मनहरी–फागुन १२ गते । बालश्रम र बाल अधिकारको सबालमा मकवानपुरको पश्चिम क्षेत्रमा रहेका मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको संयुक्त प्रयास जरुरी रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

मनहरीमा बिहिबार सिविन बाल हेल्पलाइनले आयोजना गरेको तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र बालबालिकाको क्षेत्रमा क्रियाशील संस्थाहरुका प्रतिनिधि सहभागी समन्वय बैठककमा सहभागीहरुले यस्तो धारणा राख्नु भएको हो ।

कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका सामाजिक विकास अधिकृत राजेन्द्र चौलागाईले समान प्रयासबाट मात्रै बाल श्रम, बाल विवाह गैरकानूनी गतिविधिलाई न्यूनिकरण गर्न सकिनेमा जोड दिनु भयो । मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका घोषित भएपनि यसको स्थायित्वका लागि पनि सामूहिक प्रयास जरुरी रहेकोमा उहाँको जोड थियो ।

‘उस्तै समस्याहरुमा उस्तैखाले प्रयास जरुरी छ’, उहाँले भन्नुभयो–‘मनहरीबाट निमिट्यान्न पारिएको समस्या राक्सिराङमा देखा पर्ने वा त्यो समस्या सरेर कैलाश गाउँपालिका पुग्ने हो भने समाधान हुन सक्दैन ।’

राक्सिराङ गाउँपालिकाका रोजगार संयोजक गोविन्द विश्वकर्माले पनि राक्सिराङ गाउँपालिकाकका २० प्रतिशत मानिसको बसोबास मनहरी गाउँपालिकामा पनि हुने गरेकाले बालबालिकाका समस्या दुई गाउँपालिकाबीच साँटफेर भइरहेको बताउनुभयो । उहाँले सामूहिक र संयुक्त प्रयासबाट नै बालबालिकाका समस्या हल गर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।

कैलाश गाउँपालिकाको तर्फबाट समाज कल्याण शाखा प्रमुख हस्तराम नेगीले आफूहरुले बाल विवाहसम्बन्धी कार्य विधि निर्माण गरी कामलाई अघि बढाइरहेको र मनहरी गाउँपालिकामा झै विभिन्न संघसंस्थाहरुसँग मिलेर बालमैत्री गाउँपालिका निर्माणका लागि आपसी समन्वय आवश्यक रहेको धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा कैलाश, राक्सिराङको बालबालिकाको अबस्थाबारे रिपोर्टिङ भएको थियो भने मनहरी गाउँपालिकामा बालश्रमको अबस्थाबारे विवरणहरु सिविनका भरत अधिकारीले प्रस्तुत गर्नु भएको थियो । सिविनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले तीनैवटा गाउँपालिकाका सरोकारवालासँग पहिलोपटक बैठक राखिएको भन्दै यस्तो बैठकले निरन्तरता पाउने बताउनुभयो । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, सञ्चारकर्मी शिवकुमार काशी, अभियन्ता मातृका प्रसाद ढुंगाना लगायतको सहभागिता थियो ।

तीनैवटा गाउँपालिकाका महिला तथा बाल बालिका शाखा, समाज कल्याण शाखामा कार्यरत कर्मचारीहरु, जनप्रतिनिधिहरु लगायतको बैठकमा उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here