राक्सिराङ-फागुन १४ गते । नेपाली काँग्रेस मकवानपुरको आसन्न १४ औँ जिल्ला अधिबेसनमा मैले राक्सिराङको भूगोलतर्फबाट उम्मेदवारी घोषणा गरेको छु ।

जयबहादुर तितुङः काँग्रेस नेता राक्सिराङ ।

म ३७ बर्षे युवा हुँ र विभिन्न तह र तप्कामा रहेर पार्टी र भ्रातृ संगठनको काम गरिसकेको छु । म साबिक काँकडा गाउँ विकास समिति बस्छु र समग्र जिल्लाको राजनीति राम्ररी बुझ्दछु । २०६१ सालमा म नेपाल विद्यार्थी संघको क्षेत्रीय सभापति बनेको थिएँ । त्यसैगरी २०६३ सालमा काँकडा गाउँ विकास समितिको पार्टी सचिव भएर काम गरेको अनुभव म सँग छ । त्यसैगरी स्थानीय निकायको निर्बाचन नभएको समयमा लामो समय म काँकडा गाउँ विकास समितिमा नेपाली काँग्रेसको सर्बदलीय संयन्त्रमा रही भूमिका निर्बाह गरी विकास निर्माण कार्य प्रक्रियालाई नजिकबाट हेरेको छु । सोही क्रममा २०६६ सालमा म नेपाली काँग्रेस काँकडाको सभापति रहेर काम गर्न सफल भएँ भने संघीयता कार्यान्वयनमा गईसकेपछि अर्थात स्थानीय तह निर्माण भइसकेपछि मैले राक्सिराङ गाउँपालिकामा पार्टी सचिवको रुपमा काम भूमिका निर्बाह गरेँ ।

खासगरी तत्कालीन माओवादीमय समयमा पनि हामी गाउँमा काँग्रेसै भएर रह्यौँ । माओवादीका गलत गतिविधिको सकेजति सामना गरेर बस्यौँ । २०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादीको आक्रमणमा समेत हाम्रो टिम (हालका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङसहित) परेको थियो । ती बिगत सम्झँदा भित्री दिलबाट काँग्रेसप्रति गर्व लाग्छ र काँग्रेसको कार्यकर्ता हुनुमा सन्तुष्टि मिल्छ ।
म काँकडाकै भूगोलमा ९ बर्ष शिक्षण पेसामा पनि आबद्ध रहेँ । जब देशमा राजनीतिक स्थिरता पैदा हुन थाल्यो, शान्ति प्रक्रिया काँग्रेसकै नेतृत्वमा सफलता उन्मुख भयो । त्यसपछि बिस्तारै पूर्णकालीन राजनीतिमा लागेँ, शिक्षण पेसा छोडेँ । अहिले म २०७४ सालको स्थानीय तहको निर्बाचनमा निर्बाचित वडा सदस्य पनि हुँ ।

यसपटक मैले जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरिरहँदा म राक्सिराङ गाउँपालिकामा नेपाली काँग्रेसको बर्चश्वलाई कायम राख्दै ९ वटै वडामा जित्ने गरी क्रियाशीलता जनाउने गरी भूमिका निर्बाह गर्ने प्रतिबद्धता जनाउँछु । साथै हाम्रो पार्टीभित्र नयाँ काँग्रेस र पुरानो काँग्रेस भन्ने लडाइँ हुँदै आएको छ । दुबै पुस्तालाई समन्वय गरी अघि बढाउने क्षमता मैले देखाउनेछु । गुटबन्दीकोक अन्त्य गर्दै सबैको साझा नेताको रुपमा म अघि बढ्ने प्रण गर्दछु । अग्रजलाई सम्मान गर्ने र युवालाई प्रोत्साहन गर्ने कुरामा मेरो सदैब भूमिका हुनेछ । यही कुराहरु म मेरा समस्त मतदाताहरुसामु राख्न चाहन्छु । निर्वाचनमा हारजीत पक्कै हुनेछ, तर हामी निरन्तर यात्रामा रहिरहनेछौँ ।

(राक्सिराङका काँग्रेस नेता जयबहादुर तितुङसँग मनहरी लाइभडटकमले गरेको कुराकानीमा आधारित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here