माघ–२८ गते । सन्दिप लामिछाने कप्तान भएपछि खेलिएको पहिलो खेलमा नै नेपालले शानदार जित निकालेको छ । सन्दिपले २१ बर्ष १९३ दिनमा राष्ट्रिय टिमको कप्तानी सम्हाल्नु भएको हो ।

आज सन्दिपले कम उमेरमा कप्तानी गर्ने न्युजिल्यान्ड टिमका कम्तान केन विलियम्सनलाई पछि पार्दै आफ्नो नाममा इतिहास रच्नुभएको हो । विलियम्सनले सन २०१२ मा वेस्ट इन्डिज विरुद्ध २१ बर्ष ३२८ दिनमा टिमको कप्तानी गर्नुभएको थियो ।

नेपालले चारदेशीय ट्वान्टी–२० विश्वकप छनोट शृंखलामा विजयी सुरुवात गरेको हो । नेपालले ओमनलाई पहिलो खेलमा ६ विकेटले पराजित गरेको हो । ओमानविरूद्ध १ सय ३६ रनको लक्ष्य पाएको नेपालले ४ विकेट गुमाएर आफ्नो लक्ष्य पूरा गरेको थियो ।

ओमानको राजधानी मस्कटमा शुक्रबारबाट सुरु प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५ को स्कोर बनायो । जवाफी व्याटिङ गरेको नेपालले १९.३ ओभरमा उक्त लक्ष्य भेटायो ।

नेपाली व्याट्सम्यान दीपेन्द्र सिं ऐरीले सर्वाधिक ७३ रनको पारी खेल्नुभएको थियो । ५३ बलको सामना गर्नुभएको उहाँले ८ चौका र एक छक्का प्रहार गर्नुभयो । टी–ट्वान्टीमा दिपेन्द्रको यो अहिलेसम्मकै सर्वाधिक रन हो ।

नेपालका लागि आरिफ शेखले २५, आसिफ शेखले १४ तथा ज्ञानेन्द्र मल्लले १३ रन जोडे । बलिङतर्फ ओमानका कलिमुल्लाहले २ तथा खवार अलीले १ विकेट लिए ।
जीतसँगै नेपाल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । नेपाली बलरले खेलमा राम्रो प्रदर्शन गरेपछि जीतका लागि सहज वातावरण सिर्जना भएको हो ।

नेपाली व्याट्सम्यानले अन्तिम समयमा आवश्यकता अनुसार रन बनाएका थिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोडेको थियो ।

ओमानका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले समान एक–एक विकेट हात पारे ।
उक्त सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।

आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here