मकवानपुर–चैत ०७ गते । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आईतबारबाट म्यादी प्रहरीको लागि आवेदन खुला भएसंगै पछिल्लो २ दिनमा ४ सय ६२ जनाले म्यादी प्रहरीको लागि आवेदन दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता जयश्वर रिमालले आइतबार र सोमबार गरी २ दिनमा ४ सय ६२ जनाले आवेदन दिएको जानकारी दिनु भएको हो ।
प्रवक्ता रिमालले आईतबार १ सय ४३ जनाले आवेदन दिएकोमा ९२ जना पुरुष र ५१ जना महिला रहेको र सोमबार ३ सय १९ जनाले आवेदन दिएकोमा २ सय १८ जना पुरुष र १ सय १ जना महिला रहेको बताउनुभयो ।
आवेदन दिनेहरुमा अधिकांश पुरुष रहेको प्रवक्ता रिमालले बताउनुभयो । उहाँले म्यादी प्रहरीमा महिला र पुरुषको कोटा नछुट्याएको भन्दै आवेदनको आधारमा भर्ना गरिने बताउनुभयो ।
मकवानपुर जिल्लाको १ सय २ वटा वडाको लागि १ हजार ३ सय २२ जना म्यादी प्रहरी भर्ना गरिँदै छ । म्यादी प्रहरीको लागि एक हप्तासम्म आवेदन दिन सकिने प्रहरीले जनाएको छ ।
म्यादी प्रहरीमा भर्ना हुन राजनीतिक दलमा सदस्य नरहेको हुनुपर्ने र १८ देखि ५४ वर्ष उमेर पुगेकाले मात्र आवेदन दिन पाउने जनाइएको छ ।