मनहरी–चैत २५ गते । मनहरी–१५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकालाई लगाइने टाइफाइड बिरुद्धको खोप राष्ट्रिय अभियानको सुरुवात मनहरीबाट हुने भएको छ । चैत २५ गतेदेखि ३० गतेसम्म राष्ट्रिय अभियान चल्नेछ ।

मनहरी गाउँपालिका ५ बसन्तपुरस्थित भोजसिद्ध माध्यमिक विद्यालयमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अभियानको सुरुवात गर्ने तयारी अन्तिम चरणमा पुगेको मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

भोजसिद्ध माध्यमिक विद्यालयबाट सुरु हुने खोप अभियानका लागि मन्त्री खतिवडा गृहजिल्ला आइपुग्ने कार्यक्रम तय भएको छ । मन्त्री खतिवडाले बसन्तपुरमा टाइफाइड विरुद्धको खोप अभियान उद्घाटनसँगै निःशुल्क आँखा शिविरको समेत उद्घाटन गर्नुहुने कार्यक्रम छ । तिलगंगा आँखा केन्द्रसँगको समन्वयमा मन्त्रालयले आँखा जाँच कार्यक्रम राखेको हो । आँखाका समस्या भएकाहरुलाई निःशुल्क चश्मा बितरण गर्नेगरी मन्त्रालयले तयारी गरेको मन्त्री खतिवडाका निजी सचिव मधु मिजारले बताउनुभयो ।

गाउँमा मन्त्री आएर राष्ट्रिय अभियानको सुरुवात गर्ने भएपछि तयारी र प्रचारप्रसारलाई तीब्र पारिएको मनहरी गाउँपालिका टाइफाइड खोप अभियानका प्रवक्ता ज्योतिराज लुइटेलले बताउनुभयो ।

खोप अभियानको उद्घाटनमा स्थानीय जनप्रतिनिधिहरु, विद्यार्थी, शिक्षक, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी, अगुवाहरुको सहभागिता हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here