफारीका लागि तयार गरिएका दर्जनौँ भ्यानहरु । अनि उनीहरुलाई घुमाउनका लागि तयार भएका अनुशासित हाम्रा युवा गाइडहरु । रमौलीका होटलमा बास बसेकाहरुलाई घुमाउन पर्यटक बस चढाएर राक्सिराङ गाउँपालिकाको चेपाङ संग्रहालयसम्म लैजाँदै गरेका गाइडहरु । मनहरी खोलामा ¥याफ्टिङमा रमाइरहेका पर्यटकहरु । अनि देवकोट भ्यूटावरमा साँभपख घाम अस्ताएको दृष्य हेर्दै कफी पिउँदै गरेका विदेशी नागरिकहरुको चहलपहल । स्थानीय मनहरी खोलामा उत्पादन भएको माछा, यसै भेगमा उत्पादन हुने मास, मस्यौरा, पिडालु, लोकल कुखुरा र खसी । अनि साँझपख सामुदायिक होमस्टेमा प्रस्तुत हुने चेपाङ, बोटे, मगर र तामाङका सांस्कृतिक प्रस्तुतिहरु ।

यी सब कुराहरु पूरा गर्नका लागि पर्यटन विकास समिति निर्माण गरी मसिनो ढंगले काम गर्नुपर्दछ । यसका लागि स्थानीय होटल व्यवसायीहरु, सरोकारवालाहरु, निजी क्षेत्रका लगानीकर्ताहरु, कलाकार, सांस्कृतिककर्मी, पर्यटन व्यवसायीहरु सबैलाई समेटेर आपसी छलफल गरेर अघि बढ्नुपर्दछ । कैलाश र राक्सिराङ गाउँपालिकासँग समेत आपसी समन्वय गरेर त्यस क्षेत्रमा घुम्ने, पौडी खेल्ने, पैदल यात्राको रुट निर्माण गर्ने कार्यलाई अघि बढाएर विदेशी पर्यटकहरुलाई कम्तीमा मनहरी क्षेत्रमै एक साता राख्न सकिने बनाउन सक्नुपर्छ । हामीहरुका गिट्ठा भ्याकुर, वनकरिया र चेपाङका जीवनशैली, मगर र तामाङ जातिका सांस्कृतिक नाचगान मारुनी, सेलो गीतहरुले ती पर्यटकहरु पर्खिरहेका छन् । हामीसँग रहेका सामुदायिक वनहरु, यहाँ भेटिने जडिबुटीहरु, पाखा पखेरा, झरना, राप्ती र मनहरी खोला यी सबैले त्यही विकास खोजिरहेका छन्, जहाँ स्वदेशी र विदेशी पर्यटकहरुले आएर उनीहरुलाई चुम्मा गरुन् ।

यी सबै कामहरु गर्नुपर्ने स्थानीय तहले हो । त्यसमा होस्टेमा हैँसे गरिदिने प्रदेश र संघीय सरकार अनि निजी क्षेत्रले हो । तर, स्थानीय सरकार नदीजन्य बस्तुको राजश्वमा मात्रै ध्यान दिइरहेको छ । पर्यटनबाट प्राप्त हुने आर्थिक समृद्धि र स्वरोजगारीका न्यूनतम आँकलन समेत गर्न सकेको छैन स्थानीय सरकारले । त्यसैले पर्यटनमार्फत समृद्धि खोज्नु जरुरी छ । खासगरी मनहरी बजार एउटा पुरानो र ऐतिहाँसिक बजार पनि भएका नाताले देशमै चर्चित त छ नै, यसको अर्काे पहिचान पर्यटनबाट दिन सकिनेछ । अब मनहरी बजारमा कैलाश र राक्सिराङका मानिसहरु चिउरा र कपडा र नूनतेल किन्न आउने छैनन्, उनीहरुका लागि गाउँमै होलसेल बजारको स्थापना भइसकेको छ ।

त्यसैले आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई अंगीकार गर्नु नै मनहरीको लागि हित हुनेछ । तर, यो क्षेत्रमा अगुवाई गर्ने निकायको अभाव छ । अब आउने नयाँ नेतृत्वले पर्यटन क्षेत्रलाई प्राथमिकतामा पारोस् । ताकि, नयाँ बर्षमा घुम्न जाने गन्तब्यको रुपमा सौराहा, लुम्बिनी, सर्लाहीको भरतताल मनहरीकै बासिन्दाले रोज्नु नपरोस् । र, हामी सबैले भन्ने अबसर आओस् कि, नयाँ बर्ष मनाउन सौराहा होइन, मनहरी जाऔँ । नयाँ बर्षको सबैमा शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here