राक्सिराङ–माघ २२ गते । राष्ट्रिय जनगणना अभियान सम्पन्न भएपछि सार्बजनिक भएको जनसंख्या विवरणका सम्बन्धमा अनेकन टिकाटिप्पणी छ । कतै मतदाताभन्दा जनसंख्या कम भएका खबर सुनिएका छन् भने कतै चाहिँ भूकम्पपीडित लाभग्राहीको सेवा सुविधा लिइसकेका व्यक्तिहरु नै गणनाको अभिलेखमा छैनन् भन्ने समाचारहरु सार्बजनिक भएका छन् ।

चेपाङ जातिको उद्गम मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा पनि त्यस्तै भएको छ । २०७५ सालमा निर्माण गरिएको भिलेज प्रोफाइलमा देखाइएभन्दा कम जनसंख्या राष्ट्रिय जनगणनाको नतिजाको रुपमा सार्बजनिक भएको छ । अर्थात पछिल्ला तीन बर्षयता गाउँपालिकाको जनसंख्या घट्दो क्रममा छ ।

गाउँपालिकाले २०७५ सालमा गरिएको घरधुरी सर्वेक्षण अनुसार सार्बजनिक गरिएको तथ्याङ्कमा ३०८३० जनाको बसोबास रहेको उल्लेख छ । तर, अहिले राष्टिय जनगणनाको प्रारम्भिक नतिजामा यो संख्या घटेर २५८७१ उल्लेख छ । त्यसो त राष्ट्रिय जनगणना २०६८ मै २६१९२ जना मानिसहरु राक्सिराङ गाउँपालिका (साबिक सरिखेत, राक्सिराङ, खैराङ र काँकडा गाविस) मा रहेको उल्लेख छ ।

अहिले सार्बजनिक भएको राक्सिराङ गाउँपालिकाको जनसंख्या १० बर्षअघिको जनसंख्याभन्दा ३२१ जना कम र गाउँपालिकाले २०७५ सालमा गरेको घरधुरी सर्वेक्षणभन्दा पनि ४९५९ जना कम देखिएपछि अनेक शंसय र आशंकाहरु प्रकट भएका छन् । तर, तथ्य केलाउँदै जाने हो भने जनसंख्या घट्दो क्रममा रहेको स्पष्ट रुपमा बुझ्न सकिने राक्सिराङ गाउँपालिकाले जनाएको छ ।

छिमेकी गाउँपालिकामा लालपुर्जाको लोभ
तत्कालीन केपी ओली नेतृत्वको सरकार हुँदा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भएर मकवानपुरको हेटौँडा उपमहानगरपालिका, मनहरी र बागमती गाउँपालिकामा लालपुर्जाका लागि आवश्यक प्रक्रिया अघि बढेको थियो ।

सो क्रममा अधिकाँश राक्सिराङ गाउँपालिका मानिसहरुले बसाई सराई प्रमाण पत्र लिएर मनहरी गाउँपालिका पुगे । किनकी राजमार्ग छेउमा रहेका भूमिहीनहरुको बस्ती मनहरी गाउँपालिकामा बाक्लो रुपमा रहेकोमा अधिकाँश राक्सिराङ र कैलाश गाउँपालिकाका मानिसहरुले भोगचलन गर्दै आइरहेको पाइन्छ । लालपुर्जाका लागि ८ हजार जनाले मनहरी गाउँपालिकामा त्यतिखेर निवेदन दिएका थिए । यद्यपि, नयाँ आयोग बनेसँगै उक्त प्रक्रियाले निरन्तरता पाउन भने सकने ।

राक्सिराङ गाउँपालिका सामाजिक विकास शाखा सामाजिक विकास अधिकृत एबम् राष्ट्रिय जनगणनाका फोकल पर्सन गोविन्द अधिकारीका अनुसार २०७७ साल बैखाख महिनादेखि सोही बर्षको चैत महिनासम्म मात्रै ४०५ परिवारले राक्सिराङ छाडेर अन्यत्र बसाई सरेको देखिन्छ ।

त्यसैगरी २०७८ सालको बैशाख महिनादेखि पुस महिनासम्ममा पनि १२० परिवारले बसाई सरी अन्यत्र गएको रेकर्ड गाउँपालिकासँग छ । ‘यसरी बर्षेनी ठूलो परिमाणमा बसाई सराई गरेर जानेहरुका कारण गाउँपालिकामा जनसंख्या कम देखिएको छ’, अधिकारीले भन्नुभयो । बसाई सरेर मनहरी गएपछि उनीहरुले उपभोग गर्दै आइरहेका जग्गा आफ्ना नाउँमा आउँछ भन्ने आशमा त्यसो गरिएको हो । बसाई सरेर गइसकेपछि उनीहरुको जनगणना पनि मनहरीतिरैबाट भएको अधिकृत अधिकारीको भनाई छ ।

त्यसो त जनसंख्याको गणना जुन भूगोलमा ६ महिनाभन्दा बढी बसोबास हुन्छ सोही भूगोलबाट हुने गर्छ । सामाजिक विकास अधिकृत अधिकारी भन्नुहुन्छ–‘जस्तो धादिङ घर भएका मुख्यमन्त्रीको गणना हेटौँडाबाट भएको छ भने हाम्रै कतिपय जनप्रतिनिधिहरुको गणना राक्सिराङबाट भएको छैन ।’ यी र यस्तै कारणले जनसंख्या घटेको देखिएको उहाँले बताउनुभयो । गणकहरु सम्बन्धित घरमा नपुगेको, सही गणना नभएको भन्ने आरोपको उहाँले खण्डन गर्नुभयो ।

खासगरी २०७५ सालमा निर्माण गरिएको घरधुरी संर्वेक्षण र निर्माण गरिएको भिलेज प्रोफाइलबारे यतिखेर प्रश्न उठेको छ । कुनै कन्सल्टेन्सीमार्फत निर्माण गरिएको उक्त प्रोफाइल र अहिले सार्बजनिक भएको सरकारी आँकडामा ठूलो अन्तर देखिएको छ ।
त्यसो त गत बर्ष अर्थात २०७७ मा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निबारण मन्त्रालयले गरेको गरिब घर पहिचान सर्वेक्षणमा पनि राक्सिराङ गाउँपालिकाको जनसंख्या २४०२३ देखाएको छ । राष्ट्रिय जनगणनाको अंक र गरिब घर पहिचानका लागि भएको सर्बेक्षणको अंकमा १८०८ मात्रै फरक देखिन्छ । यद्यपि यो अबधिमा बसाई सराईको अंक अधिक छ ।

(जनआस्था साप्ताहिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here